संघीय संसदमा रिक्त सदस्य पदका लागि उपनिर्वाचनको मिति तोकियो

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ । आयोगले रिक्त रहेको संघीय संसद र प्रदेशसभाको सदस्य पदका लागि आगामी बैशाख १५ गते उपनिर्वाचन सम्पन्न गर्ने मिति तोकेको हो ।

निर्वाचन आयोगको आज बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधि सभा तथा प्रदेशसभाका रिक्त रहेको एक पदका लागि निर्वाचन सम्पन्न गर्ने आयोगद्वारा सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement:

इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ बैशाख १५ गते शनिबार उपनिर्वाचन गर्नेगरी मिति तोक्ने निर्णय गरेको जनाईएको छ ।

आयोगले उपनिर्वाचनसम्बन्धी दिइएको सूचनामा भनिएको छ ‘इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगमा प्राप्त भएको थियो ।’

आयोगको सूचनामा उल्लेख गरिएको जानकारीअनुसार कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो । सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको हो । यस उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोग सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :