राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भने – ममाथि पूर्वाग्रह राखियो

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताएका छन् । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराए । उनले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताए ।
यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताए । समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उनले आफूबाट कुनै पनि अनधिकृत काम नभएकोस्पष्ट पारे । तोकिएको मानिस बाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनले दोहोर्याए । अर्थमन्त्रीले भने, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”
उनले आफू विरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गरे । अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताए । विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उनले त्यसलाई आफूले रोकिदिएको बताए ।
आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उनले जनाए । मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छुट दिइएको बताए ।
निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उनले स्पष्ट पारे । अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेश गरे । सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उहाँले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन भन्ने प्रश्न गरे ।
रासस ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस