नेपालले विश्वका धनी र विकसित राष्ट्रहरुलाई प्रतिबद्धता पालना गर्न दबाब दिने

काठमाडौं, ५ मंसिर / युएईमा आयोजना हुन लागिरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा विश्वका धनी र विकसित मुलुकहरुलाई जलवायु परिवर्तनको समस्या समाधानका लागि आफूले गरेको प्रतिबद्धता पालना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले दबाब दिने भएका छन् । प्रम दाहालले कोप २८ मा पर्वतीय राष्ट्रहरूको समस्याबारे त्यस्ता मुलुकहरुको ध्यानाकर्षण गराउने भएका हुन् ।

राजधानीमा आज आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताउँदै जलवायु परिवर्तन सम्बन्धी विश्वका प्रमुख कार्बन उत्सर्जनकर्तालाई तत्काल उत्सर्जन घटाउन, विकसित राष्ट्रहरूलाई जलवायु वित्त उपलब्ध गराउन, वित्त अनुदानमा बढोत्तरी र क्षति एवं नोक्शानीको विषय सम्बोधन गर्न सशक्त पहल गर्ने बताए ।

Advertisement:

संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २८) शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिवद्धताको जिम्मेवारी पालनाका लागि नेपालले सशक्त पैरवी गर्ने उनले बताए । प्रधानमन्त्री दाहालले भने ‘जलवायु अनुकुलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूणर् कार्यान्वयनमा नेपालले गम्भीरतापूर्वक आफ्नो दाबी प्रस्तुत गर्नेछ, ‘कोप-२८’ को तयारीका लागि गरिएका पूर्वतयारी बैठकहरुमा समेत यसपटक मैले स्पष्ट रुपमा भनेको छु- यसपटक नेपाल याचना होइन, सशक्त दाबीका साथ प्रस्तुत हुनेछ ।’

सन् २०३० सम्म जलवायु अनुकुलनका प्राथमिकता कार्यान्वयन गर्न नेपाललाई २१ बिलियन अमेरिकी डलर आवश्यक पर्ने धारणा राख्दै स्थापित अनुकुलनसम्बन्धी कोषहरुमा नेपालको सहज पहुँचका लागि तथ्यपरक तरिकाले दाबी प्रस्तुत गर्न आवश्यक रहेको पनि प्रधानमन्त्री दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application