पर्यटक बसबाट नक्कली नोट बरामद, ९ जना पक्राउ

२६ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो । प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट मात्रै ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।
चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो ।
सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका थिए ।
त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो ।
प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।
प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउसमेत गरेको छ । उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी र सुनकोसी गाउँपालिका घर भई काठमाडौँको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्की पक्राउ परेका छन् ।
यस्तै, नवलपरासीको सराबल गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका-२ घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौँको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस