NTC App - Ad

उपराष्ट्रपति निर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाईयो

काठमाडौं, ५ चैत्र / चैत्र ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगद्वारा राष्ट्रपतिलाई बुझाईएको छ । राष्ट्रपति निवास शितल निवासमा निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेश गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोगद्वारा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम पेश गरिएको निर्वाचन परिणामसहितको प्रतिवेदन ग्रहण गर्दै निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा लोकतन्त्र परिपक्व हुँदै गएको उल्लेख गरे ।
आयोगद्वारा पेश गरिएको निर्वाचन प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले भने ‘नेपालको संविधानको भाग २४ को धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई म धन्यवाद दिन चाहन्छु ।’
प्रतिवेदनमा उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२,६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले ३०,३२८ मतभार प्राप्त गरी उक्त पदमा विजयी भएको व्यहोरा उल्लेख गरिएको छ ।
सो अवसरमा आयोगका प्रमुख आयुक्त थपलियाले गत फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रपतिलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले भने ‘यो वर्ष निर्वाचन आयोगका लागि निर्वाचनमय वर्ष भयो । गत वर्ष २०७८ साल माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो सीलसीला यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भयो । निर्वाचन सम्पन्न गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगकातर्फबाट धन्यवाद व्यक्त गछु ।’
कार्यक्रममा प्रमुख आयुक्तका साथै निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत सहभागी रहेका थिए ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra