बैशाखमा हुने आयोगको उपनिर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं, १४ फागुन/ आगामी बैशाख १५ गतेप्रतिनिधिसभा तथा प्रदेशसभाको रिक्त रहेको एक एक सदस्य पदका लागि हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आयोगद्वारा सोमबार एक सूचना जारी गर्दै कार्यतालिका स्वीकृत भएको जानकारी दिईएको हो ।

आयोगले सोमवार सार्वजनिक गरेको उपनिर्वाचनसम्बन्धी सूचनामा भनिएको छ ‘इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगबाट आज मिति २०८० फागुन १४ गते निर्वाचन कार्यतालिका स्वीकृत भएको छ ।’

Advertisement:

आयोगद्वारा जारी गरिएको उपनिर्वाचनसम्बन्धी सूचनामा स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार मिति २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने बताईएको छ ।

स्वीकृत गरिएको कार्यतालिकाअनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन जनाईएको छ । त्यसैगरी मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने कार्यतालिकामा उल्लेख गरिएको छ ।

आयोगद्वारा उपनिर्वाचनसम्बन्धी सूचनमा मिति २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने र २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने व्यहोरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :