साफ च्याम्पियनसिप: उपविजेता नेपाल र साबिक विजेता भारत बिच खेल हुँदै

football-teem-nepal

काठमाडौं, असार ९ । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा आज साफको साबिक उपविजेता नेपाल र साफको साबिक विजेता भारत बिच खेल हुँदैछ ।

भारतको बैंग्लुरूस्थित कान्तिराव स्टेडियममा बेलुका पौने ८ बजे नेपाल र भारतको खेल हुनेछ।
नेपालले आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित भारतलाई हराउनै पर्नेछ।

Advertisement:football-teem-nepal

साफको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो। आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४–० गोलले पराजित गर्दै भारत समूहको शीर्षस्थानमा रहेको छ।

दक्षिण एसियामा दबदबा कायम गरेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने छैन। नेपाल र भारत हालसम्म २३ पटक आमनेसामने हुँदा १६ खेल भारतले जितेको छ। नेपालले दुई खेल जित्दा पाँच खेल बराबरीमा सकिएको छ।

सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा नेपाल फाइनलमा पराजित हुँदा भारतले उपाधि जितेको थियो।

साफको १३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको अहिले सम्मकै उच्च प्रदर्शन हो।

आजको खेल अञ्जन विष्टका लागि पनि अत्यन्त महत्वपूर्ण रहन सक्छ। नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका अन्जन कीर्तिमान बराबरी गर्नबाट एक गोल टाढा छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application