कञ्चनपुर जिल्ला सिकलसेल एनिमियाको जोखिममा
तातोखबर, कञ्चनपुर / कञ्चनपुर जिल्लामा पनि पछिल्लो समय सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ।
रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५५० जनाको रगत परीक्षण भएको, ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको हो।
स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये १९९ मा वाहक (ट्रेट) देखा परेको थियो।
‘बाहक (ट्रेट) देखापरेका १९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ,’ भट्टले भने, ‘त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ।’
वाहक देखिएका १९९ मध्ये २२ जना महिला र २४ जना पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको छ, वाहक (ट्रेट) देखा परेका महिला तथा पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने उनले बताए।
‘बाहक (ट्रेट) देखा परेका महिला र पुरुषले विवाह गरे उहाँहरुबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ,’ उनले भने, ‘त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ।’
हेमोग्लोबिनसँग सम्बन्धित खराबीका कारणले हुने समस्या विश्वमा ५ प्रतिशतभन्दा बढी भएको तथ्यांक छ। तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो।
नेपालमा पनि खासगरी चौधरी थारु समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
केही समयअघि स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइग्स ट्रेट रहेको पाइएको बताए।
नेपालका चौधरी थारु समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था अझ भयावह हुनसक्ने भएकाले कञ्चनपुरका चौधरी थारु समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानका लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको जनाएको छ।
‘सिकलसेल एनिमिया र थालेसिमिया व्यक्तिको जिनसम्बन्धी खराबीका कारणले हुन्छ, रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ,‘ भट्टले भने, ‘केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चा सिकलसेल रोग भएर जन्मने गर्छन्।’
ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए।
सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखा पर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखा पर्छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय