बागमती प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने

मकवानपुर – बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको छ ।

प्रदेश सरकारले तीन दिन विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने भएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

Advertisement:

संविधान दिवसको अवसरमा सरकारको स्वास्थ्य मन्त्रालयले असोज २ गते प्रदेशको १३ वटै जिल्लामा मधुमेह तथा रक्तचाप निःशुल्क परीक्षण शिविर र हेटौंडामा रक्तदान कार्यक्रम गर्ने, वन तथा वातावरण मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा वृक्षरोपण गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै, असोज ३ गते हेटौंडाको बुद्ध चोकबाट बजार क्षेत्रमा प्रादेशिक विविधता झल्कने गरी झाँकीसहित बाजागाजा गर्ने, मार्चपास तथा प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, असोज ४ गते विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने जनाइएको छ ।

यस्तै, सरकारले असोज २, ३ र ४ गते प्रदेशका मन्त्रालय तथा अन्य कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, तीनै दिन सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गर्ने तयारी गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, सार्वजनिक निकाय र सार्वजनिक स्थलको हकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम तय गरिएको उनको भनाई छ ।

साथै संविधान दिवस मनाउनको लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नेतृत्वमा ४७ सदस्यीय मूल समारोह समिति गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application