प्राकृतिक सम्पदा मासेर भौतिक संरचना निर्माण गर्दै मझुवागढी नगरपालिका
खोटाङ / जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ। उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ।
प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा वि.सं. १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ। किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुंगा र हतियार निर्माण गर्ने भट्टी रहेको छ। गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा छ। त्यस्तै, गढीको बिच भागमा मौली छ।मौलीभन्दा अगाडि पूजाआजा गर्ने ठाउँ छ। यसको केहीमाथि राजाको दरबार र सुरक्षाकर्मी बस्ने ठाउँ छ।
मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ। मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ। प्राकृतिक रूपमै पर्यटकीय क्षेत्र रहेको मझुवागढीलाई पर्यटन प्रवर्धनको नाममा अनावश्यक भौतिक संरचना निर्माण गर्दा कुरूप बनको हो।
धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्नेमा त्यसलाई असर गर्नेगरी भौतिक संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको जनाउँदै आलोचना शुरु भएको छ। कोशी प्रदेश सरकार तथा नगरपालिकाको साझेदारीमा कालिका भगवती देवीको मन्दिरभन्दा केही तल अवस्थित बुद्धेश्वर गुफा नजिकै सिमेन्टको कङ्क्रिट प्रयोग गरेर भौतिक संरचना निर्माण गरेपछि आलोचना भएको हो।
समपूरक अनुदानअन्तर्गत कोशी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजारमध्ये ९६ लाख ६६ हजार २८९ लागतमा ठेक्कामार्फत बुद्धेश्वर गुफा अगाडि टावर निर्माण गरिएको छ। निर्माणाधीन टावरका लागि २०८१ साल असार २४ गतेसम्म सक्नेगरी निर्माण कम्पनीले २०८० साल माघ ९ गते सम्झौता गरेको थियो।
निर्माणाधीन आयोजनाको ७५ लाख सात हजार ४९६ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए। मझुवागढी सौन्दर्यकरणका चालु आर्थिक वर्षमा पनि कोशी प्रदेश सरकारले रु एक करोड रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ।
अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर, आँखा पोखरी, देवीथानलगायत अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावरलगायत संरचना निर्माण गरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले आरोप लगाए। ‘सम्पदा नै संकटमा पर्नेगरी टावर बनाइएको छ। टावर बन्दैमा पर्यटन प्रवर्धन हुन्छ भन्ने धारणा गलत हो’, उनले भने, ‘अहिले बनाइएको टावरले त दिक्तेल बजारतिरको दृश्य छलिएको छ। पहिले देवीथान क्षेत्रको जहाँबाट हेर्दा पनि दिक्तेल बजार देखिन्थ्यो। अहिले पूर्वी-दक्षिणबाट हेर्दा टावरले छलिएको छ। कहाँ के गर्ने भन्ने बुझ्नुपर्थ्यो।’
मझुवागढी आसपासका क्षेत्रमा भ्यूटावर, धर्मशाला, प्रतिक्षालय, खानेपानीको ट्याङ्कीलगायत करोडौँका संरचना निर्माण भइरहेका छन्। दिक्तेल बजारस्थित हाटडाँडाबाट नै सिमेन्ट र बालुवा प्रयोग गरेर पदमार्ग निर्माण गरिएको छ।
नगरप्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न मझुवागढी आसपासका क्षेत्रमा भौतिक संरचना बनाइएको दाबी गरे। ‘मझुवागढीको पर्यटन प्रवर्धन गर्दै नगरको आम्दानीको स्रोत बनाउने उद्देश्यले संरचना बनाइएको हो। सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्नु अनुत्पादक क्षेत्रमा लगानी गर्नु होइन’, उनले भने, ‘निर्माणाधीन संरचना सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने र नगरको आन्तरिक आम्दानीको स्रोत वृद्धि हुने भएकाले अनुत्पादक भन्न मिल्दैन।’
मझुवागढी क्षेत्र किरात ऐतिहासिकस्थल तथा धार्मिक पर्यटकीय क्षेत्र भएकाले संवेदनशील भएर संरचना बनाउनुपर्ने जिल्लावासीको भनाइ छ। तर, नगरपालिकाले प्राकृतिक संरचना भत्काउनुका साथै करोडौँ रकम खर्चेर सिमेन्टको कङ्क्रिट तथा फलामे डण्डी र जस्तापाता प्रयोग गरेर धमाधम भौतिक संरचना निर्माण गरिरहेको छ।
(रासस)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय