
काठमाडौं, १६ श्रावण । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव सहितका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत ललितपुरले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । ३५ दिनभित्र अदालतमा उपस्थित हुन हदम्याद तोकिएको छ ।
हातहतियार तथा खरखजाना र बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराधमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।
विभिन्न मुद्दाहरुमा नेकपाका नेता विरुद्ध पक्राउ पुर्जि जारी भएको हो। नेकपाको सैन्य विभागका इन्चार्ज उदयबहादुर चलाउनेलाई हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धि कसुरमा पक्राउ गर्न आदेश गरिएको छ । पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्डलाई आपराधिक लाभ र संगठित अपराधको आरोप छ । स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला,केन्द्रीय सदस्य उमा भुजेल र स्थायी समिति सदस्य सन्तोष बुढा मगर लगायतका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको थियो । विभिन्न ठाउँमा भएका घटनाहरुमा विप्लव समूहको संलग्नता रहेको भन्दै त्यतिबेला प्रतिबन्ध लगाइएको थियो। ओलीले नै विप्लव लगायतका नेताहरुसँग सहमति गरेर उक्त प्रतिबन्ध हटाएका थिए । प्रतिबन्ध हटे यता विप्लव समूहले विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफललाई तिब्रता दिएको छ। हाल नेकपा विभाजितको अवस्थामा छ । विप्लव समूहले अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी स्टेट प्रोग्राम पार्टनरशिप (एसपीपी)को विरोध गर्दै आएको छ ।
गोरखापत्रमा छापिएको सूचनाको स्क्रेनसट