अलकत्राको दुर्गन्धले लालबन्दीवासीको स्वास्थ्यमा गम्भिर समस्या

तातोखबर, लालबन्दी / सडक कालोपत्रे गर्न गिट्टी पकाउन प्रयोग गरिने अलकत्राको दुर्गन्धले लालबन्दी १७ का स्थानीयवासीको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ ।

लालबन्दी नगरपालिका–१७ रानीगंजमा रहेको सन्तोषी निर्माण सेवाले कालोपत्रे सडक निर्माणका लागि गिट्टी पकाउन प्रयोग गरिने अलकत्राको धुँवाले नजिकै रहेको बस्तीमा दुर्गन्ध फैलिँदा गाउँनै दुर्गन्धित बनेको छ । स्थानीयवासी दुर्गन्धित वातावरणमा दिन काट्न बाध्य छन् ।

Advertisement:

२०७५ सालदेखि सञ्चालनमा आएको उक्त निर्माण सेवा सुरुवाती दिनदेखि नै बस्तीमा अलकत्राको दुर्गन्ध फैलिरहेको स्थानीयवासीले बताएका छन् ।

निर्माण सेवाको २ सय मिटर नजिक रहेको कालिन्जोर माध्यमिक विधालयका छात्रछात्रामा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको विधार्थीहरूले बताएका छन् ।

विद्यालयका बालबालिकामा स्वास्थ्य समस्या देखिएपछि वडा कार्यालय, नगरपालिका र स्थानिय प्रहरीमा पटकपटक मौखिक र लिखित जानकारी गराउँदासमेत सो निर्माण कम्पनीले काम नरोकेको लालबन्दी १७ मा रहेको रानीगंज माविका प्रधानाध्यापक दुर्गानन्द झाले बताएका छन् । उनका अनुसार कम्पनीले दादागिरी शैलीमा मेशिन चलाइरहेको छ ।

विद्यालयमा अध्ययनरत चार सयबढी विद्यार्थीको स्वास्थ्यमा नकरामक असर पर्दासमेत सम्बन्धित निकाय मौन रहेकोमा उनले चिन्ता व्‍यक्त गरे ।

विद्यालय व्‍यवस्थापन समितिका अध्यक्ष अमरबहादुर कार्कीका अनुसार संतोषी निर्माण सेवाले सञ्चालन गरेको अलकत्राको धुवाँले विद्यालयमा अध्ययनरत छात्रछात्रा र स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहँदासम्म सरोकारवाला चुप रहनुले पनि उनीहरूको निर्माण कम्पनीसँग आर्थिक साँठगाँठ रहेको उनले आशंका गरेका छन् ।

सम्बन्धित निकायमा पटक-पटक जानकारी गराउँदासमेत समस्या समाधानमा बेवास्ता गर्नुले पनि कतै निर्माण कम्पनीसँगको मिलेमतोमा काम सञ्चालन भइरहेको प्रशस्त आशंका गर्ने ठाउँ रहेको अध्यक्ष कार्की बताउँछन् ।

विद्यालय र स्थानीयवासीबाट समस्या समाधानका लागि वडा कार्यालयसहित नगरपालिका, इलाका प्रहरी कार्यालय लालबन्दी, निर्माण कम्पनी र सरोकारवाला सहितको प्रतिनिधि बसी सो निर्माण कम्पनी त्यस ठाउँबाट अन्यत्र सार्ने निर्णय भएको छ। तर, पनि निर्माण कम्पनीले निर्णयलाई बेवास्ता गरी काम सञ्चालन गरिरहेको लालबन्दी १७ का वडाध्यक्ष विष्णु अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application