जसको मूल्य छैन – त्यो अनमोल !

— राजन विडारी

हामीलाई अक्सर लाग्ने गर्छ कि, प्रायः सबै जसो चिज–वस्तुको मूल्य हुन्छ र राखिन्छ पनि । अनि मूल्य नभएका जति सबै वेकारका चिज हुन् । तिनको कुनै अर्थ र महत्व रहन्न भन्ने ठान्छौ । त्यही भएर आफू स्वयंलाई पनि मुल्यहीन र सस्तो बन्नु बनाउनु हुदैन भन्ने गरिन्छ ।

हो, यस धर्तीमा भएका अनि दैनिक उपयोगमा आउने कतिपय चिज–वस्तुका मूल्य तोकिएकै छन् । अहिले वस्तु विनिमय प्रचलनमा आउन थालेपछि यस कालखण्डमा त ‘पैसाबिना अथवा निःशुल्क प्रायः केही पनि पाईन्न’ भन्ने गरिन्छ । अहिलेको दुनियाँमा, बिना पैसा माया पनि पाइन्न, अरु कुरा त भन्नु र ?भन्ने आमबोली समेत सुनिदै आइएको छ सँगै, “पैसा भए सबैथोक छ, नभए केही पनि छैन,’’ भन्ने आम बोली प्रचलन मै छ । त्यसको मतलव, चिज–वस्तु छोडेर नाता सम्बन्ध, साथ सहयोगलगायत माया प्रेम समेत पैसामै किन्न सकिन्छ, झै विश्वास गर्न थालिएको छ ।

Advertisement:

वर्तमान चरम भौतिकवादी दुनियाँमा यस्तो लाग्नु र मानिनु स्वभाविक पनि हो । तर आजको यस आलेखमा अझै पनि मूल्य नभएका अमूल्य चिज–वस्तु यस धर्तीमा ब्याप्त छन् र तिनले हामी प्राणी जगतलाई ठूलो गुण लगाउदै आएका छन् भन्ने कुरालाई थप स्पष्ट पार्ने प्रयास गरिदै छ । कुनै पनि भौतिक वा अभौतिक चिज–वस्तु, जसको मूल्य छैन, निःशुल्क उपलब्ध छन भने ती सबै वास्तवमै अमूल्य छन् ।

सुर्यको ताप अनि प्रकाश हामी मानव जातिका लागि मात्र नभएर समग्र जीव जगतका पशुपंंक्षी, कीट पतङ्ग, जीव तथा वनस्पति आदिको जीवन सहित सिङ्गो ब्रम्हाण्डीय प्रणालीको सु–सञ्चालनका लागि कति महत्वपूर्ण छ ? उर्जा समेत निकाल्न मिल्ने यही सौर्य मण्डल, हामी सबैका लागि निशुल्क उपलब्ध छ । रात्रीकालीन् चन्द्रमाको प्रकाश र शितलता उत्तिकै महत्वपूर्णं छ, तर त्यो पनि निःशुल्क नै छ । हावा (वायु) अर्थात् अक्सिजन लगायतको महत्व त हामी स्वयंले प्रत्येक सेकेन्ड मै महशुस गर्दै आएका छौ र यो आफैंमा उर्जाको एक महत्वपूर्ण श्र्रोत पनि हो । तर यो पनि निःशुल्क अर्थात् अमूल्य छ ।

त्यस्तै जल अर्थात् पानी यस धर्तीमा रहेका मानव लगायत समस्त जीवित वस्तुहरुका लागि कति महत्वपूर्ण रहने गरेको छ ? अन्य कतिपय दैनिक कार्य, बालीनाली, सरसफाइलगायत धार्मिक रीतिरिवाज आदिमा जलको अनिवार्यता कति रहन्छ ? सर्वत्र महशुस गरिएकै विषय हो । पानी आफंैमा उर्जाको श्रोत हो । कतिपय उद्योग, कलकारखानालगायत विजुली–बत्ती जस्तो सर्वव्यापी उर्जा उत्पादनमा समेत पानीको उपयोग गरिन्छ । तर यो पनि निःशुल्क छ । स्वयं धर्ती र यसभित्र निहित कतिपय खजानाहरु हामी मानव जगतका लागि निःशुल्क प्राप्त हुने गरेको छ । त्यस्तै हामी रहने धर्ती कुरा गर्ने हो भने यसको अस्तित्वबिना हामी करीव कुनै संरचनाको पनि कल्पना नै गर्न सक्दैनौं ।

त्यसैगरी सिङ्गो प्रकृति, पर्यावरण आदि कै कारण यस संसारमा मानवलगायतका जैविक तत्वको अस्तित्व छ । यो पनि त निःशुल्क अर्थात् अमूल्य छ । आकाशीय शून्यताबाट प्राप्त उर्जा मार्फत (ब्रम्हाण्डीय उर्जा) हामीले पोषण, बल र आरोग्यता पाउदै आएका छौं, यहाँ पनि कुनै शुल्क तिर्नु पर्दैन । अर्थात् यस जगतको अस्तित्वमा रहेका र हामीले महशुस गर्दै आएका कतिपय उर्जाहरु सिङ्गो जगतको कल्याण कै लागि उपलब्ध छन् । तिनको महत्व र उपयोगिता अनमोल छन् तर ती सबै निःशुल्क प्रायः छन् ।

कतिपयलाई त्यस्तो नलाग्न सक्छ, तर स्वयं मान्छे कै जीवन अनमोल छ । यही मानव जीवनको सदुपयोग गर्दै स्वयं आफ्नो अनि जगतका लागि उपयोगी बन्ने अनेकन अवसर हरेक मानिसलाई प्राप्त छ, तर यसको पनि कुनै मूल्य छैन । त्यस्तै, कुनै नीजि तथा सामूहिक स्वार्थप्रेरित गतिविधिबाहेक निस्वार्थ भावद्वारा गरिने सेवाको पनि कुनै मोल हुदैन र फेरि पनि सेवा कार्य, आफैमा अनमोल मानिन्छ । यदि हामी मध्ये कतिपयले निष्काम भावका साथ गरिने सेवाकार्यलाई नजिकबाट महशुस गरेका छौं भने त्यो कति दिव्य अनि आनन्ददायक हुन्छ, वर्णन गरी साध्य नै छैन ।

अझ नाता सम्बन्धको कुरा गरौं न । खासगरी आमा वुवा अनि अभिभावकको साथ, सहयोग र प्रेमभाव आफैमा अति नै महत्वपूर्ण हुन्छ हरेक मानवका लागि । यो सबै कार्य स्वस्फूर्त रुपमा गरिन्छ र पनि यसको कुनै मूल्य तोकिदैन, अमुल्य छ । हरेक ब्यक्तिका लागि ऊ स्वयंको बाल्यकाल, किशोरावस्थादेखि प्रौढ उमेरसम्ममा पनि न्यानो आत्मीयपन महशुस गर्ने भनेकै आमा बाबाको नित्य निरन्तरको निशर्त साथ अनि प्रेमभाव नै हो । जसलाई कहिल्यै कतै किन्न खोजेर पाइने सेवा नै होइन । त्यसैगरी पति–पत्नी, दाजुभाइ, दिदीवहिनी, बाबा–आमा अनि सन्तान र असल साथीको साथको पनि कुनै मोल छैन । तर सहज जीवन निर्वाह गर्नका लागि यी सबै अति जरुरी नै हुन्छ ।

त्यसैले, अब यो बुझौ की, हरेक निःशुल्क पाईने सेवा वा वस्तु आफैंमा अमूल्य र अनमोल हुने नै रहेछ । ती सबैको साथ र सहयोगको उचित कदर गर्न हामी सबैले कुनै कसर बाकी राख्नु हुन्न । त्यस्ता हरेक सेवा वा वस्तु अनि जीवनहरु, जसले हाम्रो सिङ्गो जीवन सु–सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याए वा पुर्याउदै आएका छन्, तिनको उचित आदर, सम्मान एवं सदुपयोग र संरक्षणका लागि हर–हमेशा हामी तत्पर रहन सक्नु पर्छ । ती सब अनमोल चिज–वस्तु र सन्बन्ध अनि भावप्रति हामी अन्तरमनदेखि नै नतमष्तक भई आभार एवं कृतज्ञता प्रदान गर्न सक्नु पर्छ र तिनको उपस्थित मात्रलाई पनि होस्पूर्वक बोध गर्दै आफू र जगत हीतका लागि उच्चतम् सदुपयोग गर्न सक्नु पर्छ ।

वालवालिकाको जयहोस ! सबैको सदा जयहोस !!
जय हो जीवन्त शिक्षा !!!
ॐ को नमन गुरुदेव

(आचार्य राजन बिडारी — २०८०)

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application