भारतबाट गहुँ जन्य वस्तुको निर्यातमा कडाइ



काठमाडौँ, २७ असार (लक्ष्मी सापकोटा)। भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको दुई महिनापछि गहुँका उत्पादन आँटा, मैदा र सुजीको निर्यातमा पनि कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले बुधबार सूचना प्रकाशित गर्दै पिठो, मैदा र सुजीको निर्यातमा कडाइ गरेको हो ।

डीजीएफटीको सूचनाअनुसार असार २८ गते मङ्गलबारदेखि गहुँका उत्पादन (पिठो, मैदा, सुजी आदि) निर्यात गर्ने व्यवसायीले अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्नेछ । सूचनामा ती वस्तु निर्यात गर्ने व्यवसायीले अन्तरमन्त्रालय समिति (इन्टर मिनिस्टरियल कमिटी)बाट अनुमति लिन अनिवार्य गरिएको छ । यसअघि यी वस्तुको निर्यात गर्दा अनुमति लिनुपर्ने व्यवस्था थिएन ।

गत वैशाख ३० गते गहुँ निर्यातमा रोक लगाएको थियो । रुस-युक्रेन युद्दका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले गहुँसँगै गहुँको पिठो, मैदा र सुजीको निर्यातलाई पनि कडाइ गरेपछि यसमा आधारित नेपाली उद्योगलाई सङ्कट पर्ने व्यवसायीको भनाइ छ । भारत सरकारले गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पूणर्तः रोक लगाएको नभई लाइसेन्स अनिवार्य लिनुपर्ने व्यवस्था गरेपछि प्रक्रिया झन्झट भई आयात गर्न समय लाग्ने व्यवसायीले बताएका छन् ।

नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले भारतले गहुँ आयातमा रोक लगाएपछि नेपाली उद्योग समस्यामा परेको बताउनुभयो । “यहाँका मैदा उद्योगमा हाल एक महिनालाई पुग्ने गहुँ मौज्दात छ । त्यसपछि पनि गहुँ आयात नभए उद्योग पूणर् रूपमा बन्द हुन्छन्,” दुगडले भने । भारतले मैदा, आँटा र सुजी निर्यातमा कडाइ गरेपछि बजारमा अभाव हुन थालेको उनले बताए ।

मुलुकभर रहेका ३६ मैदा उद्योगलाई स्थानीय उत्पादनले अपुग भएपछि वार्षिक चार लाख टन गहुँ आयात गर्नुपर्ने अध्यक्ष दुगडले जानकारी दिए । मैदा उद्योगका लागि वार्षिक सात लाख टन गहुँ आवश्यक पर्ने गरेकामा तीन लाख टन स्थानीय उत्पादन हुने गरेको छ ।

सङ्घका अनुसार गहुँको आयातमा रोक लागेपछि आँटा र मैदाको मूल्य ६ प्रतिशतसम्म वृद्धि भइसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ)सम्ममा १३ करोड ९९ लाख १७ हजार रुपियाँ बराबरको गहुँको पिठो आयात भएको छ । भारत, चीन, थाइल्यान्डबाट गहुँको पिठो, मैदा र सुजी आयात हुने गर्छ ।

वार्षिक चार लाख मेट्रिक टन अपुग

स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि गहुँको आयात बढ्दै गएको छ । गहुँको वार्षिक माग २४-२५ लाख मेट्रिक टन माग रहेको छ । आन्तरिक उत्पादन २०-२१ लाख मेट्रिक टन रहेकामा तीन-चार लाख मेट्रिक टन अपुग हुन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष गहुँको खेती सात लाख १६ हजार हेक्टरमा भएको र उत्पादन २१ लाख ४४ हजार ५६८ मेट्रिक टन भएको छ । आव २०७७/७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख नौ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस्तै आव २०७६/७७ मा सात लाख सात हजार हेक्टर क्षेत्रफलमा भएको गहुँ खेतीबाट २१ लाख ८५ हजार मेट्रिक टन उत्पादन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा