एक पाठकको दृष्टिमा कीर्तिका रचना विविध
— धनप्रसाद शर्मा पौडेल
काठमाडौं, ५ भदौ / कीर्तिराज बराल गण्डकी प्रदेशमा सुपरिचित नाम । एक कुशल शिक्षक । असल समाजसेवी । प्रजातन्त्र प्रेमी । पुख्यौली कृषक पेशाको भूमिकामा समेत देखिएका बौद्घिक व्यक्तित्व । ३६ वर्षे दीर्घ शैक्षिक सेवाबाट अवकाशित एक राष्ट्रसेवक । जन्म वि.स.१९९४ । जन्मस्थल पोखरा उपत्यकाको पूर्वी क्षेत्रको रमणीय आर्वा गाउँ । विक्रम कै २०७७ पौष १७ गते ८३ वर्षमा उपचारकै क्रममा पोखरामा स्वर्गारोहण । आफ्नो जीवनका तिता–मिठा र स्मरण योग्य घटनाको डायरी टिपोट अनि सङ्ग्रह गर्ने असल अभ्यास । यसैको उपज ‘कीर्तिका रचना विविध’ हो भन्न सकिन्छ ।
लेखकले आफ्नै जीवनकालमा पुस्तक प्रकाशन गर्ने सदिच्छा राखेको तथ्य उनका जेष्ठ सुपुत्र शङ्करराज बरालको ‘पिता र पुस्तक’ शीर्षक आलेखवाट स्पष्टै हुन्छ । पुस्तकको अध्ययनबाट यो पनि अनुभूति हुन्छ कि लेखकमा तत्कालै पुस्तक छाप्ने, प्रकाशन गर्ने हुटहुटीभन्दा बढि डायरी मै स्मरणीय टिपोट गर्ने, सृजनशील रचनालाई ऐतिहासिक एवं तथ्यपरक रुपमा परिपाक दिने, यस्तैमा उनको जीवनको इहलिला समाप्त हुन पुगेको महसुस हुन्छ । पुस्तकमा मूलतः आत्मकथा, कथा, कविता, नियात्रा साहित्यको बेजोड संयोजन रहेको छ ।
लेखकले आफ्नो डायरीमा ‘यी मेरा लेखक रचनाहरु एकतृत गरी मेरा छोरा छोरी, नाति नातिनाहरुले पुस्तकको रुपमा प्रकाशित गरी दिनुू’ भनी उल्लेख गरेको प्रसङ्गले उनको आफ्नै जीवनकालमा कृति प्रकाशनको कार्यलाई पूर्णता दिन शारीरीक अशक्तावस्थाले कठिनाई रहेछ कि ? भत्रे तथ्य सहज अनुमानयोग्य विषय हो । लेखकका चार सन्तानमध्य जेष्ठ सुपुत्र शङ्करराज बराल (पूर्व न्यायाधीस), माहिला भवसागर बराल, (राजनीतिकर्मी), कान्छा बुद्घिराज बराल (वैकिङ्ग क्षेत्रको उच्च जिम्मेवारीमा सेवारत) र लक्ष्मी बराल पौडेल (एक कुसल गृहिणी) छोरीहरु रहेछन् । कीर्ति प्रकाशनको जिम्मा नाति नातिनीसम्म पुग्न सक्ने स्थिति नभएका कारणले पुस्तक प्रकाशन हुन बिलम्व पनि भएनछ । यसरी समयमै पाठकसँग कृतिको भेटघाट हुनु प्रसंशायोग्य छ ।
लेखकको शैक्षिक, पारिवारिक, धार्मिक, राजनैतिक र समाज सेवाका क्षेत्र सुनौलो अक्षराङ्कित छन् । पुस्तकमा पिताको स्मरणमा कान्छो छोराबाट ‘मेरा बा मेरा आदर्श’ शीर्षक आलेखमा प्रवाहित विचारले पिताप्रतिको आफ्नो कर्तव्य एवं दृष्टिकोण दर्शाउने शव्द भाव मात्र होईन, यस आलेखले समग्र पाठकको मन छुने, स्तव्ध र भावुक वनाउने प्रविधिको काम गरेको छ । यसको प्रशंसा नगरी पाठकलाई उन्मुक्ति मिल्ला जस्तो मलाई लाग्दैन ।
पुस्तक चार भागमा विभक्त छ । पहिलो भागमा आत्मवृत्तान्त छ, जसमा जन्मदेखि शिक्षक पदबाट अवकाश जीवनसम्मका २२ (बाईस) स्मरणीय घटना समावेश छन् । दोश्रो भागमा यात्राका घटनाहरु समावेश गरिएका छन् । विभिन्न उपशीर्षकमा नेपाल र भारतका पावन नौ वटा तीर्थस्थलहरुको भ्रमणसम्बन्धी नियात्रा एवं घटना समेटिएका छन् । अन्य उपशीर्षकमा जीवनका विभिन्न कालखण्डमा भएको १५ (पन्ध्र) राम्रा, नराम्रा, स्मरणयोग्य व्यक्तिगत, राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका घटनाहरु समावेश छन् । यात्रा संस्मरणहरु केवल यात्रामा मात्र सीमित छैनन् । लेखक जुन जुन स्थानमा पुगेका हुन्छन् तत् तत् स्थानको धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वलाई खोजवीन गरी अनुसन्धानमुलक सामाग्री पस्किन कत्ति पनि चुकेका छैनन् । धार्मिक भ्रमण एवं तीर्थाटनमा जाने जो कोहिको लागि नै ती पठनीय सामग्रीहरु उपयोगी टुरिष्ट गाइड सिद्ध हुनेछन् ।
त्यसैगरी तेश्रो भागमा जीवन भोगाई, संवेदना, यात्राको सुखद र दुखद घटनाहरु आत्मकथाकै शैलीमा संयोजन भएका छन् भने चौथो खण्डमा मौलिक रचना, कथा, आलेख (पाँच), कविता (सत्र) समाविष्ट छन् । अन्त्यतिर संग्रहित भजनहरुमा शिव आरती, राम वनवास जाँदा भरतले विलौना गरेको वेदान्तीचरण, पुरै वेदान्तीचरण आदि पन्ध्र किसिमका धार्मिक भजनहरु छन् । विविधको पनि विविध उपशीर्षकमा भने आफ्नो बराल वंशावली चार्ट रहेको छ । हुन त यसको पूर्व पृष्ठ नं ३५१ मा बराल वंशको पौराणिक एवं ऐतिहासिक पृष्ठभूमि तथ्यपरक शैलीमा उद्दृत छ । जसमा बरालको मूल थलो हुम्लाको वरै गाउँलाई भनिएको छ । यो इतिहास हुन सक्तछ । वर्तमानलाई हेर्दा हुम्ला जिल्ला सदरमुकाम सिमीकोट (अर्थात सिमकोट) पूर्व रहेको वर गाउँ जहाँ अधिकांश लामा जातिको बसोबास छ । यसैगरी सर्केगाड गाउँपालिकाको वडा नं.६ मा पर्ने वराई गाउँमा पनि बुढाथोकी, ऐडी र रोकायाहरुको बसोबास छ । बरालहरुको बसोबास हाल त्याँहा भेटिदैन ।
पुस्तक टुङ्गिन लाग्दा लेखकका सुयोग्य परिवारजनमध्यका जेष्ठ सुपुत्र छोरा शङ्करराज बराल (पूर्व न्यायाधीश) द्वारा लिखित ‘पिता र पुस्तक’, कान्छा छोरा बुद्घिराज बरालद्वारा लिखित ‘मेरा बा मेरा आदर्श’, बुहारी रसोदाका ‘सम्झनामा बा’ नातिनी शूुषमा बराल शर्माको ‘श्रद्धासुमन बा’ र नाति ई. प्रवेश बरालको ‘फरक हुँदो रहेछ बा’ शीर्षक कवितावाट पुस्तकको करिब बिट मारिएको छ । तथापि प्रासांगिक फोटो फिचरहरु पृष्ठ ४४३ देखि ४६१ सम्म (१९ पृष्ठ) समाविष्ट भएपछि पुस्तकले पूर्णाकार लिएको पाईन्छ ।
‘कीर्तिका रचना विविध’ को अध्ययन आपैmंमा एउटा आत्मवृतान्तको अध्ययन मात्र होइन, यो त मुलुकको समसामयिक घटना र शूक्ष्म रुपमा आधुनिक इतिहासको अध्ययन गर्नु पनि हो । कीर्ति मसिनो गरी अध्ययन गर्दै जाँदा पाठकमा थप उत्साहको सञ्चार हुँदै जान्छ । बढिमा एक हप्ताको समयावधि लाग्न सक्दछ । पुस्तक प्रकाशन, लेखकको देहत्यागपछिको अल्प समयमै हुनु उनीप्र्रतिको सच्चा श्रद्घाञ्जली हो । सुयोग्य परिवारजनको उच्च प्राथमिकतामा परी स्वर्गारोहणको तेस्रो वर्ष पुग्दा नपुग्दै कृतिले आकार लियो, प्रकाशन भयो । यो आपैmमा प्रशंसायोग्य एवं कदरयोग्य कार्य हो ।
पुस्तक स्तरीय, पठनीय र सरल छ । सरल र वोधगम्य छ । संग्रहणीय छ । प्रकाशन क्रममा उबनभ mबपष्लन प्रक्रियामा प्राराम्भमा नै केहि मामुली त्रुटि र वीच वीचमा एकाध शव्द निर्माणका टाईपिङ्ग गल्ति वाहेक व्याकरणीय पक्षलाई विशेष ख्याल गरिएको छ । समग्रमा नेपाली साहित्यको भण्डारमा एक उत्कृष्ट कृति थपिएको छ । पुस्तक प्रकाशन कार्यमा सम्पादनको कठिन भूमिका निर्वाह गर्ने कृतिकारका सुयोग्य सुपुत्रहरु प्रकाशनमा सहयोगी भूमिकाका लागि समस्त पारिवारिक सदस्यका साथै प्रकाशन कार्यमा योगदान पु¥याउने सबैमा हार्दिक वधाई तथा आभार व्यक्त गर्दछु । स्वर्गबासी लेखकको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्घासुमन समेत अर्पण गर्दछु ।