NTC - FTTH

तिब्बती शरणार्थी केशरीको आफ्नै कथामा आधारित कृतिमाथी समीक्षा

Meri Uni Lai - Global IME Bank

काठमाडौं, कात्तिक १५ । तिब्बती श्रष्टा मालिका केशरीको आफ्नै भोगाईमा आधारित उपन्यास ‘दुङाल’ माथी साहित्यिक समीक्षकहरुले बिस्तृत समीक्षा गरेका छन् । राजधानीमा आयोजित एक समीक्षा समारोहमा उनीहरुले श्रष्टा केशरीको कृतिमाथि समीक्षा गरेका हुन् ।
उक्त कार्यक्रममा साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न साहित्यकार केशरी सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले प्रष्टाएका थिए । उक्त समीक्षात्मक अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जिकिर गरे ।
साङ्ग्रिला बुक्सद्वारा राजधानीमा कार्तिक १३ गते आयोजना गरिएको उक्त कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गरे । अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको उनले बताए । अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्व अझ बढ्ने इतिहासकार एवं संस्कृतिविद् ढुंगेलले औंल्याए ।
‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन सङ्घर्ष गरिरहेका छन् ? भन्ने यथार्थ चित्रण आएको कार्यक्रमको अतिथि राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले बताइन् । उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको धारणा थियो ।
त्यसैगरी ‘दुङाल’ले सडकमा आउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमबाट उद्घाटन गरिएको कार्यक्रमका अर्का अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विपुल पोखरेलले बताए । ‘पाठकले अपनत्व लिएकाले यसको चर्चा परिचर्चा र बिक्री वितरण राम्रो हुने र साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका दृष्टिले यो सफल उपन्यास भएको उनले दावी गरे ।
त्यस्तै कार्यक्रमका अर्का अतिथि वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताए । उनले भने, ‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ । यसले नेपाली शब्दभण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ । यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो ।’
कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिङले ‘दुङाल’मा आफ्नै जीवनकथा भेटेको सुनाए । उनले भने, ‘तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि ल्याएका थिए । हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुसी लागेको छ ।’
सञ्चारकर्मी प्रकाश थापाले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रममा उपप्राध्यापक टीएन भट्ट विश्वामित्रले किताब औपन्यासिकताको दृष्टिले सफल रहेको टिप्पणी गरे भने लेखक मालिका केशरीले आफूले बाल्यकालमा नजिकबाट देखेका पात्रहरुलाई आख्यानमा समेटेको बताए ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra