
चामे, १ मंसिर / यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभाका लागि एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको स्पष्टीकरण सोधेको छ ।
आयोगले उम्मेदवार गुरुङसँग निर्वाचन आयोगको अनुमतिबिना हेलिकप्टरको प्रयोग गरेको तथा याक काटेर भोजको आयोजना गरी मतदातालाई प्रभावित पार्ने क्रियाकलाप गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।
नेकपा एमालेको तर्फबाट मनाङ जिल्लाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई निर्वाचन आचारसंहिता प्रतिकुल हुनेगरी चुनावी कार्यक्रमहरु सञ्चालन गरेको विषयमा आयोगद्वारा स्पष्टीकरण सोधिएको जनाईएको छ । निर्वाचन आयोगमा उम्मेदवार गुरुङले निर्वाचन आचारसंहिता उल्लघन गरेको उजुरी आएपछि उक्त स्पष्टीकरण सोधेको बताईएको छ ।
आयोगलाई प्राप्त उजुरीमा निर्वाचन आयोगको अनुमतिविना सहयोगीहरुसहित उम्मेदवार गुरुङले श्री एयरलायन्सको हेलिकोप्टर प्रयोग गरी मनाङ जिल्ला मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ३ ङावलमा अवतरण गराएर काङ्लापासको बाटो भई मनाङ जिल्ला नार्पाभूमि गाउँपालिका अन्तर्गतको नार गाउँमा पुगेपछि निर्वाचन आचारसंहिता विपरित मतदाताहरुलाई प्रभावित पार्ने उद्देश्यले याक काटेर भोज भतेर गरेको सन्दर्भमा स्पष्टीकरण सोधिएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतिनिधि सभामा मनाङको सदस्य पदका उम्मेदवार पोल्देन छोपाङ्ग गुरुङसँग ३ बुँदे स्पष्टीकरण सोधेको आयोगका सूचना अधिकारीले बताए । आयोगका सूचना अधिकारीले दिएको जानकारीमा भनिएको छ ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणहरु उल्लेख गरिएको र आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (क) मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन ।’
त्यसैगरी उक्त दफाको सोही उपदफाको खण्ड (ख) मा कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने व्यवस्थाका साथै आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (छ) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने भन्ने व्यवस्था छ । पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयम उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।
उम्मेदवार पोल्देन छोपाङ गुरुङसँग आयोगले ‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गरेको विषय सत्य हो, होईन ?, यदी तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गरेको विषय सत्य हो भने तपाईंले उक्त हेलिकप्टर उडान गर्नको लागि निर्वाचन आयोगको पूर्वसहमति लिनुभएको छ, छैन ? र तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को उपदफा (१) को खण्ड (छ) को प्रतिकूल हुनेगरी हेलिकोप्टर प्रयोग गर्ने कार्य गरेको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र उपदफा (४) बमोजिम उम्मेदवारी रद्दको कारवाही हुनसक्ने भएकोले उक्त कारवाही किन गर्नु नपर्ने हो ?’ भन्ने स्पष्टीकरण सोधिएको छ ।