लागुऔषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक : माधवकुमार नेपाल
काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुऔषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको धारणा राखेका छन्।
दोलखामा गाईखुरा युवा क्लबले आज आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागुऔषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताएका हुन्।
उनले लागुऔषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिष्कार गर्नुपर्ने आवश्यक रहेको बताए। यसका लागि कठोर कानून आवश्यक रहेको उनको भनाइ थियो।
नेपालले भने, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ। त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरु त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ।” लागुऔषध दुर्व्यसनका कारण युवाहरुले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उनले यसविरुद्ध सबै एकजुट हुन आग्रह गरे।
सो अवसरमा नेकपा माओवादी केन्द्र सांसद गङ्गा कार्की, नेपाली कांग्रेसका नेता अजयबाबु सिवाकोटी, बिशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदुत डा विश्वहरि नेपाल लगायतले आफ्ना धारणा राखेका थिए।