डमरुको डण्डीवियोको शीर्ष गीत सार्वजनिक

तातोखबर 2018-03-16 14:24:00 मनोरञ्जन

    काठमाडौं, चैत्र २ / आगामी वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘डमरुको डण्डीवियो’ कोे शीर्ष गीत ‘तितेपाती तितेपाती झ्याप झ्याप’ सार्वजनिक गरिएको छ । राजधानीको राईजिङ मलको सिनेमा थिएटरमा एक समारोहको आयोजना गरी उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
    समारोहमा चलचित्र डमरुको डण्डीवियोमा अभिनय गरेका कलाकारसहित सम्पूर्ण प्राविधिक टीम र विभिन्न आमसञ्चार माध्यमका प्रतिनिधिहरुलाई उक्त गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । पछिल्लो समयमा चर्चामा आएका अभिनेता एवं सिने कथाकार खगेन्द्र लामिछानेका मूख्य भूमिका रहेको उक्त चलचित्रको शीर्ष गीत कालीप्रसाद बास्कोटाको शब्द÷संगीत र स्वरमा रहेको छ । 
    नेपालको राष्ट्रिय खेलको सूचिबाट हटाईएको तर नेपालको मौलिक खेलको रुपमा परिचित डण्डीवियो खेलसँग सम्बन्धित कथावस्तुमा आधारित चलचित्र ‘डमरुको डण्डीवियो’ को बारेमा सम्पूर्ण जानकारी समारोहमा सहभागीहरुलाई गराइएको थियो । सम्बृद्धि इन्टरटेनमेन्ट प्रा.लि.का लागि नोर्वुछिरिङ घले र विनोद गुरुङले निर्माण गरेको र मनाङका प्रथम चलचित्र निर्देशक छेतेन गुरुङले निर्देशन गरेको उक्त चलचित्रको अन्य गीत लेखनमा एकतारे र हर्क साउदले गीतकार एवं संगीतकार कालीप्रसाद बास्कोटालाई साथ दिएका छन् । 
    गायनतर्पm कालीप्रसाद बास्कोटाका साथमा रिकेश गुरुङ, विद्या तिवारी, गन्देव्य कहन रहेका छन् । विशेष गरी राजधानी काठमाडौं र लम्जुङको पर्यटकीय गाउँ घलेगाउँमा छायांकन गरिएको उक्त चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, अशान्तित शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा, इन्गी होप्पो कोइन्च सुनुवार र निर्मला घिसिङले अभिनय गरेका छन् ।
    हरि हुमागाईले सिनेमाटोग्राफी गरेको र मेनुका राईको आर्ट डाईरेक्शन चलचित्र ‘डमरुको डण्डीवियो’को निर्माण ढाँचा नगेन्द्र घिमिरेले तयार पारेका छन् भने इश्वर घिमिरेको निर्माण निर्देशन रहेको छ । सो चलचित्रका सहायक निर्देशकका रुपमा सुरेश न्यौपाने, सागर प्याकुरेल र शान्ति तामाङ रहेका छन् । चलचित्र ‘डमरुको डण्डीवियो’ को डिजिटल पार्टनर हाईलाईट डिजिटल रहेको जानकारी उक्त समारोहका कार्यक्रम सञ्चालक आमसञ्चारकर्मी नरेश भट्टराईल दिएका छन् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook