
काठमाडौँ, २४ भदौ / विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा विभिन्न अन्तर्कृया तथा बहसका कार्यक्रमहरु आयोजना गरिएका छन् । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिदै यस्ता कार्यक्रमहरुको आयोजना गरेका हुन् ।
आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइएको छ ।
मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् । आत्महत्याका घटना बढेपछि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उनको भनाइ रहेको छ ।
नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहेको र पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका बताईन्छ । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो । नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायत आत्महत्याका घटना बढ्दो क्रममा रहेको भन्दै आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उनको सुझाव छ ।
प्राप्त तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए । विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९÷८० मा सो सङ्ख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सकहरु बताउँछन् । अझ कोभिड–१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो । त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
मनोविद् डा ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउछन् । परिवार वा सम्बद्ध अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ ।