NTC App - Ad

आज राति १२ बजेदेखि मौन अवधि

nirbachan-aayog

वैशाख ७, काठमाडौँ – यही वैशाख १० गते आइतबार हुन लागेको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो ।

निर्वाचन हुनु ४८ घन्टाअघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । अमेरिकाको राष्ट्रपति निर्वाचन होस् वा जर्मनी, बेलायत, भारतमा समेत निर्वाचनअघि मौन अवधि राख्ने गरिन्छ ।

Advertisement:nirbachan-aayog

निर्वाचन हुनु ४८ घन्टाअघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने बताइन्छ ।
निर्वाचनको बारेमा विशेषगरी मतदातालाई कुन पार्टी ठीक, कुन उम्मेदवार ठिक भन्ने छनौट गर्नका लागि यस्तो अवधि तय गर्ने गरिएको निर्वाचनका जानकारले बताउने गरेका छन् ।

विभिन्न राजनीतिक दल तथा तिनका उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै लडाई वा झगडामा परिणत नहोस् भनेर पनि त्यस्तो अवधि तय गरिएको हो ।
उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोले सम्बन्धित सबैमा स्मरण गराएको छ ।
साथै निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोगले आग्रह गरेको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra