प्रजातन्त्र नआई म मर्दै मर्दिन

— बालगोविन्द राजभण्डारी

बुझिस् साईला !
प्रजातन्त्र नआई म मर्दै मर्दिन
त्यो साईला र मेरो बीचको कुरा थियो
मैले भनेको थिएँ उसलाई,
‘बुझिस् साईला,
प्रजातन्त्र नआई म मर्दै मर्दिन
प्रजातन्त्र नआए यो भर्याङ चढ्दै चढ्दिन

प्रजातन्त्र नआए कतै झर्दा पनि झर्दिन’
चढिन पनि, झरिन पनि
मैले प्रजातन्त्रको वकालत गर्दा
जेल–नेल खाएँ
राजकाज मुद्दाको सास्ति खाएँ
हाकिमहरुका गाली खाएँ
त्यो त के थियो र ?
मेरो साथीले त सिपाहीको बुट खायो
बन्दुकको कुञ्ज खायो
पछि ऊ सहिद बन्यो,
म चाँहि भईन ।
……………………………
मैले त्यति बेला बोलेका कुरा छन्
भाषण गरेका कुरा छन्
ताली र गाली खाएका कुरा छन्
सिस्नुपानी लगाउँदा
उफ«ी उफ«ी चिच्याएका कुरा छन्
तिमीले देखेका छौ मेरा ती दिनहरु
भोक भोकै भीर र पहरामा बास बसेका रातहरु
अनि अहिले पनि बलैले साश फेरिरहेको छु
दूर्भाग्यले भनौं या भाग्यले भनौं
जीवन भनेर बाँची रहेछु
……………………………….
झण्डा फरर्र गाडिहरु दौडन्छन्
महलमा बसेर मदीरा खानेहरु कुर्लन्छन्
ऊ माथी माथीका कुरा गर्छ
तर, तल तल झरिरहेको कुरा म गर्छु
ऊ समृद्धिको कुराहरु गर्छ
तर ऊसँग फटाहा गाउँघरका तिल्के र तारेहरु
अनेक अनेक गफ चुटेर बसिरहन्छन्
हो,
मैले त्यति बेला भनेको थिएँ
‘डेक प्रजातन्त्र नआई कतै चल्दै चल्दिन’
बुझिस्, साईला !
प्रजातन्त्र नआई म मर्दै मर्दिन
……………………………………….
यहाँ राता सेता झण्डाका कुरा पनि छन्
तारा र सूर्यका कुराहरु छन्
जिन्दावाद र मूर्दावादका कुराहरु छन्
तर भ्रष्टहरुको कुरा छैनन्
दुःख पाएका निमुखाका कुरा छैनन्
प्रजातन्त्रका लागि लड्ने योद्धाहरुको कुरा छैनन्
म के भनुँ ?
उतिबेला दुःख पाएका
तन्नेरी जवानहरुका कुरा छदै छैनन्
उहिले साईलासँग मैले भनेको
‘बुझिस् साईला,
यो देशमा उज्यालो दियो नजगाई
अरु के गर्दै गर्दिन
घर घरमा प्रजातन्त्रको बाजा नबजाई
म मर्दै मर्दिन ।’

(– राजनीतिज्ञ महेश कोर्मोचाले याद दिलाएपछि गरिएको सृजना)

Advertisement:

 

 

 

प्रतिक्रिया दिनुहोस् :