प्रतिजैविक औषधिको उचित प्रयोगमा जोड

हेटौंडा–प्रतिजैविक औषधि (एन्टीबायोटिक) को उचित प्रयोग नगर्दा प्रतिजैविक प्रतिरोधका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको जनाइएको छ । मानिसले जैविक संक्रमणका बेला बढी औषधि प्रयोग र कम मात्राको प्रति जैविक औषधिको प्रयोग दुवै कारणबाट मृत्यु हुनेको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा मंगलबार हेटौंडामा विश्व प्रति जैविक प्रतिरोध सचेतना सप्ताहअन्तर्गत भएको अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुतीकरण दिँदै डा. सविता पौडेलले विश्वमा जैविक संक्रमणबाट प्रतिमिनेट ३ जनाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरिन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई उदृत गर्दै डा. पौडेलले जैविक संक्रमणका कारण विश्वमा वार्षिक करिब ७ लाख जनाको मृत्यु हुने गरेको बताइन् ।

Advertisement:

मानिसले जथाभावी रुपमा प्रतिजैविक औषधिको प्रयोग गर्नुका साथै मासु, दूध र अण्डाका लागि पालिएका पशुपंक्षीमा प्रयोग गरिएका अत्याधिक प्रतिजैविक औषधिका कारण मानिसमा प्रतिजैविक प्रतिरोधको समस्या बढ्दै गएको जनाइएको छ । जिवाणु नष्ट गर्नका लागि बनाइएका प्रतिजैविक औषधि (एन्टीबायोटिक) विरुद्ध पनि जिवाणुले प्रतिरोध गर्न थालेको भन्दै जैविक संक्रमणबाट बच्नु नै उत्तम विकल्प भएको कार्यक्रममा बताइएको थियो । प्रस्तुतीकरणमा डा. पौडेलले विश्व स्वास्थ्य संगठनको विश्वब्यापी कार्य योजना, राष्ट्रिय कार्ययोजना, जैविकीय संक्रमण हुनबाट बच्न अपनाउनुपर्ने विधिलगायतको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका डा. बिमोचन पौडेलले पशुपंक्षीमा प्रयोग हुने प्रतिजैविक औषधिका कारण त्यसले मानिसमा पनि असर गरिरहेको बताए । अत्याधिक मात्रामा प्रतिजैविक औषधि प्रयोग गरिएका पशुपंक्षीको मासु, अण्डा, दूध मानिसले सेवन गर्दा मानिसमा प्रत्यक्ष असर पुगिरहेको उनले बताए । पुशपंक्षीमा प्रतिजैविक ओषधि प्रयोग गरेको निश्चित समयपछि मात्र मासु र दूध प्रयोग गर्न मिल्ने भएता पनि त्यसको निगरानी र नियन्त्रण नहुँदा पशुबाट मानवमा जैविक संक्रमण प्रतिरोधात्मक क्षमता घट्ने गरेको डा. पौडेलले बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, औषधि व्यवसायी, पत्रकारलगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :