उद्योगीलाई बक्यौता तिर्न ६० किस्ताको सुविधा: हिमाल आइरन एण्ड स्टीलले तिर्न सुरु गर्यो

kulman-ghising-NEA

तातोखबर, काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीलाई बक्यौता रकम तिर्न ६० किस्तासम्मको सुविधा दिने निर्णय भएको छ। सोमबार साँझ ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको छ त्यति नै वा बढीमा ६० महिनासम्मको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरिएको जानकारी दिए । बक्यौता तिर्न पटक पटकको अनुरोधलाई बेवास्ता गरेको भन्दै प्राधिकरणले गत पुस ६ गतेदेखि विद्युत्को लाइन काट्न सुरु गरेको हो ।

Advertisement:kulman-ghising-NEA

सर्वसाधारण उपभोक्ताले दैनिक १७-१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेका बेला दुई सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए ।

कूल दुई २३९ ग्राहकमध्ये एक सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रङ्कलाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् । ६१ वटा उपभोक्ताहरुको २०८० मङ्सिर मसान्तसम्म २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ। यसमध्ये पाँच करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ ।

यसैबीच, बारा-पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टीलले बक्यौता रकम तिर्न सुरु गरेको छ । आठ  करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले हिजो पहिलो किस्तावापत २७ लाख १० हजार रुपैयाँ बुझाएको विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।

उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि गएराति सवा ९ बजे विद्युत् लाइन जोडिएको उनले जानकारी दिए। सिलवालका अनुसार उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने प्रतिवद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :