कारणबिनै औषधि जफत भए आन्दोलनमा उत्रने व्यवसायीको चेतावनी

nepali-medical-business-man

काठमाडौँ / कानूनअनुसार औषधि बेचिरहँदा पनि जफत गरेको आरोप लगाउँदै औषधि व्यवसायीले यसविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मंगलवार काठमाडौँमा उनीहरुले औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरु नै बेच्दा पनि औषधि जफत गरिएको भन्दै विरोध गरेका थिए ।

Advertisement:nepali-medical-business-man

औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि छ भने जफत गर्न पाइने भन्दै विभागले कुनै जानकारी नदिइ भ्याट तिरेर ल्याएको औषधि जफत गर्नुले औषधि व्यवसायी पसलमा ताल्चा लगाएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटाले बताए ।

‘औषधि व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत गर्न पाइन्छ । पसलभित्र अर्को कुराको व्यापार भयो भने त्यो स्वीकार्य छ । विभागले हाम्रा साथीहरुको सामान जफत गरेको छ‚’ उनले भने, ‘हामीलाई कुनै जानकारी नदिइ भ्याट तिरेर ल्याएको सामान जफत गरेर राख्दा हामीलाई दुःख लागेको छ । महानगरको कार्यक्षेत्र औषधि क्षेत्रमा पर्छ कि पर्दैन। यस्तै स्थिति रह्यो भने पसल बन्द गर्नुपर्ने स्थिति आउँछ ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐनले कुनै पनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न समेत आग्रह गरे ।

उनले विभागका कर्मचारीले अनुगमनका क्रममा फार्मेसीहरुमा बेच्न पाइने बाहेकका औषधि राखेको भएमात्रै जफत गरेको दावी गरे । उनले फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिन नहुने र त्यसमा विभागले ध्यान दिने बताए ।

‘औषधि ऐनले कुनै पनि पेशा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेको छ । पेशा व्यवसाय गर्नको लागि व्यवसायीको व्यवस्था गरेको छ‚ त्यो फार्मासिस्ट वा व्यवसायी होला‚’ उनले भने, ‘तर कहिलेकाहीँ त्यो अनुपस्थित हुनसक्छ । कतै पनि निरीक्षणका क्रममा जानेबित्तिकै ताल्चा लगाएको छैन । औषधि बेच्न बनेको फर्ममा अन्य वस्तु राखेको भए त्यो हामीले छोड्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस् :