नमूना विद्यालयमै छैन खेलमैदान



भजनी, २८ असार । कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ ।

‘एक वडा, एक नमूना विद्यालय’को अवधारणाअनुसार सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालयसँग व्यवस्थित खेलकुद मैदान छैन । राजनीतिक दाउपेचका कारण विद्यालयको जग्गामा सडक निर्माण भएपछि विद्यार्थीलाई खेलकुदका लागि मात्रै होइन, पठनपाठनमा समेत निकै समस्या हुन थालेको छ । सडकको नक्सा भएको क्षेत्र कुनै व्यक्तिको कब्जामा रहेको र नक्साअनुसार सडक निर्माण गर्दा आफ्नो राजनीति बिग्रने डरले स्थानीय जनप्रतिनिधिले त्यो जोखिम लिन नचाहेको बताइएको छ ।

विद्यालयको आँगनबाटै सडक निर्माण भएपछि सवारीसाधनको आवाजले पठनपाठनमा समस्या हुने गरेको छ भने अर्कातिर दुर्घटनाको जोखिम बढेको छ । विद्यालयसँग करोडौँका संरचना निर्माण भएका छन् तर, घेरापर्खाल छैन । विद्यालयका कागजात तथा अन्य सामग्री पनि निकै असुरक्षित छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयसँग १५ कठ्ठा जग्गा थियो । त्यसबाट केही जग्गा सडकमा विलय भइसकेको छ भने १५ कठ्ठा जग्गामा सबै ऐलानी छ ।

“हामीसँग ५३२ विद्यार्थी छन् । तिनलाई बिहानको समयमा प्रार्थना गराउन, खेलकुद सिकाउनका लागि मैदान नै छैन । भन्न नमूना विद्यालय भनिएको छ तर काम नमूना गर्न सकिएको छैन”, विद्यालयका प्रधानाध्यापक पदमबहादुर शाहीले भने, “आज सडकको समस्याका कारण प्रदेशबाट विनियोजन भएको रकम फिर्ता गयो । विद्यालय नमूना छ, संरचना र विद्यार्थी निकै असुरक्षित छन् ।”

उनका अनुसार अझै पनि विद्यालयको नाममा जग्गा छैन । ऐलानी जग्गा भएकै कारण पनि स्थानीयवासीले विद्यालयको जग्गा अतिक्रमण गर्दै यहाँ पुगेको प्रअ शाही बताउछन् । अहिलेसम्म विद्यालयमा पाँच व्यवस्थापन समितिका अध्यक्ष फेरिए भने तीन प्रधानाध्यापक ।

भजनी नगरपालिकाका मेयर केवल चौधरीले १० वर्ष सोही विद्यालयको प्रधानाध्यापक भएर सेवा गरेका थिए । आफ्नो कार्यकालमा उनले पनि अतिक्रमणमा परेको विद्यालयको जग्गा फिर्ता ल्याउन सकेनन । “वर्तमान नगरप्रमुखले पहिले निकै प्रयास गरेका थिए । उनको कुरालाई सुनिदिने कोही भएन ।” प्रधानाध्यापक शाहीले भने, “निवर्तमान नगरप्रमुखले पनि सडकको समस्या समाधान गर्ने बोल्नुभयो, गर्नु भएन । सबैले बोले काम कसैले गरेनन् । समस्या विद्यालय प्रशासन र विद्यार्थीलाई भएको छ ।”

नगरप्रमुख चौधरीले विद्यालयका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनुभयो । उनले विद्यालय सार्नेसम्मको प्रयास आफूले गरेको सुनाए । “ राम्रो काम गर्नेको पछाडि कसैको साथ नहुनेरहेछ । अगाडि सहमति जनाउने पछाडि गएर विरोध गर्नेहरूका कारण समाज परिवर्तनको बाधक बनेको छ ।” नगरप्रमुख चौधरीले भने, “अझै पनि विद्यालयको व्यवस्थापनका लागि र सडकको समस्या समाधानका लागि प्रयास हुन्छ । अहिले सडककै कारण विद्यार्थीलाई निकै समस्या हुने गरेको छ ।”

नमूना विद्यालयका लागि नगरपालिकाले पहिलो वर्ष रु सात लाख बजेट विनियोजन गर्‍यो । त्यसपछि रु चार लाखमा झरेको नगरपालिका त्यसपछिको वर्ष रु दुई लाखमा झर्‍यो । चालु आव त नमूना विद्यालयले नगरपालिकाबाट बजेट नै पाउन सकेन । आउँदो आवका लागि पनि नमूना विद्यालयलाई बजेट छैन । “नमूना विद्यालय घोषणा गर्‍यो । नमूना विद्यालयका लागि चाहिने आधारभूत आवश्यकता अझै पूरा हुनसकेका छैनन् । एक-दुई लाखले नमूना विद्यालय बनाउन सकिँदैन । त्यसका लागि शैक्षिक सुधारका लागि पर्याप्त बजेटको व्यवस्थापन हुन सक्नुपथ्र्यो ।” प्रधानाध्यापक शाहीले भने, “नामले मात्रै नमूना भएर हुँदैन, आधारभूत कुरा पूरा गर्न सकेपछि र शैक्षिक गुणस्तरलाई माथि उठाउन सकेपछि मात्रै नमूना मान्न सकिन्छ ।”

-रासस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा