कतै गणतन्त्रले राजतन्त्र पुन:स्थापनामा मलजल त गरिरहेको छैन ?

bishal-neupane-tatokhabar-article

– बिशाल न्यौपाने

‘नेपालमा गणतन्त्र ल्याएर समृद्धि र विकासको छलाङ मार्छौँ’ भन्दै भूमिगत भएर क्रान्ति गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको माओवादीले नेपाल र नेपालीलाई देखाएको परिवर्तनको नारा उल्टो दिशातर्फ मोडिँदै गएको महशुस अहिले अधिकांश नेपालीहरुले गर्न थालेका छन् । हिजोका दिनहरुमा देशको संरचना, कल–कारखाना, कला–संस्कृति र सम्पदामाथि हमला गर्दै क्रान्तिको नाममा अशान्ती फैल्याउँदै नेपालीलाई १० वर्षसम्म डर र त्रासमा बाँच्न बाध्य बनाएर राजसंस्थालाई निरंकुश भनी ल्याएको गणतन्त्रमा अहिले शीर्ष मानिएका नेताहरु नै राजाको भन्दा विलाशी जीवनमा लिप्त भई नेपालमा राजनीतिलाई पेशाका रुपमा स्थापित गर्दै गईरहेको देख्न सकिन्छ ।

Advertisement:bishal-neupane-tatokhabar-article

दश वर्षीय द्वन्दकालमा देशको मुहार फेर्ने बाचाको आडमा स्थापित गरिएको गणतान्त्रिक नेपालमा हाल देखिएको राजनीतिक क्रियाकलापहरु देश र जनताको उन्नतिका लागि नभई आफु, आफ्नो परिवार र पार्टीका नेता कार्यकर्ताहरु अनुकुल हुँदै आएको झलक निरन्तर देखिँदै आएकोले विगतका केहि दिनहरुमा नेपाली जनता विस्तारै राजसंस्था पुनर्वहालीको पक्षमा उभिदै जान थालेको देशका कुनाकाप्चामा छरपष्ट देखिन थालेको छ । हिजो राजतन्त्र फाल्न भ्रमको राजनीति गरेर आएका नेताहरु आजका दिनमा पनि सत्ता र पदको भागबण्डाका लागि मात्रै लडिरहेको अवस्थालाई जनताले नजिकबाट नियाल्दै ‘देशमा सत्ता र शक्तिको पहुँच हुने हजारौँ राजा हुनुभन्दा एउटै राजा ठिक’ भन्ने प्रतिकृया दिने क्रम दिनदिनै बढ्दै छ ।

पहिले सूचना तथा सञ्चार माध्यमका रुपमा रहेको रेडियो, टेलिफोन, टेलिभिजन आदिमा पहुँच कमै जनताको मात्रै थियो भने पत्रपत्रिका पढ्नेहरुको सङ्ख्या पनि न्युन नै थियो । आज अधिकांश जनताको हातमा इन्टरनेट जडित मोवाईल, ट्याब, आईप्याड, ल्यापटप पाईन्छन् भने घर घरमा डेस्कटप कम्प्युट्लगायतका सूूचना तथा सञ्चारका माध्यमहरु उपलब्ध छन् । नेपालका झण्डै ७२ प्रतिशत जनता शिक्षित पनि भइसकेका छन् । उनीहरुले देशमा हुने सबै प्रकारका घटनाहरुको जानकारी तुरुन्तै पाउन सक्छन र ‘के सहि के गलत ?’ भनी छुट्याउन पनि सक्ने भएका छन् ।

तर देशका नेताहरु भने आज पनि पहिलेजस्तै अस्थिर राजनीतिक परम्परामा रमाइरहेका छन् । ठूला जनआन्दोलहरुबाट प्राप्त उपलब्धिका रुपमा हेरिएको नेपालको गणतन्त्र संस्थागत हुनु पर्ने बेलामा जनताले कुनै पनि पार्टीलाई स्थायी सरकार बनाइ कम्तीमा एक कार्यकाल शासन गर्ने अवसर दिएका छैनन् । यी सबै कुरालाई नियाल्दा जनतामा अझै पनि गणतान्त्रिक व्यवस्थाको लाभ कसरी लिने ? भन्ने ज्ञानको कमीका रुपमा बुझ्न सकिन्छ ।

गणतन्त्र भन्नाले अब हामीले के बुझ्ने त ? नेपाली जनताले चाहेको गणतन्त्र के यही थियो त ? युवाहरु धमाधम विदेशिने लहर चलिरहेकै अवस्थामा देशमा युवाको सङ्ख्यामा निरन्तर कमी हुँदै गई रहेको छ । देश आर्थिक मन्दी, बढ्दो महङ्गी र भ्रष्टाचारको चाप बढेर गएको छ । यो अवस्थालाई गणतन्त्रको स्थापनापश्चातको उपलब्धीका रुपमा पनि जनताले हेर्न थालेका छन् । देशमा बेरोजगारीको स्थिति कुन बिन्दुमा छ ? भन्ने कुरा त पुष १३ गते काठमाडौंको बालकुमारीमा कोरिया जाने ईपीस परिक्षाका लागि आन्दोलनमा उत्रिएका दुई युवाले गोली खाई ज्यान गुमाउनु परेको कुराले प्रष्ट पार्छ ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणको ६ वर्ष बित्न लाग्दा पनि निर्मला पन्त र परिवारले आझै न्याय नपाउनु गणतान्त्रिक व्यवस्थाको सदुपयोग हुन नसकेको अर्को बलियो उदाहरण हो । अदालतले हत्याको अभियोग पुष्टि गरी अपराधि ठहर भई अदालतबाट सजाए पाएर जेल चलान भएका राजनीति दल निकटका कयौँ व्यक्तिहरुलाई विभिन्न बहानामा माफि दिदै जेलमुक्त गराईएका धेरै उदाहरणहरुले नेपालमा गणतन्त्रको दुरुपयोगसमेत भइरहेको कुरालाई पनि पुष्टि गर्दछ ।

दयनीय कुरा त यो छ की, सरकारको लापर्वाहीका कारण ज्यान गुमाएका युवाको परिवारलाई राहतको नाममा १० लाख रुपैया प्रति ज्यानको मूल्य नै तोकिसकिएको छ । अनि सरकारले मृतकका परिवारको भावनामाथि नै चोट पुर्याएको सर्वत्र महशुस गर्न सकिन्छ । यदि यीनै अवस्थाहरुलाई गणतन्त्रको उपलब्धि मान्ने हो भने जनताले निरंकुश मानेको राजतन्त्र नै व्यवस्थित र अनुशासित थियो भन्ने कुराको अनुभूति जनमानसमा बढ्दै गएको पाइन्छ ।

लोकतन्त्रात्मक गणतान्त्रिक मुुलुक नेपालमा जनताले जताततै दुःख मात्रै पाईरहेका छन्, देशका न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकामा पनि भ्रष्टाचार र राजनीतिको अमर्यादित खेल भईरहेको छर्लङ्ग नदेख्ने कोहि नहोलान् । विकासको नाममा जनताले उपहार स्वरुप खुलेआम भ्रष्टाचार पाईरहेका छन् । राजनैतिक परिवर्तनसँगै नेपालमा धर्म–संस्कृतिमाति अतिक्रमण भित्रिएको छ । परिवर्तनको नाममा समाज विभाजनको झिल्को देखिन थालेको छ । परापूर्व कालदेखि मानिदै आएका नेपाली संकृति, नेपाली सभ्यतामा पनि पश्चिमी संस्कार प्रभाव बढेर जान थालेको छ । देशलाई संविधानले बाधे जसतै समाजलाई बाध्ने धर्म र संस्कृति यसरी भत्किन शुरु भएको छ की अब यहाँ भाई भाईबीच आपसी लडाई शुरु सङ्केत देखा पर्न थालेको छ ।
धर्म निरपेक्षताको नाममा कानुनविपरित नेपाली समाज खल्वलिने र अराजक गतिविधिहरु बढ्दै जान थालेको देखिएको छ । देशलाई ‘आमा’ मानेर सेवा गर्ने हेतुले राजनीतिमा होमिएका नेताहरुलाई पनि हाम्रो देशको राजनीतिक परम्पराले अगाडी बढ्न नदिने हुनाले पनि देशले शान्ती, सुशासन र विकास देख्न पाइएको छैन । हामी नेपाली एक भई देशको लागि एकै ठाउँमा उभिएर आवाज उठाई श्रीलङ्कामा जसरी लड्न पर्ने समय नआउला भन्न सकिँदैन, तर सरकार चलाउनेहरु भने अझै पनि सत्ता र कुर्सीको खेलमा मग्न रहेका छन् ।

देशमा गणतन्त्र ल्याएर राजसंस्थाको शासनकालमा स्थापित उद्योग, कल कारखानाहरुलाई निजीकरण गर्ने नाममा की बन्द गरिएका छन्, की त कौडीको भाउमा बेचिएका छन् । देशमा युवालाई रोजगारको अवसर सृजना गर्ने श्रोत नै छैन । रोजगारको लागि विदेशिने युवालाई त झनै सरकारले नै प्रोत्साहन गर्दै नेपाली युवालाई रोजगारीको नाममा अन्य देशमा बेचिरहेका छन् । तर बिडम्बनाको कुरा त सम्बन्धित निकायले उचित व्यवस्थापन नै नगर्दा सोझासाझा जनताले ज्यान गुमाउन परिरहेको छ ।

जनताको राज हुने गणतन्त्रमा जनताले नै विरोध गर्न नपाउने कस्तो गणतन्त्र हो ? राष्ट्रिय झण्डा बोकेर सडकमा कोही देखिए राष्ट्रद्रोहीका नाममा पक्राउ गरिन्छ । सरककारले गरेको गलत निर्णयको विरोधमा उत्रिएका जनतालाई दिनदहाडै प्रहरी प्रशासनबाट गोली हानेर मारिन्छ भने त्यो तन्त्रलाई कुन तन्त्र भन्ने ? के राजतन्त्रको समयमा योभन्दा पनि खराब स्थिति देशको थियो ? यी हामी सबैको साझा प्रश्न हुनसक्छ र यसको उत्तर हामीलाई दिने हामी आफैं नभएसम्म हामी राष्ट्र नायक निर्माण गर्न सक्दैनौं । गणतन्त्र आएको डेढदशक वितिसक्दा पनि हामीसँग न त गणतन्त्रको पूर्ण ज्ञान छ, न त यसको विकल्प खोज्न एक जुट हुन सकेका छौं । दलीय राजनीतिले हामी नेपालीहरुलाई एकताबद्ध हुनबाट बञ्चित गरेको सर्वत्र महशुस गर्न थालिएको छ ।

 

(लेखक : तातोखबर सम्वादाताका रुपमा आबद्ध छन्)

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application