७१ मेट्रिक टन मल गोदाममै थन्कियो



तातोखबर, काठमाडौँ:  हिउँदेबालीका लागि ल्याइएको ७१ मेट्रिक टन मल बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ ।

पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारीहरु) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ ।

जिल्लाका ९ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी मल थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए । उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो ।

‘धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल लिन नमानेपछि उहाँहरुको भागमा परेको मल गोदाममै राख्नुपरेको छ,’ पोखरेलले भने, ‘जिल्लामा रहेका सबै पालिकाले आ–आफ्नो पालिकामा रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएका थिए ।’

उक्त पत्रअनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण शुरु गरेको थियो । ९ वटा बिक्रेताका नाममा रहेको मल उनीहरुले नलगेपछि करिब ७१.३ मेट्रिक टन गोदाममा थन्किएको छ ।

प्रमुख पोखरेलका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यीय, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण र साना किसान कृषि सहकारी संस्थाले मल लगेका छैनन् ।

सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले मल उठाएका छैनन् । पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी ९ संस्थाले मल उठाउन बाँकी रहेको जनाइएको छ ।

कम्पनीले अहिलेसम्म ४ पटक गरी मल वितरण गरेको छ । प्रतापपुरको रामजानकी संस्थाले हालसम्म एक पटक पनि मल नलगेको प्रमुख पोखरेलले बताए ।

‘रामजानकी संस्थाका सागर यादवले आन्तरिक तनावले मल उठाउन ढिलो भएको बताउनु भएको छ,’ उनले भने, ‘यादवले पुस मसान्तभित्र मल लगेर किसानलाई वितरण गर्नुहुनेछ ।’

कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म १ हजार ६३९ दशमलव ४ मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ ।

जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको