सिंहदरबारमा कर्मचारीहरुको आन्दोलन : सरकारी सवारीसाधन चलाउने ड्राइभरको इन्स्योरेन्स माग
काठमाडौँ / सरकारी सवारीसाधन चलाउने ड्राइभरको जीवन बीमा (इन्स्योरेन्स)को माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आन्दोलन थालेका छन् ।
शुक्रवार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवन बीमाको माग गर्दै आन्दोलन गरेका हुन्। उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलन अझै चर्काउँदै जाने बताए।
लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरुलाई राख्नका लागि हटाइएको उनीहरुको आरोप छ।
संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारीसाधनको इन्स्योरेन्स भएझैँ सरकारी सवारीसाधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरुको माग रहेको बताए।
आफूहरुलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिदिनुपर्ने माग पनि उनीहरुले अघि सारेका छन्। संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको उनले बताए।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भारी सवारीचालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनशन बसेको बताए।
‘गाडीको इन्स्योरेन्स भएजस्तै ड्राइभरको पनि इन्स्योरेन्स गरिदिनुस्, महँगी भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिदिनुस् भन्दा यहाँका हाकिमले काम गर्ने इच्छा भए गर्नुस् र नगर्ने भए जानुस् भनेपछि साँचो छोडेर जानुभयो‚’ उनले भने, ‘उहाँकै बारेमा प्रधानमन्त्री कार्यालयमा यस्तो अभद्र व्यवहार हुन्छ भने हामी चुप लागेर बस्दैनौँ।’
उनीहरुले सरकारको विभिन्न निकायहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको समस्याहरु समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए।