नेकपा एमाले र माओवादी केन्द्रका सांसदबीच प्रतिनिधिसभा बैठकमा दोहोरी

काठमाडौँ / बुधबारको प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्द संसदीय की असंसदीय भन्नेमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदबीच दोहोरी चलेको छ।
एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले माओवादी युद्धलाई ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरूले आपत्ति जनाएका हुन् ।
डेडिकेटेड र ट्रंक लाइनको विवादमा बोलेका भट्टराईले देशमा १० वर्ष माओवादी हिंसा नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए ।
‘माओवादीले कति वटा ट्रान्समिसन लाइन पड्कायो, कति वटा सबस्टेसन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीलाई चन्दा मागेर भगायो ।’ उनले थपे, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो।’
त्यसपछि माओवादी सांसदहरूले उठेर आपत्ति जनाए। सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि नगर्न आग्रह गरे।
सभामुखले आफ्नो भनाइ छोटकरीमा टुंग्याउन समय दिएपछि फेरि बोलेका भट्टराईले अरूलाई बोल्न नदिनु, बोल्दाबोल्दै रोक्नु पनि हिंसा नै हो भन्दै आफ्नो अडान दोहोर्याए।
उनीहरुले ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन माग गरे । सभामुखले कुन सन्दर्भमा ‘हिंसा’ भन्ने शब्द परेको छ त्यस विषयमा सचिवालयले छानबिन गरेर निर्णय गर्न निर्देशन दिए।
तर भट्टराईले प्रतिवाद गर्दै भने, ‘हाम्रो राजनीतिक प्रतिबद्धतामा कसले गर्छ छानबिन, कसरी हुन्छ छानबिन?’
त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमावली पालना नभएको भन्दै अमर्यादित शब्द संसदको रेकर्डबाट हटाउन माग गरे।
सभामुखले दोहोरी नगर्न र भट्टराईलाई एक मिनेटमा आफ्नो भनाइ टुंग्याउन आग्रह गरे।
त्यसपछि योगेशले भने, ‘विद्युतको ट्रान्समिसन लाइन पड्काउनु , गोली ठोक्नु, मान्छे मार्नु, पुलिस, आर्मी, सर्वसाधारणलाई हान्नु, चन्दा उठाउनु, लुटपाट मच्चाउनु सबै हिंसा हो।’
त्यसपछि नियमापत्ति गरेका एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शब्द असंसदीय हो भन्ने आधार स्पष्ट पार्न चुनौती दिए।
‘कुन शब्द संसदीय हो कुन असंसदीय हो भन्ने कुरा स्पष्ट छैन तर जनयुद्धमा मान्छे मरे त्यो हिंसा नै हो, रेकर्डबाट हटाउन मिल्दैन।’
त्यसपछि सभामुखले यस विषयमा आफूले निर्देशन गरिसकेको भन्दै विशेष समयको कार्यसूची अघि बढाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस