जीबी राईविरुद्ध रेड नोटिस जारी: छिट्टै नेपाल ल्याउने तयारी
तातोखबर, काठमाडौँ / पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध रेड नोटिस जारी गरिएको छ ।
सूर्यदर्शन सहकारीको निक्षेप अपचलन गरेको अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध गत १३ माघमा डिफ्युजन नोटिस जारी गरिएको थियो ।
डिफ्युजन नोटिशको आधारमा उनी मलेशियामा ‘लोकेट’ भएका छन् । मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई पत्राचार गरेको थियो ।
रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी संगठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व रहेको हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले यसअघि नै जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको हो।
सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुंगा घर भएका पूर्वअध्यक्ष भूपेन्द्र राई र पूर्वसदस्य शिव बहादुर गुरुङविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको थियो ।