सुन्दरहरैचा नगरपालिका: जग्गा वर्गीकरणको नाममा १००% कर बढ्यो, समायोजन नभए दलहरूले आन्दोलन गर्ने

sundar-haraincha-municipality

तातोखबर, विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिकाले बढाएको करको दर समायोजन नगरे राजनीतिक दलहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै बढाएको करको दर पुस १५ गतेभित्र समायोजन नगरे आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका हुन् ।

Advertisement:sundar-haraincha-municipality

आव २०८०।०८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा एक सय प्रतिशत बढी कर बढाएको सुन्दर हरैचा नपाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले बताए

खेतीकिसानी गरेर दैनिकी चलाउनेलाई करको दर उच्च भएको कारणले उनीहरूलाई समस्या परेको उनको भनाइ थियो । ‘आर्थिक अवस्था टाट पल्टिएको अवस्थामा नगरपालिकाले नगरवासीको ढाड सेक्ने गरी कर बोकाएको छ’, उनले भने, ‘तत्काल कर समायोजन गरिनुपर्छ ।’

स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले करवृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका छन् ।

करको दर बढेपछि सबै क्षेत्रलाई समस्यामा परेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी सुन्दरहरैचा, सुन्दरहरैचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघले विरोध जनाएका छन्।

चौतर्फी विरोध भएपछि नगरपालिकाले कार्यदल गठन गरेको छ। सुन्दरहरैचा नगरपालिका–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकालको नेतृत्वमा सातसदस्यीय रहेको कार्यदल गठन भएको नगरप्रमुख केदारप्रसाद गुरागाईंले बताए ।

‘सामान्यता दश प्रतिशतसम्म कर दर बढाउन पाइन्छ। त्यसैअनुसार हामीले बढाएको हौँ । अहिले कार्यदल पनि गठन भएको छ। कार्यदलले दिएको प्रतिवेदनको आधारमा समायोजन गरिनुपर्ने देखियो भने कार्यपालिकामा लगिन्छ ।’, उनले भने, ‘अहिले समय सापेक्ष रूपमा कर बढाइएको छ ।’

राजनीतिक दल र उद्योग वाणिज्य संघहरूले सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंमाथि १५ आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस् :