NTC App - Ad

मुलुकलाई गम्भीर दुर्घटनाबाट बचाउन नेपाली युवा पलायन हुनु भएन

– राजकुमार श्रेष्ठ, आधुनिक कृषि अभियान्ता (संविधान सभा (२०६४) सदस्य)

नेपालको राजनीति तथा आर्थिक रुपान्तणको उद्देश्य लिएर तत्कालीन् सशस्त्र आन्दोलनमा होमिएका राजकुमार श्रेष्ठ कृषिप्रधान देश नेपाललाई कृषि क्रान्तिबाटै सम्पन्न बनाउने सपना देखिर कृषि उद्यममा क्रियाशील रहेका छन् । पहिलो संविधान सभामा सिन्धुपाल्चोकबाट जनप्रतिनित्व गरेका उनी दोश्रो संविधान सभाको निर्वाचनमा भाग लिनुको सट्टा उदाहरणीय कृषि परियोजना सञ्चालन गरेर आमकृषकलाई यहिमार्ग डोर्याउन र राजनीतिमा कृषि नीतिलाई महत्व दिने गरी कुटो कोदालो लिएर कृषि परियोजना सञ्चालन गर्न पुगेयता यहि अभियानलाई निरन्तरता दिदै आएका छन् । प्रस्तुत छ : संविधान सभा सदस्य राजकुमार श्रेष्ठसँग तातोखबर डटकमका लागि कार्यकार्य सम्पादक लक्ष्मण बजगाईले गरेको कुराकानीको सम्पादित अंश :
सक्रीय राजनीति गर्दै आउनुभएको एउटा राजनीतिकर्मी कृषि उद्यमलाई महत्व दिएर उत्पादनतिर होम्मिनु भएको छ, भाषण गर्नु पर्ने नेता कृषि उद्यममा खटिदा जनजीवनमा कस्तो सन्देश गएको पाउनु भएको छ ?

राजनीति गर्ने ब्यक्तिले भाषण मात्रै गरेर हुदैन । जनताले बुझ्ने गरी नेतृत्वको आभाष दिलाउनु पर्छ । नेपालको अर्थतन्त्र यतिबेला खाली विप्रेषण र विदेशी उपभोग्य वस्तुको आयातबाट उठ्ने करमा मात्रै निर्भर छ । यसो हुदा कुनै बेला विदेशी वस्तु आयातमा कठिनाई पर्नु र विश्व श्रमबजारमा समस्या देखिएर नेपाली श्रमिकले विप्रेषण पठाउन नसक्ने अवस्था आयो भने देश गम्भीर सङ्कटमा पर्न सक्छ । नेताले गर्ने भाषणबाट जनता पनि दिक्क भईसकेका छन् र नेताले गर्ने भाषणमा विश्वास गर्न पनि नसक्ने अवस्था आईसकेको छ । त्यहि भएर नेतादेखि जनतासम्म सबै नेपाली जनशक्ति उत्पादनको दिशामा जुट्नु पर्ने आवश्यकता छ । त्यहि भएर मलाई के लाग्छ भने स्वतन्त्रतापूर्वक देशलाई अगाडि बढाउनु छ भने देश आत्मनिर्भर हुनु पर्छ र उत्पादनमूखी राज्यव्यवस्था हुनु जरुरी छ । यस्ता उत्पादनबाट आत्मनिर्भर बन्दै विश्व बजारमा निर्यात गरेर देशको आम्दानीको श्रोत बनाउनु सक्नु पर्छ अर्थतन्त्रमा सुधार ल्याउनु पर्छ भन्ने आशयले मैले उत्पादनलाई राजनीतिको श्रोतको रुपमा अभ्यास गर्दै आईरहेको छु । मैले राजनीतिबाट पलायन भएको होइन भन्ने प्रष्ट पार्न चाहन्छु ।

अहिले राजनीतिमा चरम उतारचढाव देखिएको छ, यो गतिविधिले देशको उत्पादन क्षेत्रमा कस्तो प्रभाव पारेको छ ? यहाँको बुझाई के छ ?

राजनीति भनेको नै राज्यको नीति हो यो नीतिले देशमा उत्पादन क्षेत्रलाई ब्यापक विस्तार गरिनु पथ्र्यो त्यसो गरिएको छैन । अहिलेको राजनीति भनेको सरकार टिकाउने र सरकार ढाल्ने प्रबृत्तिमा केन्द्रित छ र यसले देशको उत्पादन तथा विकासलाई प्राथमिकतामा राख्न सक्दैन । युवाहरु देशमा केही गर्न सक्ने अवस्थामा छैनन् र परदेशिएर जान थालेका छन् । यो क्रम बढ्दो छ । देशबाट युवा शक्ति पलायन हुनु भनेको मुलुकका लागि ठूलो दूर्भाग्य हो । श्रम गर्न शक्ति र क्षमता देशमा नै लगानी गर्ने अवसर दिइनु पथ्र्यो युवा शक्तिलाई ।

Advertisement:
युवा शक्ति देशमा रोक्न राज्यको ध्यान पुग्न किन नसकेको हो र युृवा शक्ति देशमा रोक्न के कस्तो विकल्प अपनाउन सकिएला ?

युवाहरुलाई देशमा रोक्न उत्पादनजन्य गतिविधिमा जोड्न सक्नु पर्छ । ठूला उद्योग तथा कलकारखाना सञ्चालनमा ल्याउन सकिनए भनेर उद्यमशीलता ठप्प पारेर युवा नै पलायन गराउने नीति अपनाउनुको सट्टा राज्यसँग भएका श्रोत र साधनमा आधारित उद्यमहरुको विकास गरिनु पर्छ । साना र सक्ष्म उद्यमशीलताबाट अभ्यास र श्रोत व्यवस्थापन गर्दै ठूलो उद्योगमा प्रवेश गर्न सक्ने सम्भावनाहरु देखिन्छन् । विश्वका विकसित मुलुकहरको विकास यसैगरी भएका छन् । नेपालका उतपादनप्रदायक जग्गा जमीन खेर जान दिनु भएन । बाँझो बन्दै गएका जग्गा जमीनहरुको अधिकतम उपयोग गर्न सक्ने नीति तथा कार्यविधीहरु अपनाईनु पर्दछ । अहिले हामी गाउँघर तिर गयौं भने अधिकांश जग्गा जमीनहरु बाँझो रहने र विस्तार जङ्गलमा परिणत हुने अवस्था छ । त्यस्तो जग्गा जमीनहरुलाई जङ्गलमा रुपान्तरण गर्नुको सट्टा नयाँ विकल्पका साथ उपयोग गर्न सरकार र सरोकारवालाहरुको ध्यान जानु पर्दछ । विदेश जाने मनस्थितिमा रहेका युवाहरुलाई त्यस्तै परियोजनाहरुमा आकर्षित गरेर स्वदेशमा नै रोजगारको अवसर सृजना गर्न सक्नु पर्छ ।

यहाँले भन्न खोज्नु भएको अहिलेको राजनीति त्यो दिशामा अगाडि बढेको छैन ?

हो, अहिलेको राजनीतिक प्रबृत्ति यस्तो अवधारणा र विचारबाट पर छ । राजनीति यस्तो विषयमा केन्द्रित छैन र त्यो बाटो राजनीतिले देखाईरहेको छैन । अहिलेको राजनीतिक प्रणाली जसरी भएपनि मुलुकलाई परनिर्भर बनाउने दिशातिर गईहेको छ र राजनेता र कुनै पनि राजनीतिकर्मी सच्चिन ढिलो गर्नु हुदैन । त्यसैले म के भन्छु भने मुलुकलाई परनिर्भरतामा लैजाने राजनीतिलाई आत्मनिर्भरतामा केन्द्रित गर्न अहिलेको नेतृत्व तयार रहनु पर्छ ।

अहिलेको युवामा देशमा बसेर केही गर्न सकिदैन भन्ने मनोविज्ञानलाई राजनीति प्रणालीले सम्बोधन गर्न सक्ला ?

वर्तमान अवस्थामा स्वदेशमा बसेर भविष्य बनाउन सकिदैन भन्ने मनस्थितिलाई राजनीतिले सम्बोधन गर्न सक्नै पर्छ । त्यसो गर्न सकिएन भने देश गम्भीर सङ्कटमा फस्न सक्छ । अहिलेकै प्रबृत्तिअनुसार राजनीति चल्ने हो भने देश ठूलो दूर्घटना जान सक्छ । त्यसैले वर्तमान राज्यशक्तिले सचेत हुन जरुरी छ, राजनीतिक अवस्था सुधार गरिहाल्नु पर्छ । श्रमका लागि खाडी, मलेशिया र अन्य देशमा पुगेका नेपाली श्रमिकहरुले मासिक रुपमा धेरै ठूलो आम्दानी गरे त्यहि ५०–६० हजार रुपैया हुन सक्ला । सरदर ४०–५० हजार रुपैया मासिक आम्दानी गर्न जाने श्रमिकहरुको मासिक बचत २०–३० हजार रुपैया हुन सक्छ । त्यति कमाउन विदेश जानु परेको छ, परिवार छोडको छ, घरबार छोडेको छ, विदेशबाट पैसा पठाएर गाउँको जग्गा जमीन बाँझो छोडेर परिवार शहरमा डेरा लिएर राखेका छन् । उनीहरुको शहरमा बसेका परिवारका लागि सबै कुरा किनेर खानु पर्ने बाध्यता हुन्छ । त्यो अवस्थाको अन्त्य गर्नको निमित्त गर्न युवाहरुलाई यहि देशमा भविष्य देखाउन सक्नु पर्छ । मासिक ३०–४० हजार रुपैया कमाउन उनीहरुले २ लाखदेखि १५ लाख रुपैयासम्म लगानी गरेको तथ्याङ्कहरु सार्वजनिक हुने गरेका छन् । त्यो लगानीको साँवा ब्याज तिर्दा उनीहरुले विदेशमा कमाएको पैसा पर्याप्त हुदैन । हो, यहि परिस्थितिमा परिवर्तन ल्याउन हामीले कृषिलाई नयाँ ढङ्गले अपनाउनु पर्दछ । कम लागतमा बढी उत्पादन लिने किसिमको कृषिका विकल्पहरु अपनाउन पर्ने हुन्छ । यसका लागि कृषि उत्पादनका अत्याधुनिक प्रविधि र उपकरणहरु प्रयोगमा ल्याईनु पर्छ । कृषि उत्पादनका लागि मल, विषादी तथा विउलगायतका कृषि सामाग्रीहरु पनि स्वदेशमा नै उत्पादन गर्ने आधार निर्माण गर्नु पर्छ । अझ अर्गानिक कृषि उत्पादनमा हामीले जोड दिनु आवश्यक छ । यसका लागि हामीले स्थानीय कच्चापदार्थको प्रयोग गर्न सकिन्छ । म आफैंले पनि यस किसिमको अभ्यास गर्दै आईरहेको छु ।

हाम्रा पाठकहरु महानुभावहरुको पनि चासोे रहेको छ की नेता राजकुमार श्रेष्ठ एउटा राजनीतिकर्मी र व्यावसायिक कृषक पनि हुनुहुन्छ, कृषकहरुको आर्थिक विकास र जीवनशैली फेरिएको हेर्न चाहने नेताको पहिचानमा आउनु भएको छ, यहाँले नेतृत्व गरेर पहिलो संविधान सभामा काम पनि गर्नु भयो । त्यतिबेला कृषि व्यवसाय र कृषकको हित हुने किसिमको नीति लिने विषयमा के कस्तो पहल गर्नु भयो ?

जति बेला मैले नेतृत्व गरेर प्रतिनिधि मूलक संस्था संविधान सभामा सहभागी भएको थिएँ त्यो बेला राज्यको नीति निर्माण गर्ने मूल कानून संविधान निर्माण गर्ने जिम्मेवारी मात्रै हामीमा थियो । संविधान निर्माण नभई राज्यको नीति निर्माण गर्ने अधिकार थिएन । २०७२ सालमा जारी भएको संविधानले राज्यको नीति बनाउने अधिकार दिएको थियो । त्यति बेला म नीति निर्माण गर्ने स्थानमा रहने मौका पाएको छैन ।

राजनीतिलाई पछाडि राखेर कृषि उत्पादनलाई अगाडि बढाउने दौडानमा लाग्नु भएको छ, व्यावसायिक कृषिमा नै अभ्यास र अनुभव हासिल गर्दै आउनुभएको छ, यो विषयमा थप जानकारी गराईदिनुहोस् न ?

राजनीतिबाट पछाडि हटेको वा अगाडि बढेको भन्ने कुरालाई मैले कसरी बुझ्ने गरेको छु भने पदमा हुदा राजनीति गरेको मनिने पदमा नहुदा राजनीति नगरेको मान्नु हुदैन । मैले जुन किसिमको राजनीति अभ्यास गरिरहेको छु यो नयाँ राजनीति विकल्प हो । मैले यो नै नयाँ शैलीको राजनीति गर्न खोजेको हो । म राजनीति गर्न जनतासँग जुन बाचा गरेर आएको थिएँ त्यो बाचा गर्न प्रचलित राजनीति शैलेबाट नहुने देखेपछि मैले उत्पादनमा आमूल क्रान्ति आवश्यक देखेँ । नेताले किसान र मजदूरहरुको हितमा काम गर्नु पर्छ, अरु देशको दलाली गर्नु पर्ने बाध्यताबाट मुक्त हुनु पर्छ नेपाली राजनेता । अरुदेशले उपभोग्य वस्तु नेपाललाई दिएनन् भने नेपालीहरु भोक भोकै मर्नु नपरोस्, देशलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने अठोट लिएर राजनीतिा होमिएको मान्छे म । जल, जमीन, जङ्गलको अत्याधिक श्रोत भएको देशमा त्यस्ता श्रोतहरुको उपययोग गर्न नेपालमा भएको जनशक्ति पनि परिचालन गर्न सक्नु पर्छ मान्यता राखेर राजनीतिको आधार निर्माण गर्दै आएको छु । कृषकहरुको जीनवस्तर उकास्न विभिन्न विकल्पहरु हुन सक्छन् । तयसको खोजिनु पर्दछ । कृषिप्रधान देशमा कृषि क्रान्ति आवश्यक छ र यसलाई वैज्ञानिक ढङ्गबाट सञ्चालनमा ल्याउन सक्नु पर्छ भन्ने मान्याताका साथ मैले विभिन्न प्रकारका कृषि परियोजानाहरु सञ्चालनमा ल्याउन शुरु गरेको हुँ ।

यहाँले आफ्नै एकल प्रयासमा आफैं खटिएर, आफैंले जनशक्ति परिचालन गरेर, आफैं खेतीमा भिडेर कृषि परियोजनाहरु सञ्चालन गर्दै आउनु भएको छ, के कस्ता कृषि उपजहरु उत्पादन र बजार व्यवस्थापन गर्दै आउनु भएको छ ?

मैले आफ्नो कृषि परियोजनाबाट विभिन्न प्रकृतिका कृषि उपजहरु उत्पादन हुदै आएको भए पनि विशेषगरी कफी उत्पादन प्राथमिकतामा रहेको छ । कफी खेती गर्न छहारी चाहिने भएकोले छाहारीका लागि एभोकाडो रोपिएको छ । केराले पनि कफीका लागि चाहिने छाहारी दिन सक्छ । केरा र कागतीहरु पनि लगाईएका छन् कफी खेती गरिएको फार्ममा । नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्री हुने भएकोले नेपालमा विश्वबजारमा लैजाने नेपाली उत्पादका रुपमा लिनु पर्दछ भन्ने मेरो मान्यता हो । नेपालभित्रै नेपाली कफीको माग उच्च २ हजारभन्दा बढी मेट्रिक टन कर्फी बजारमा माग भए पनि नेपालको उत्पादन ६ सयदेखि ८ सय टनभन्दा बढी भएको पाईएन । माग बढी तर उत्पादन कम भएको अवस्थामा कफी खेतीका लागि नेपालका ग्रामीण भेगमा जमीनको कमी छैन । यसले के देखाउँछ बने नेपाली कफीको बजारका लागि चिन्ता लिनु पर्ने स्थिति छैन । मैले सञ्चालन गरेको कृषि परियोजनाबाट भर्खरैबाट कफी उत्पादन हुन शुरु भएको छ । जुन परिमाणमा कफी उत्पादन भएको छ त्यसको बाह्य बजारको परीक्षणका लागि पोल्याण्डमा पठाएको थिएँ । त्यो कर्फी पोल्याण्डमा अग्र्यानिक कफीको रुपमा प्रमाणित भएको छ ।

यहाँ सञ्चालन गर्नु भएको कृषि परियोजनालाई हेर्दा नेपालका बाँझो छाडिएका जमीनबाट अधिकतम् लाभ लिन सकिने सम्भावना प्रबल छ भनेर बुझ्न सकिन्छ ?

अत्याधिक सम्भावना छ । कृषिको बहुआयामिक विकल्पहरु छन् । बाँझो छाडिएका जमीनहरुको भौगौलिक संरचना र श्रोत व्यवस्थापनको सम्भावना हेरेर पुन उपयोग गर्न विभिन्न विकल्प अपनाउन सकिन्छ । कुनै ठाउँ जीराको खेती हुन सक्छ, कुनै ठाउँमा अन्य प्रकारका मसलाको खेती हुन सक्छ । कुनै ठाउँमा फलफूल खेती हुन सक्छ । उच्च मूल्यमा बजारमा बेच्न सकिने कृषि उपजहरु कम लगानीबाट लिन सकिने उदाहरणहरुलाई हामीले राम्ररी बुझ्न जरुरी छ ।

आर्थिक लगानी गर्न नसकेर जमीन बाँझो छोड्न बाध्य भएका कृषकहरुलाई यहाँको कस्तो सुझाव छ ?

त्यस्ता कृषकहरुलाई लक्षित गरेर सरकारले सरल कर्जाको चर्चा गरिरहेको छ । त्यस्तो कर्जा कमजोर आर्थिक अवस्था भएका कृषकहरुले पाउन कठिन छ । त्यस्तो कर्जाहरु सरकारको पहुँचमा पुगेका वर्गले हात पार्ने गरेका छन् । त्यस्तो सहयोगको आशा नगरी इच्छा शक्ति बढाएर कमजोर आर्थिक अवस्था भएका कृषकहरुले सानो र आफूले गर्न सक्ने क्षमताको परिमाणमा लगानी जटाएर कृषि उत्पादनका कृयाकलापहरु सञ्चालन गर्न उत्साहित हुनु पर्दछ । म आफूले पनि त्यसैगरी सानु उद्यमबाट कृषि परियोजना सञ्चालनको प्रकृया अगाडि बढाएको हुँ । राजनीति नेतृत्वमा रहेका ब्यक्तिहरुबाट सहयोग लिएर मैले कहिल्यै कृषि कार्यक्रम सञ्चालन गरिन । सानो लगानीबाट शुरु गरेको कामलाई ठूलो बनाउन अभ्यास र अनुभव बढ्दै जान्छ । सानु गर्दा काम गर्ने तरिकाहरु सिक्दै गईन्छ । बालीनालीमा लाग्ने रोग र किराहरुको निवारणको ज्ञान बढ्दै जान्छ र त्यसलाई विकास गर्न सहज हुन्छ ।

कृषि प्रविधिमा यहाँले स्वतन्त्र रुपमा अध्ययन गर्दै एउटा व्यावसायिक प्राविधिक सरह काम गर्दै आउनु भएको छ । यहाँले कृषि प्रविधिको व्यावहारिकतामा कस्तो अध्ययन गर्नु भएको छ यो पनि बताई दिनुहोस् न ?

जब मैले कृषि परियोजना सञ्चालन शुरु गरेँ त्यसपछि मैले के कस्ता कृषि औजार उपकरणहरुको आवश्यकता देखिन्छ त्यस्ता उपकरणलाई आधुनिक बनाउन के गर्न सकिएला भनेर सोच्न शुरु गरेँ । त्यसैगरी कृषि सामाग्री बजारबाट सहज रुपमा उपलब्ध हुन नसकेको अवस्थामा के कस्ता विकल्पहरु अपनाउन सकिन्छ ? त्यस्ता विषयमा पनि मेरो ध्यानाकर्षण हुदै गयो । विशेष गरी सामान्य प्रयोगमा आउने कृषि औजारहरुलाई केही परिर्माजन गरी बढी सहज बनाउन सकिने अवस्थामा सुधार गर्ने र जैविक मल र विषादी बनाउने काममा मेरो लगशीलता बढेर गएको छ । हाम्रै कृषि परियोजना सञ्चालनस्थलमा उत्पादन गरी जैविक मल तथा जैविक विषादी उत्पादन गर्न सकिन्छ । बेसार, अदुवा, प्याज, लसुनसँग गाउँ घरमा उत्पादन गरिने कोदोको रक्सि मिश्रणको प्रयोग गरेर त्यस्ता जैविक विषादी बनाउन सकिन्छ । त्यो ढङ्बाट उत्पादन गर्न हामीलाई सहज हुन्छ । खर्च कम आउँछ र पैसाको बचत हुन्छ । गाई वस्तु पालेर मल बोकाएर बाली नाली लगाउने खेत बारीसम्म पुर्याउन कठिन हुने भएकोले त्यसका लागि झोल मल बनाउन सकिने विकल्पहरु छन् । एउटा कृषकले आफ्नो १० रोपनी क्षेत्रफल रहेको जमीनमा चाहिने मल व्यवस्था गर्न बाख«ा पालन गरेर बाख«ाको बड्कुला र मूत्रबाट वर्षभरी खेती गर्न पुग्ने झोल मल उत्पादन गर्न सक्छ । थोरै मलले धेरै जमीनमा खेती गरियो भने कम लागतमा बढी लाभ लिने कृषि परियोजना सञ्चालन गर्न सक्छौं । मैले यस्तो झोल मल उत्पादन गरेर प्रयोग गर्दै सफल भएको अनुभूति भएको छ र यसलाई ल्याब परीक्षण गर्ने प्रकृया पनि अगाडि बढाईरहेको छु ।

विभिन्न तहका सरकारले कृषि प्राविधिक उत्पादन गर्नका लागि लगानी बढाएको देखिन्छ, त्यो कतिको प्रभावकारी भएको ठान्नु भएको छ ?

कृषि प्राविधिकका लागि विद्यालय तथा विश्व विद्यालयहरुले तयार पारेका पाठ्यक्रमले प्रमाणपत्र दिन सक्छ तर ब्यावसायिक प्राविधिक दिन दिन अर्को अभ्यासको खाँचो परेको देखिएको छ । यसका लागि त्यस्तो पाठ्यक्रम तयार पार्दा विद्यार्थीहरुले कृषि तथा पशुपालन फार्महरुमा नै गएर अभ्यास गर्ने किसिमको हुनु आवश्यक जस्तो मलाई लाग्छ । एउटा क्षेत्रमा भएको कृषि प्रणाली अर्को क्षेत्रमा हुन सक्दैन । अर्थात भुगोल र भौतिक संरचना तथा कृषि परियोजनाको आकार प्रकारकासाथै वस्तुगत अवस्थामा कृषि फार्म सञ्चालनमा आउने हुनाले त्यस्तो सैद्धान्तिक पाठ्यक्रलाई ब्यावसायिक पाठ्यक्रममा जोडेर अध्यापन गर्ने पद्दति आवश्यक रहेको मैले बुझेको छु ।

 

 

 

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :