उन्नाइसौँ धान दिवसः मल बिनाको रोपाँई गर्दै किसान



देउखुरी, १५ असार (राससः

‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,
लगाइ पानी बनाइ कुलो आएर गोडौला’

यो गीतमा भनेझैँ दाङका किसान छुपुमा छुपु गरेर धान रोप्ने समयमा मलका लागि सरकारी संस्थामा धाउन बाध्य छन् । नेपाली कृषकका लागि असार १५ एउटा मौलिक पर्व नै हो । हिलोलाई छुने, दही चिउरा खाने दिनको छुट्टै महत्व रहेको छ । उन्नाइसौँ धान दिवस मलबिनाको रोपाइँ गरेर दाङका किसानले मनाउँदैछन् ।

कृषि ज्ञान केन्द्र दाङको आयोजनामा लमही-४ मा रहेको हरितक्रान्ति सहकारी संस्थाको सहयोगमा १९औँ धान दिवस मनाउन थालेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । देउखुरीका किसानको खेतमा गएर धान रोपेर दिवस मनाउने तयारी छ । दिवस त मनाउनुपर्‍यो, बिनामल दिवस मनाउन बाध्य भयौँ”, उनले भने ।

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरिया मलको अभाव भएपछि किसानले मल नछरेरै धान रोपाइँ गर्न थालेका छन् । यसरी खेती गर्दा धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता किसानलाई परेको छ । राप्ती गाउँपालिका-३ का प्रविन चौधरीले यसपालि मल नछरी धान रोपेका छन् । सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि मलबिनै धान रोप्नुपरेको उनले बताए ।

“मलका लागि धेरै ठाउँ धाइयो, तर पाइएन । मल नपाए पनि तयार भएको धानको बीउ खेर जान दिन भएन”, उनले भने, “यसपालि मलै नछरी धान रोपियो, उब्जनी त के हुने हो”, धानखेती सुरु हुँदा दाङका किसानले यस वर्ष अनुदानको रासायनिक मल पाउन सकेका छैनन् ।

अधिकांश किसानले मल नपाउँदा रोपाइँ गर्न गाह्रो परेको छ । “मानो रोपेर मुरी फलाउने समय हो, सप्रियो भने त ठिकै छ । सप्रिएन भने वर्षभरि के खाने भन्ने समस्या पर्ने भयो”, लमही-३ का कमल चौधरीले भन्नुभयो, “पानी पर्न थाल्यो । धानको बीउ रोप्नलाई तयार भइसक्यो, मल छैन । मल नछर्दा उब्जनी हुँदैन”, उनले भने ।

दाङका किसानले धानखेतीका लागि चाहिने रासायनिक मलको अभावमा धानखेती गर्दैछन् । किसानलाई सरकारले अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको थियो । यस वर्ष किसानले युरिया मल पाएका छैनन् । डिएपी र पोटास थोरै मात्रामा पाएका छन् ।

जिल्लामा करिब ३९ हजार ५०० हेक्टरमा धान रोपाइँ हुने ज्ञान केन्द्रको भनाइ छ । बुधबारसम्म जिल्लाभर करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने देउखुरी क्षेत्रमा मात्रै रोपाइँ सुरु भएको कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए ।

नेपालमा २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । जिल्लामा अहिले मल मौज्दात छैन । केही मात्रामा मल ल्याएको र त्यो पनि सहकारीमार्फत वितरण गरिएको साल्टट्रेडिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताले जानकारी दिए । सरकारले समयमा मल उपलब्ध नगराउँदा समस्या भएको उनले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेडसँग रासायनिक मल नभएको कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले बताए, “युरिया मल २० वा २५ दिनमा आउँछ कि भन्ने लागेको छ ।” यो समयमा जिल्लामा एक हजार ५०० मेट्रिक टन युरिया र एक हजार मेट्रिक टन डिएपी आवश्यक रहेको लिमिटेडले जनाएको छ ।

तस्वीरः © Manoj Bohara


प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत हेटाैंडा-१५ राताेमाटेमा भएकाे सवारी दूर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् । सोमबार

तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने

तातोखबर, काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका