विद्यालयहरुमा विविध स्वास्थ शिवीर र अभिमुखिकरण तालिम सञ्चालन

तातोखबर 2018-03-22 08:42:25 शैक्षिक

    बिराटनगर, चैत्र  गते ६ / विराटनगरमा नेमुवाको श्री सरस्वती सदन माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य परिक्षण शिविर तथा प्रजनन स्वास्थ र रजस्वलासम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ  । बिराटनगर लेडिज सर्कल ५ र बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ को संयुक्त आयोजना उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
    विश्व मुख स्वास्थ दिवसको अवसरमा श्री सरस्वती सदन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ५, ६, ७, ८, ९ र १० का १०० जना विद्यार्थीहरु सचेतना कक्षामा सहभागी भएको र उनीहरुको दन्त स्वास्थ्य परिक्षण गरी टुथ पेस्ट र टुथ ब्रस बाँडिएको जानकारी विद्यालयका शिक्षक किशोर कुमारले गराए ।
    यस्ता कार्यक्रमहरुबाट आपूmहरुमा चेतना अभिवृद्धि भएको विद्यार्थीहरुकै प्रतिक्रिया दिए । उक्त कार्यक्रमप्रति विद्यार्थीहरुले उत्सुकता पूर्वक चासो लिएको र विद्यालयहरुबाट यस्तो उत्साहजनक प्रतिक्रिया आएकाले आफुहरु पनि निकै खुशी भएको बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ का अध्यक्ष डा. बिमल अग्रवाल र बिराटनगर लेडिज सर्कल ५ की अध्यक्ष डा. कोपिला अग्रवालले बताए ।
    किशोरी अवस्थामा महिलाहरुमा हुने रजस्वलाबारे भ्रामक कुराहरुबाट विद्यालयका छात्राहरुलाई मुक्त गराउँदै शारीरिक परिवर्तनबारे सचेत बनाउने उद्देस्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ‘२८ दिनमा महिनावारी भएन भने स्वास्थ चौकी जाऔं, महिनावारी हँुदा सरसफाईलाई ध्यान दिऔं, महिनावारी प्राकृतिक कुरा हो कुनै पाप होइन र रजस्वला भएका महिलालाई छिःछिः दुर–दुर होइन माया गरौं’ जस्ता अनेक सन्देश झल्कने प्लेकार्डहरु सहित विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    विद्यार्थीहरुलाई रजस्वलासम्बन्धी सचेतना दिइएको र दुई सय विद्यार्थीहरुलाई निःशुल्क सेनिटेरी प्याड्स बाडिएको डा. अन्किता अग्रवालले बताइन् । आउँदा दिनहरुमा यस्तो जनचेतनामुलक कार्यक्रम बिराटनगर र धरानका अरु विद्यालयमा पनि आयोजना गर्ने बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानबाट सहभागी शुभम कुमार अग्रवालले जानकारी दिए ।
    विगतका वर्षहरुदेखि नै गैर सरकारी संस्था बिराटनगर लेडिज सर्कल ५ र बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ ले रक्तदान कार्यक्रमहरु, पिछडिएका ठाउँहरुमा निःशुल्क विद्यालय निर्माण, विद्यालयहरुमा निःशुल्क प्राथमिक उपचार तालिम, निःशुल्क प्रौढ शिक्षा कार्यक्रमहरु, जनचेतनामुलक सडक नाटकहरु प्रदर्शन गरिएको थियो । त्यसैगरी सडक बालबालिकाहरुको निःशुल्क स्वास्थ जाँच शिविरहरु, अनाथ आश्रम र वृद्धिआश्रममा जाडोका लुगाहरु वितरण, दुर्गम ठाउँहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु, श्रद्धालु भक्तजनहरुका लागि निःशुल्क स्वास्थ्य शिविर तथा विविध शिक्षा र स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook