नुवाकोट र रसुवाका ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत सम्मान

तातोखबर, त्रिशुली: नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ ।

दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नुवाकोटले दुई जिल्लाबाट उत्कृष्ट कृषकको रूपमा छनोट भएका तीन–तीन  किसानलाई बुधबार नगद २० हजार रुपैयाँसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको हो ।

Advertisement:

नुवाकोटबाट विदुर–५ पिपलटारका भैँसीपालक किसान तिलकुमारी न्यौपाने, शिवपुरी गाउँपालिका–१ का बाख्रापालक किसान धनकुमारी गुरुङ र स्ट्रबेरी उत्पादक ककनी गाउँपालिका–२ का अष्टलाल तामाङलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको हो। यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का स्याउ उत्पादक किसान ग्याल दोर्जे तामाङ, उत्तरगया गाउँपालिका–२ का स्याउ उत्पादक र पाशुपालक किसान हिरबहादुर तामाङ र नौकुण्ड गाउँपालिका–६ का तारकारी उत्पादक पेम्बा तामाङलाई सम्मान गरियो ।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत दुई जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेशालाई निरन्तरता दिन सुझाव दिए ।

नुवाकोट र रसुवा जिल्लाबाट छानिएका किसानलाई कृषि ज्ञान केन्द्रले बागमती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरेको छ। प्रदेशबाट उत्कृष्ट भएका किसानले केन्द्रीयस्तरको प्रतिस्पर्धामा छनोट हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस् :