मकवानपुर प्रहरीद्वारा ठूलो मात्रामा लागू औषध नियन्त्रणमा

तातोखबर सम्वाददाता
हेटौंडा, जेठ ९ / मकवानपुरमा ४ सय २२ किलो लागू औषध गाँजासहित एउटा मिनि ट्रक नियन्त्रणमा लिइएको छ । मकवानपुरको पालुङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागु औषध गाँजासहित सो मिनी ट्रक नियन्त्रणमा लिएको हो ।
जेठ ८ गते साँझ साडे ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रोकिराखिएको एउटा सवारी साधन चेकजाँज गर्ने क्रममा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं.–३ बायोखोला स्थित डाँडाबास–पालुङ पक्की सडकको छेउबाट उक्त मिनी ट्रक सहित सो परिमाणको गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार शंकाको आधारमा रोकी राखिएको ना.६ख. ३२४३ नम्बरको महेन्द्रा कम्पनीको मिनि ट्रक चेकजाँच गर्दा ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला पारेको थियो । उक्त लागूऔषध गाँजा, मिनी ट्रकलाई नियन्त्रणमा लिई उक्त कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भईरहेको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले आजै ३३ बोतल लागुऔषध वनरेक्स सहित १ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा विहान साडे ९ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाउँपालिका वडा ४ घर भई हेटौंडा उपमहानगरपालिका १ स्वर्गलोकस्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लोलाई उक्त परिमाणको लागू औषधसहित नियन्त्रणमा लिएको बताईएको छ ।
निज लोले आफू बस्ने डेरामा पलङमुनी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध वनरेक्स ३३ बोतल फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त ३३ बोतल लागुऔषध वनरेक्स सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जानकारी पनि जिल्ला प्रहरी कार्यालय मकवनापुरले सार्वजनिक गरेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application