आज उधौली तथा योमरी पुन्ही पर्व मनाइदै

काठमाडौं – किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) देशभर मनाइदै छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गरिन्छ ।
बाली लगाउने बेलामा भने किराँत जातिमा उभौली अर्थात् यावा पर्व मनाइने चलन छ । किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु उगौली र उधौली हुन् । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरुमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मंसिर शुक्ल पूर्णिमाका दिन उधौंली पर्व पर्दछ । किराँती मान्यता अनुसार यसदिनदेखि हिउँद शुरु हुने मानिन्छ ।
हिउँद् शुरु भएलगत्तै लेकबाट वस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा यस पर्वलाई लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा पनि यो पर्व मनाइन्छ ।
यस्तै नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले योमरी पुन्ही मनाउने गर्दछन् । नेपालका नेवार समुदायले बुधबार यो पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने चलन छ ।
योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।
नेपाली मौलिक संस्कृतिसँग जोडिएका यि पर्वहरुको आ–आफ्नै महत्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस