बाह्रौँ संस्करणको पोखरा महोत्सवका सबै तयारी पूरा

तातोखबर : बिहीवारदेखि शुरु हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवका सबै तयारी पूरा भएका छन्।
आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलन गर्दै पुस २६ देखि माघ ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २५० वटा स्टल रहने जानकारी दिएको छ।
महोत्सव मूल आयोजक समितिका संयोजक राजु श्रेष्ठका अनुसार क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ।
यो वर्षको महोत्सवबाट लेखनाथको अर्चलेमा रहेको आफ्नो जग्गामा विपन्न विद्यार्थीका लागि आवासीय छात्रावास निर्माण र सेती नदीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बजेट छुट्याइनेछ।
बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब २ लाख ५० हजार दर्शक आउने अनुमान छ। महोत्सवमा शारीरिक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्षमुनिका बालबालिका र सुरक्षाकर्मी (पोशाक सहित) लाई निःशुल्क प्रवेश गराइनेछ।
टिकट काट्नुपर्नेहरूले रेभेल एपमार्फत अनलाइनबाट समेत टिकट सुरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ।
महोत्सवले देशको कला, संस्कृति, वेशभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पुर्याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानका बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरूको बजार सहजीकरण गराउने, कलाकारको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुर्याउने र उद्योग प्रवर्धन गर्ने उद्देश्य लिएको छ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं विक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यावसायिक संघ संस्थाहरूको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय उपभोग्य वस्तुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री, पर्यटन प्रवर्धनका सामग्रीको प्रदर्शनी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको जानकारी, सामाजिक संस्थाको परिचय, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधि सञ्चालन हुनेछन्।
यस्तै फरक आकर्षणको रूपमा हिमाली भेगमा चौँरी गाईको दैनिकी, आवश्यकता र देशको आर्थिक चलायमानमा याकको भूमिकाको बारेमा जानकारी दिन याकको प्रदर्शनी समेत गर्न लागिएको छ।
महोत्सवमा लोक तथा दोहोरीतर्फ बद्री पङ्गेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रीति आले, ज्योति मगर, प्रकाश दूतराज, शान्तिश्री परियार, समीक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार लगायतले प्रस्तुति दिने छन् भने कन्सर्टमा मन्त्र, लाहुरे, सविन राई एन्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्ससँगै स्थानीय कलाकार र ब्यान्डको प्रस्तुति रहनेछ।
त्यसैगरी हास्यव्यङ्ग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बाल उद्यान, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सवमा सञ्चालन हुँदै छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु