२१ जना सचिवको सरुवा (सूचीसहित)
काठमाडौं / सरकारले हिजो सोमबार २१ जना सचिवको सरुवा गरेको छ।
मन्त्रिपरिषद्को बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने अर्थ मन्त्रालयमा ल्याइएको छ।
उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा लगिँदा उपराष्ट्रपति कार्यालयकी राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।
श्रम मन्त्रालयका घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिँदा अख्तियारका रामेश्वर दंगाललाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ। मुकुन्दप्रसाद निरौलालाई भने श्रम मन्त्रालय लगिएको छ। यस्तै किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ। उनी यसअघि रक्षा मन्त्रालयमा कार्यरत थिए। वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटीलाई लगिएको छ
यस्तै राष्ट्रपतिको कार्यालयबाट डिल्लीराम शर्मालाई लोकसेवा आयोगमा सरुवा गरिँदा लोकसेवाका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ।
राष्ट्रपतिको कार्यालयमा नारायणप्रसाद दुवाडी, नेपाल ट्रस्टको कार्यालयमा रामाधार साह, खानेपानी मन्त्रालयमा प्रमिलादेवी वज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा भएका छन्।
भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुर्याइएको छ। यसअघि उनी खरिद अनुगमन कार्यालयमा कार्यरत थिए। गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालय सरुवा गरिएको छ। यस्तै तथ्यांकका सचिव अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएका छन्।