बीमा कम्पनीहरुको ढिलो भुक्तानीका कारण कृषकहरुको घट्दो आकर्षण

Ujwal Dairy

हेटौंडा, २६ माघ / बीमा कम्पनीहरुले कृषि बीमितहरुको क्षतिपूर्ति दिन ढिलो गर्ने भएकोले कृषि उत्पादक सहकारी संस्थाहरुले गर्ने बीमाप्रति कृषकहरुको आकर्षण बढ्दै गएको छ । नेपाल सरकारद्वारा कृषि बीमा कार्यक्रममा प्रदान गर्दै आएको अनुदानमा आधारित ती सहकारीले सञ्चालनमा ल्याएको बीमा योजनामा कृषकहरु आकर्षित देखिएका हुन् ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ५ भालुखोलामा सञ्चालनरत उज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको चालू बीमा योजनामा पनि कृषकहरुको बढ्दो आकर्षण देखिएको छ । बीमा कम्पनीहरुले बीमा गरिएका कृषि उत्पादनमा क्षतिपूर्ति दिन ढिलो र बढी झण्झट प्रकृया हुने भएकोले कृषि उत्पादक सहकारीद्वारा सञ्चालन गर्ने बीमा कार्यक्रममा कृषकहरु आकर्षित देखिएको उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि.का व्यवस्थापक वलराम घिमिरे बताउँछन् ।
ब्यवस्थापक घिमिरेका अनुसार यस सहकारीद्वारा बीमा गरिएका गाई भैंसीको मृत्यु भएको संख्या अत्यधिक भएको कारण गत वर्ष १४ लाखभन्दा बढी रकम भुक्तानी गर्नु परेको थियो । उनी भन्छन् ‘एक वर्षमा हामीले भुक्तानी गर्नु परेको यो परिमाणको रकमलाई हेर्दा सरकारले अनुदान नदिने हो भने हामीले यो कार्यक्रम सहज रुपमा सूचारु गरिरहन सक्ने अवस्था छैन । कृषकहरुको चाहना र उहाँहरुले यस सहकारीमाथी गर्दै आईरहेको भरोषालाई हेर्दा हामीले यो कार्यक्रम बन्द गर्न सकिने अवस्था पनि छैन ।’
चालू आर्थिक वर्षका लागि १७ देखि १८ लाख रकम कोषमा सन्तुलन रहेको भए पनि यो आर्थिक वर्षमा पनि गत वर्ष जस्तै बीमित पशुको मृत्यु संख्या पुग्न गयो भने आगामी आर्थिक वर्षदेखि बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने व्यवस्थापक घिमिरे बताउँछन् । सरकारको नीति प्रति पशु १.५ प्रतिशत प्रिमियम रकम कायम गर्नु पर्ने भए पनि उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि.ले गत वर्ष यस सहकारीमा आबद्ध कृषकहरुको धेरै संख्यामा पशु बीमा बापत गर्नु परेको भुक्तानी बढी चुनौतिपूर्ण र बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने भएकाले सरकारको उक्त नीतिअनुसार अगाडि बढ्न नसकिने व्यवस्थापक घिमिरे दावी गर्छन् । उज्वल दुग्ध उत्पादक सहकारीको साधारणसभामा सर्वसम्मतिबाट प्रति पशु २ प्रतिशत प्रिमियम रकम कायम गरेर भए पनि यो कार्यक्रम टिकाउने प्रस्ताव पारित भएको र अहिले संस्थाले त्यहि अनुसार नै बीमा कार्यक्रम सञ्चालन हुदै आएको उनले बताए ।
कृषकहरुबाट उक्त प्रतिशतका दरले पशु बीमा गर्दा संस्थासँग ८ लाख रकम संकलन हुन आएको व्यवस्थापक घिमिरेले जानकारी दिएका छन् । उनले भनेका छन् ‘कोषमा जगेडा १७ लाख र यस वर्ष पशु बीमाका लागि यस सहकारीमा आबद्ध किसानहरुबाट संकलन गरिएको रकम ८ लाख गर्दा जम्मा २५ लाख सन्तुलन हुन आउँछ । यो रकमले यो वर्षको बीमा सेवा धान्न सक्ने सम्भावनालाई हेरेर हामीले यो वर्ष पनि बीमा सेवा बन्द गरेका छैनौं ।’
उक्त सहकारी संस्थामा आबद्ध ४ सय कृषकहरुको जम्मा ९ सय पशुहरुको बीमा गरिएको उनी बताउँछन् । व्यवस्थापक घिमिरे भन्छन् ‘विगतका वर्षहरुमा यस सहकारीका बीमा सेवा सञ्चालकहरुलाई बीमा कार्यक्रममा खटिएबापत केही सेवा शुल्क उपलब्ध गराईएको थियो तर यस वर्ष सरकारी अनुदान पनि नभएको र जोखिम मोलेर सेवा सञ्चालन गर्नु पर्ने अवस्था आएकै कारण सञ्चालकहरुलाई सेवा शुल्क उपलब्ध नगराउँदा पनि उहाहरु सेवाका लागि पछाडि हट्नु भएको छैन । त्यसैले चालु आर्थिक वर्षभरी हामीले सञ्चालन गरेको यो कार्यक्रमले आगामी वर्ष कुन रुप लिन्छ भन्ने कुरा भर पर्नेछ ।’
बीमितहरु यस सहकारी संस्थाले सञ्चालन गरेको बीमा कार्यक्रमबाट सन्तुष्ट रहेको व्यवस्थापक बलराम घिमिरे दावी गर्छन् । निजी क्षेत्रले सञ्चालन गरेको बीमा सेवामा सहभागी भएका बीमितहरुले २÷३ वर्षदेखि क्षतिपूर्ति नपाएको गुनासो आईरहेको बेला यस सहकारी संस्थाबाट बीमा सेवा लिदै आएका बीमितहरुले तुरुन्त भुक्तानी लिन पाएको कारण पनि कृषकहरु सन्तुष्ट रहेको उनको भनाई छ ।
नेपाल सरकारको अनुदानबाट विगत ६ वर्षदेखि उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि.ले बीमा सेवा सञ्चालन गर्दै आएको थियो । गत वर्षदेखि सरकारले अनुदान दिन बन्द गरेको उनले जानकारी दिएका छन् । उनी अगाडि थप्छन् ‘गत वर्ष हामीले पाउनु पर्ने १८ लाख रुपैयाँ पनि भुक्तानी पाईएन र हामीले यस सहकारीमा आबद्ध सदस्यहरुको पशु बीमाबापतको सुविधा उपलब्ध गराउनु पर्ने बाध्यता भएपछि हामीले सहकारीकै कोषबाट कृषकहरुको क्षति भएका गाई भैंसीको उल्लेखित बीमा रकम भुक्तान गर्यौं । हामीले यो सेवा सुचारु गरेयता बीमितहरुको बीमा गरिएको रकम भुक्तानी दिएर पनि बचत रकम अहिले हाम्रो यो कोषमा सन्तुलन रहेको बचतबाट मात्रै हामीले आगामी वर्षहरुको लागि बीमा सेवा चालु गर्न अप्ठ्यारो परिस्थिति सृजना भएको हो ।’
नेपाल सरकारले कृषि विकास बैंक लि. मार्फत किसानहरुलाई अनुदान दिने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । ५ वर्ष कुनै पनि कृषक सहकारीहरुले बीमा सेवा सञ्चालन गर्दा प्रदान गरिएको अनुदानबाट ती बीमा सेवा प्रदायक सहकारीले त्यसपछिका वर्षहरुका लागि आफैं बीमा सेवा सञ्चालन गर्न सक्षम हुन्छन् भन्ने धारणाले त्यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । ५ वर्ष पूरा भएपछि कार्यक्रमको पूर्व निर्णय बमोजिम नै यो सेवा बन्द गरिएको बुझिएको छ । यस विषयमा उज्वल दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक बलराम घिमिरे भन्छन् ‘सरकारले बीमित पशुहरुको मृत्यु कति भयो भनेर त्यसको अनुगमन एवं मूल्यांकन गर्ने तथ्यांक अध्यावधिक गर्ने विधि अपनाएको देखिएन । नेपाल सरकारले बीमित पशुहरुको मृत्यु भएको संख्या संकलन गरेर त्यसको आधारमा क्षेतिपूर्ति प्रदान गरिएको तथ्यांक भईदिएको भए यसको असर सरकारको अनुदानमा चल्ने बीमा सेवा प्रदायकले पेश गरेको तथ्यांकको आधारमा भुक्तानी प्राप्त गर्न सकिने तर त्यो शर्त उक्त अनुदान कार्यक्रममा नभएको कारण सरकारबाट फेरि उक्त सुविधा बीमा सेवा प्रदायक कृषक सहकारीहरुले पाउन नसकेको हो ।’
दुग्ध उत्पादक सहकारीमा आबद्ध कृषकहरुले ती सहकारीबाट प्रदान गरिएको बीमा सेवा लिदा उनीहरुको पशु बीमा बापतको भुक्तानी बिना झण्झट र सहज रुपमा पाउन सक्ने भएकोले कृषकहरु यस्तो बीमातर्फ निकै आकर्षित भएको व्यवस्थापक घिमिरे प्रष्ट पार्छन् । उनी अगाडि थप्छन् ‘किसान र सहकारी संस्थाबीच नङ र मासुको जस्तै सम्बन्ध भएका कारण अन्य बीमा कम्पनीहरुसँग भन्दा आफू आबद्ध कृषि सहकारी संस्थामार्फत बीमा गर्दा क्षति भएको पशुको भुक्तानी छिटो पाउन सकिने विश्वास रहेको छ । त्यसै कारणले उज्वल दुग्ध उत्पादक सहकारी संस्थाले हालै सम्पन्न वार्षिक साधारण सभाबाट यो कार्यक्रम पारित गरेर कार्यान्वयनमा ल्याएको हो ।’
बीमित पशुहरुको मृत्युमा आधारित कोषको रकम परिचालन हुने भएकोले यस्ता सहकारीहरुले बीमा सेवामा आत्मनिर्भर हुन सक्ने वा नसक्ने भन्ने अवस्था रहने पनि उनी बताउँछन् । ब्यवस्थापक घिमिरे भन्छन् ‘गत वर्ष जस्तै पशुको क्षति भएको संख्या उच्च भएको कारण १४ लाख रुपैया भुक्तानी दिनु पर्ने भयो भने हामीलाई या सेवा आगामी वर्षहरुमा पनि चालु राख्न सकिएला भन्ने कुरामा मलाई शंका नै लाग्छ ।’
बीमित पशुहरु विरामी भईरहने खालका रोगहरुका लागि उपचार सेवा पनि यहाँबाट सञ्चालन गरेर पशु मृत्युदर कम गर्ने अभियान पनि सँगसँगै सञ्चालनमा ल्याईदै आएको र उक्त सेवाका लागि त्यहि बीमा कोषकै रकम परिचालन गर्नु पर्ने बाध्यता रहेकाले आगामी वर्ष कस्तो हुन सक्छ ? भन्ने विषयमा आफू केही भन्न नसक्ने व्यवस्थापक घिमिरे बताउँछन् । सहकारीले पशु प्राविधिक समेत कृषकहरुको गोठमा उपलब्ध गराउँदै आएको छ भने बीमित पशुहरुको लागि कुनै कुनै औषधीका साथै उन्नत जातका पशु बीजहरु समेत निःशुल्क उपलब्ध गराउदै छ । पशु बीमा सेवा सञ्चालकहरुले यस वर्ष स्वयम् सेवाकका रुपमा काम गर्दै आएको पनि उज्वल दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक बलराम घिमिरेले जानकारी दिएका छन् ।

Advertisement:Ujwal Dairy

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application