म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा ल्याउँदिनँ: प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्यको बाटोको राजनीति गरेको भन्दै सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका छन्।
‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापन र प्रथम क्याबिनेटलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यही मान्यताका साथ आफूले काम गरिरहेको स्पष्ट पारे। उनले सत्य र मानव सेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट गरे।
‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’ प्रधानमन्त्री ओलीको अठोट थियो ।
प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूलाई अग्लो देखाउन अरूलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरूको प्रवृत्ति सही नहुने बताए ।
उनले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने पनि बताए। नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताए।
‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखा मुनी छन्। भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन।’, प्रधानमन्त्री ओलीले भने, ‘हालै संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ। आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछु । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानवअधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस