NTC App - Ad

खोटाङमा भूकम्प: दुई विद्यालय भवन सहित एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

काठमाडौं, १७ श्रावण । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुर्‍याएको खुलेको छ।

जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूणर् रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ ।

Advertisement:

यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूणर् रूपमा भत्किएको छ ।

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिए ।

उनका अनुसार बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो ।

भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक-एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए ।

‘स्थानीय तहहरूले भूकम्पसँगै बाढी र पहिराको समेत क्षतिको विवरण टिपाउने क्रम जारी छ’, उनले भने, ‘जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको विवरण चाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको छ । जिल्लामा भारी वर्षा भइरहेकाले यकिन विवरण आउन समय लाग्ने देखिएको छ ।’

वि.सं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् ।

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जाने क्रम जारी रहेकाले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई आग्रह गरिएको प्रजिअ सेढाईंले बताए ।

‘जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जाने क्रम जारी छ’, उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।’

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

भूकम्प गएलगत्तै नगरपालिकाले ‘इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्ट’का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

जिल्लाका अन्य स्थानीय तहले पनि भूकम्पबाट आ-आफ्नो क्षेत्रमा भएका क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी राखेका छन्। भूकम्प, बाढी-पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

– केदार मगर/रासस ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra