राष्ट्र सेवा र जिल्लाबासीको सेवा गर्ने मौकाको पर्खाईमा छु

दीपकबहादुर सिंह : उम्मेदवार, प्रतिनिधि सभा सदस्य, मकवानपुर–१

राजनीतिक गतिविधिलाई पेशाको रुपमा हेर्ने कतिपय नेताहरुको मान्यताबाट असन्तुष्ट मकवानपुरका दीपकबहादुर सिंह राजनीति कर्मलाई विशुद्ध समाज सेवा र राष्ट्र सेवाको मान्यता दिने गर्नुहुन्छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रतिनिधि सभामा मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएका सिंह नेपालको राजनीतिमा ४८ वर्षदेखि अभ्यासरत हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले युवा अवस्थादेखि नै मकवानपुरको राजनीतिमा कुनै न कुनै रुपमा सहभागिता जनाउदै आउनुभएको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा मेयर पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका सिंह झिनो मतले पराजय ब्यहोर्न बाध्य हुनुभयो । जनताको सेवा गर्ने अठोट भने जारी राख्नु भएको सिंहलाई आसन्न मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि प्रतिनिधि सभा सदस्य पदका लागि पार्टीले उम्मेदवारी प्रदान गरेको छ । प्रस्तुत छ, तातोखबर डटकमका लागि कार्यकारी सम्पादक लक्ष्मण बजगाईले युवावस्थादेखि नै युवा संगठनका क्रियाकलापमा सक्रीय रहेर राजनीतिक अभ्यास गर्दै आउनुभएका उम्मेदवार दीपकबहादुर सिंहसँग गरेको अन्तर्बार्ताको सम्पादित अंश :

प्रतिनिधि सभाको आसन्न निर्वाचनमा यहाँले उम्मेदवारी दिनु भएको छ ? केका लागि यहाँको उम्मेदवारी ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले देश र जनताको जुन किसिमको परिवर्तनको अभिभारा लिएर राजनीतिक संघर्ष गरिरहेको छ, त्यसलाई पूरा गर्नका लागि आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ मा मेरो उम्मेदवारी रहेको छ । विगतका निर्वाचनहरुबाट भएको ठूला देखिएका पार्टीहरुको पदीय दुव्र्यवहारबाट निराश बनेका नेपाली जनताको समयसापेक्षित परिवर्तनका लागि मलाई पार्टीले जिम्मेवारीका साथ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएर राजनीतिक प्रतिष्र्धामा उतारेको छ । पार्टीले लिएको लक्ष्य पूरा गर्नु छ । राप्रपाको निर्वाचन लक्षित घोषणापत्रले पार्टीको लक्ष्य प्रष्ट पारेको छ । त्यसैले प्रतिनिधि सभामा मकवानपुर निर्वाचन क्षेत्र नं. १ मा नयाँ विकासको किरण ल्याउन, यहाँका नवयुवाहरुले देखेको सुनौलो भविष्यको सपना साकार पार्नका लागि मेरो उम्मेदवारी रहेको हो ।

यहाँको निर्वाचन क्षेत्रमा ठूला पार्टीहरुले सफल नतिजा आप्mनो पक्षमा पार्ने गरी गरेको गठबन्धन सहितको प्रतिष्पर्धालाई यहाँले कसरी हेर्नु भएको छ ?

यहि निर्वाचनमा प्रतिष्पर्धी ठूला ठूला पार्टीहरु ठूलाठूला गठबन्धनका साथ दौडिरहेका छन् । तर मेरो कुनै दलहरुसँग गठबन्धन छैन । मेरो गठबन्धन यहाँका मतदाताहरुसँग मात्रै भएको छ । यस निर्वाचन क्षेत्रका कांग्रेस, कम्युनिष्ट लगायत यहाँका विभिन्न दलमा आबद्ध साथीहरुको सहयोग लिएर म निर्वाचनको प्रतिष्पर्धामा अगाडि आउने प्रयास गरिरहेको छु । विगतका निर्वाचनहरुमा भाग लिएर प्राप्त गर्दै आएको मतलाई आधार मानेर हेर्दा मलाई यहाँका मतदाताहरुले यो पल्ट अवश्य पनि प्रतिनिधि सभामा पठाउनुहुनेछ ।

Advertisement:

आसन्न निर्वाचनको तयारी कसरी गरिरहनु भएको छ ?

म निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपूर्व नै आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुको घरदैलोमा पुगेर उहाँहरुको सुझाव र हौसला लिदै राष्ट्र र देशवासीहरुको हितमा काम गर्न प्रेरणा प्राप्त गरिरहेको छु । मेरो निर्वाचन क्षेत्रभित्र भौतिक र सामाजिक एवं आर्थिक विकासका साथै स्वास्थ्य, शिक्षा, नागरिक सचेतनाको विकास गर्न के कस्ता कामहरु गर्नु आवश्यक छ, मैले त्यसको एउटा खाका पनि तयार पारी सकेको छु । यहाँका मतदाताहरुले जिम्मेवारी दिएर मलाई नेतृत्वको अवसर दिनु भएमा मैले उहाँहरुको मागलाई प्रतिनिधि सभामार्फत सम्बोधन हुने क्रियाकलापलाई उच्च प्राथमिकता दिने अठोट यहाँका मतदाताहरु समक्ष गर्दै आईरहेको छु र मेरा सहयोगी मित्रहरुका साथ मतदाताहरुसँगको भेटघाटलाई तिब्र बनाउँदै आएको छु ।

निर्वाचनको प्रतिष्पर्धामा यहाँले आफूलाई कुन स्थानमा देख्नु भएको छ ?

— गठबन्धनमा रहेका प्रतिष्पर्धी उम्मेदवारहरुले आफ्नो चुनावी कार्यक्रम सञ्चालन गर्दै गरेको जस्तै मैले पनि आफ्नो चुनावी कार्यक्रम जारी राखेको छु । म कूर्सिका लागि जनताको आस्थामा चोट लाग्ने र ठेस पुग्ने काम कदापी गर्दिन र गलत सम्झौता पनि कदापी गर्दिन । मैले निर्वाचनमा भाग लिएर धेरै पटक हारेँ तर पनि मैले जनताको मत पाएकै छु र जनताको सेवा गर्ने भावना मेरो मनबाट हटाउन सकिरहेको छैन । अन्य दलहरु एक भएर चुनावमा होमिएका छन् । मसँग कुनै दल मिलेका छैनन् । म राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा लिएर मेरो निर्वाचन क्षेत्रका मतदाताहरुसँग र हाम्रो पार्टीका टोल वस्तीदेखि जिल्लास्तरका नेताहरुसँग मात्रै गठबन्धन गरेर चुनावी दौडमा रहेको छु । ठूला पार्टी, चर्चित नेताहरु र धेरै धेरै कार्यकर्ताहरु भएका दलहरुसँग मैले प्रतिष्पर्धा गर्नु परेको छ । तैपनि मतदाताहरुले मलाई दिनु भएको उत्साह र जनमतको अवस्थालाई हेर्दा म गठबन्धनमा रहेका दलका उम्मेदवारहरुभन्दा पछाडि छु जस्तो लागेको छैन ।

यहाँले पटक पटकका निर्वाचनहरुमा भाग लिएर झिनो मतले पराजय व्यहोर्दै आउनु भएको छ, ती पराजयहरुबाट के कस्तो पाठ सिकेर मंसिर ४ मा हुने निर्वाचनमा सफलताको अपेक्षा गर्नु भएको छ ?

खाश गरेर यहाँका मतदाता र शुभचिन्तक महानुभावहरुले मलाई राम्रोसँग बुझिसक्नु भएको छ की मैले राजनीतिलाई नितान्त राष्ट्र सेवा समाजसेवाको रुपमा लिएर राजनीति गतिविधिहरु गर्दै आईरहेको छु । मैले राजनीतिक यात्रामा झण्डै ५ दशक समय विताईसकेको छु । मैले भ्रष्टाचार गर्नका लागि राजनीति गरिरहेको छैन, धन सम्पत्ति आर्जन गर्न मैले राजनीति नगरेको यहाँका अधिकांश मतदाताहरुले राम्ररी बुझ्नु भएको छ । मैले जति पटक निर्वाचनमा भाग लिएर प्रतिष्पर्धामा उत्रिए पनि त्यस निर्वाचन क्षेत्रका जनताको समृद्धि र विकासको लक्ष्य लिएर आउने गरेको कुरा यहाँका अधिकांश नागरिकहरुलाई थाहा छ । तै पनि चुनावी दौडमा चिप्लो घसेर कुद्न मैले जानिन, जनताको भावनालाई कदर गर्न त्यस्ता देखावटी कुरा गर्न जानिन । जनताको हितमा काम गर्नै पर्छ भन्ने मेरो ठम्याई रहिरह्यो । सत्यको जीत अवश्य हुन्छ भन्ने पर्खाईमा जनताको काम गर्ने मौका मलाई यस वर्ष मिलेको छ । किनभने अहिले देशमा ठूला देखिएका दल र दलका नेताहरुको परीक्षा जनताले लिईसक्नु भएको छ, अव विकास समृद्धिका लागि यहाँका जनता धेरै धैर्य गर्न सक्दैनन् भन्ने मैले बुझेको छु । यहि पाठ मैले सिकेको छु ।

प्रतिष्पर्धामा रहेका दलका उम्मेदवारहरुले जनताका लागि धेरै काम गरिसकेको दावी गरिरहेका छन् नि, यसलाई यहाँले कसरी लिनु भएको छ ?

— सबभन्दा पहिला यति खेती लगाउने समय आएको छ, किसानले मल र विउ पाएका छैनन् । सिंचाईको कुनै विकास भएको छैन । युवाहरुले रोजगारको पर्खाइमा धेरै समय र रकम खर्च गरिसके तर अवसर पाईरहेका छैनन्, स्वास्थ्य सेवाको अवस्थालाई हेर्नुभयो भने यसअघि यस क्षेत्रबाट यो निर्वाचन क्षेत्रबाट जितेर गएका नेताहरुले के गरे ? के गरेनन् ? भन्ने कुरा मैले भनिरहनु पर्दैन, यहाँका जनताले भोगीसकेका छन् । शिक्षामा देखिएको वेथिति, व्यवसाय तथा उद्योग धन्दाहरुमा आएका समस्याहरु त्यस्तै भद्रगोल छन् । भ्रष्टाचारले सीमा नाघिसकेको छ । राष्ट्र र राष्ट्रियताको रक्षा कस्ले कहाँ गरे ? खोइ त, यस्ता कुराहरुमा ती नेताहरुको ध्यान पुगेको ? त्यसैले त्यस्ता कुरामा मेरो गम्भिर रुपमा ध्यानाकर्षण भएको छ ।

लोकतान्त्रिक गणतन्त्र नेपालमा राजा ल्याउने र धर्मसापेक्ष राष्ट्र बनाउने दौडमा रहेको राप्रपाको यहाँ एउटा नेता हुनृुहुन्छ, यस्ता मुद्दामा जनताले यहाँ कसरी पत्यार गर्लान् ?

विश्वका विकसित मुलुकहरुमा पनि धर्मलाई जनताको भावना र जनआस्थासँग जोडेर शासन गरिदै आएको छ । हाम्रो देश नितान्त हिन्दु मुलुक भएको विश्वलाई थाहा छ, यद्यपी यहाँ अर्को धर्मलाई सम्मान्न गर्ने संस्कृति पनि छ । देशको पहिचान झल्काउने धर्म हिन्दु धर्म हो । यो देश हिन्दु राष्ट्र हो भन्न किन दाह्रा किट्नु पर्यो ? नेपाल बहु धार्मिक र बहु सांस्कृतिक मुलुक भईकन पनि हिन्दुहरुको बाहुल्यता रहेको देश भएका कारण यो देश हिन्दु राष्ट्र हुनु पर्ने हाम्रो पार्टीले उठाएको मुद्दा हो । आज धर्म निरपेक्ष मुलुक भएकै कारण धर्म धर्ममा लडाई भईरहेको छ । यसले देश अशान्त बन्न पुग्छ । त्यसैले नेपाल धर्म सापेक्ष देश हुनु पर्छ तर यहाँ गुम्बा, मस्जिद र चर्चहरु बनाउन नपाईने भन्ने कुरा हामीले भन्न खोजेका होइनौं । राप्रपाले उठाएको यस मुद्दाले नेपालका हिन्दुहरुले अन्य धर्मलाई पनि सम्मान गर्न पर्छ भन्दै आएको छ । अब जहाँसम्म राजसंस्था पुर्नस्थपान गर्ने कुरा छ, यो देशको राजनीतिमा राजसंस्था अपरिहार्य देखिदै आएको छ, यो राप्रपाले मात्रै देखेको होइन, संघीयताका नाममा धेरै राजा बनेर यहाँका सोझा साझा जनतामाथी गर्दै आएको शासनले देखाएको कुरा हो । देशमा जनतालाई एकअर्कासँग लडाउने राजनीति हावी भईरहेको छ । देशबासीहरुमा एकता ल्याउन राजसंस्था नभई नहुने अवस्था आईसकेको छ । अहिले धेरै नेताहरुलाई राजा बन्नु पर्ने भएपछि देशको शासन प्रणाली चलाउनका लागि जुटाउने खर्चका लागि नेपालको नदीनाला, उद्योग कलकारखाना बेच्ने काम मात्रै भईरहेको छैन की देश नै बेच्नु पर्ने स्थिति आमनेपाली जनताले बुझीसके । विदेशी इशारामा नेपालमा विधेयकहरु धमाधम बन्न थालेका छन् । एमसिसी र एसपीपी जस्ता सम्झौता गरेर देशलाई रणभूमि बनाउने तयारी भईरहेको छ । यो गणतन्त्रले नेपालमा जनतालाई एकढिक्का बनाउन सकेको छैन, राष्ट्र नै बचाउन सक्ने हो की होइन, शङ्का गर्न जनता तयार भएको अवस्था छ । त्यसैले विकल्पका रुपमा जनताले अब राजसंस्था खोज्न थाली सकेका छन् । राप्रपाले बोकेको एजेण्डा पनि त्यहि हो । त्यहि उदाहरणले नेपाली जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पत्यार गरिरहेको पुष्टी गर्छ ।

यहाँले प्रतिनिधि सभामा पुगेर अर्थात नीति निर्माण बनाउने तहमा पुग्नु भएपछि मकवानपुर निर्वाचन क्षेत्र १ मा कस्तो परिवर्तन ल्याउने कल्पना गर्नु भएको छ ?

म जहिले पनि सकारात्मक सोच राख्ने ब्यक्ति भएकै कारणले होला, मैले यस क्षेत्रमा अथाह आर्थिक विकासको सम्भावना देखिरहेको छ । सबैभन्दा बढी पर्यटन विकास गर्न सकिने र यसबाट यहाँका जनताको आर्थिक विकासमा आमूल परिर्तन ल्याउन सकिने सम्भावना रहेको छ । यहाँको धार्मिक, भौगोलोक, सांस्कृतिक एवं प्राकृतिक श्रोतहरुलाई पर्यटन उद्योगसँग जोडेर उपयोग गर्न सकिने सम्भावना रहेको छ । यसक्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिदै रोजगार एवं स्वरोजगारको अवसरका लागि सीप विकास, श्रोतको पहिचान, भौतिक विकास, शैक्षिक व्यवस्थापन, कृषि सामाग्रीको उचित व्यवस्थापन, दक्ष प्राविधिक र स्वास्थ्य सामाग्रीसहित स्वास्थ्य संस्थाहरुको उचित व्यवस्थापन तथा उद्यमशीलताको विकास मेरो उच्च प्राथमिकतामा रहने छ । त्यसका साथै कृषकले उत्पादन गर्ने उपजहरुको बजारीकरण र उपभोगको अवस्थामा आमूल परिर्तन ल्याउन यहाँका कृषकसँग सहकार्य गर्ने मैले योजना बनाएको छु । त्यसबाहेक आवश्यकता र उपलब्ध श्रोत साधनको आधारमा अन्य समस्याहरुलाई समाधान गर्दै जाने मैले कल्पना गरेको छु ।

अन्त्यमा, मैले नसोधेको तर यहाँलाई भन्न इच्छा भएको कुनै कुरा छ की ?

मकवानपुरमा बसेर मैले राजनीतिक जीवन बिताउदै आएको कुरा धेरै मकवानपुरबासीहरुलाई थाहा छ । यहाँ पटक पटक जितेर उच्च पदमा पुगेका नेताहरुको आनाबानी र चरित्र यहाँका मतादाताहरुलाई राम्रै थाहाँ छ र म पटक पटक हार्ने नेताको व्यवहार र आनीबानी पनि यहीका बासिन्दाहरुलाई थाहा छ । यहाँका मतादाताहरुको मत लिएर गएका नेताहरुले पदमा पुगेपछि यहाँका जनताका लागि के गरे ? र मैले हार्दा पनि यहाँका जनताको सेवाका लागि के कस्ता कामहरु गरिरहेको छु ? भन्ने कुरा यहाँका जनतालाई थाहा भएको कारण पनि म यहाँका जनताको सेवा गर्ने सोचबाट पछि हट्न सकिन । म सम्पत्ति कमाउनका लागि भनेर राजनीति गर्न आएको होइन । मलाई यहाँका जनताको प्यारो नेता बन्ने धोको छ । जनताले मलाई एक पटक परीक्षा गर्नु पर्छ भन्ने मेरो मान्यता हो । म जीवित छँदा जेजति जनहितका कामहरु गर्न सक्छु त्यसको नतिजा मेरो मृत्युपछि हुने सबयात्रामा मकवानपुरवासीहरुको सहभागिता रहन सकोस् र यसका लागि मैले मकवानपुरबासीहरुको हितमा धेरै काम गर्नुपर्छ भन्ने मैले राम्रैसँग बुझेको छु ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application