NTC - FTTH

देशमा सबै पक्ष नकारात्मक मात्रै छैनन्, सकारात्मकत परिवर्तन संघर्षशील छ

Meri Uni Lai - Global IME Bank

डा. निर्मलमणी अधिकारी, प्रमूख : आमसञ्चार तथा भाषा विभाग, काठमाडौं विश्वविद्यालय

 नेपाल अनेक सम्भावनाले विशाल भएको तथ्यलाई नजिकबाट नियालेर यहाँ भएका खरावीको जरोकिलो उखेल्ने अभियानमा लाग्नु भएका डा. निर्मलमणी अधिकारी काठमाडौं विश्वविद्यालयका आमसञ्चार तथा भाषा विभागका प्रमूख हुनुहुन्छ । देशको वस्तुगत परिस्थितिमा आधारित रहेर अध्ययन तथा अनुसन्धान गरी झण्डै ५ दर्जन पुस्तक लेखेर आमनेपाली पाठकमाझ ल्याईसक्नु भएका डा. अधिकारी नेपालमा आएको पराय विचारको प्रभाव र नेपालको राजनीतिलाई पराय विचारले कोपर्न थालेपछि नेपाली रैथाने मौलिकतामा निकै ठूलो प्रहार हुदै आएको ठान्दै आउनु भएको छ । त्यति मात्रै नभएर नेपालबाट वैदेशिक शिक्षाको नाममा देशको मुद्रासहित बाहिरिदै गएका युवाहरुको पलायनले देशको भविष्य कता जाने हो भन्ने चिन्तामा पनि उहाँ चुलुम्म डुब्न पुग्नभएको छ । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर तातोखबर डटकमका कार्यकारी सम्पादक लक्ष्मण बजगाईद्वारा डा. निर्मलमणी अधिकारीसँग गरिएको कुराकानी :

नेपालमा राजनीतिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा अत्यन्त असन्तुलन र बिकार देखा परेका छन्् । जरोकिलो जस्तो महाअभियानको स्अध्यक्षता गरेको नाताले यहाँको धारणा के छ ? किन यो यो जरोकिलो महाअभियान आवश्यकता परेको हो ?

नेपालमा हामी जन्मिएपछि एउटा नागरिकको हैसियत देशको रक्षा गर्नु र उन्नतिका लागि क्रियाशील रहनु हाम्रो एउटा कर्तव्य हो । ब्यक्ति र परिवारको व्यवस्थापन गर्नु त अपरिहार्य छ नै त्यसबाहेक पनि आफ्नो मातृभूमीप्रतिको कर्तव्य पालना गर्नु पनि उतिकै आवश्यक हुन्छ । हामी राष्ट्रलाई आमा मान्ने संस्कृतिमा जन्मिएका कारणले हामीले देशप्रतिको दायित्व भुल्न सक्दैनौं । आफ्नो अध्ययन, अनुसन्धान र साधनाबाट ब्यक्तिगत जीवनसँगै राष्ट्रको जीवनलाई पनि सुखद बनाउन मैले आफ्नो ठाउँबाट जे जति सकेको गतिविधि गर्दै आईरहेको छु । २०७२ सालदेखि जरोकिलो महाअभियानको संस्थागत संरचनामा रहेर ४ बटा विषयमा हामीले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छौं । धर्म, संस्कार र सभ्यताका क्षेत्रमा हामीले पहिलो कार्यलाई अगाडि बढाईरहेका छौं । त्यसैगरी भाषा, कला, शिक्षा र सीपको विकासमा आवश्यक कदम चलाईरहेका छौं । अर्थतन्त्र, उद्यमशीलता र यसलाई पक्षपोषण हुने नीति निर्माणका काममा पनि हामीले यहि जरोकिलो महाअभियानलाई समर्पित गरेका छौं जुन अर्थ नीति, कृषि विकासको नीति र वन पैदावारका नीतिहरु हामीले अपनाउदै आएका छौं । यो महाअभियानभित्र विचारधारामा आधारित राज्यतन्त्र सुधारका लागि सम्बन्धित निकायलाई घच्घच्याउने काम गरेका छौं । त्यस्तै विचार धारामा आभारित झण्डै १ दर्जन जति संस्थाहरु पनि हामीले सक्रीयतासाथ सञ्चालन गरिहेका छौं । यसले विभिन्न क्षेत्रमा आवश्यकताअनुसार कामहरु गरिरहेका छन् । विश्वविद्यालयको प्राज्ञिक भूमिकामा रहेर विभिन्न पाठ्यक्रम विकास गर्ने कार्यमा पनि हाम्रो संलग्नता रहेको छ । नेपालको भौलिकता, नेपालको विशेषता, नेपालको शक्तिलाई यहाँको समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने बारेमा हाम्रो यो महाअभियान केन्द्रित छ ।

Advertisement:

यो अभियानको कल्पनाका लागि प्रेरणाको श्रोत चाँहिं के हो ?

मेरा पिताजी वैदिक वाङ्मयको नेपाली संस्कृतिको विद्वान, शिक्षासेवी गुरुको रुपमा चिनिनुहुन्थ्यो र मलाई यस किसिमको महाअभियानको परिकल्पना गर्नुमा उहाँँकै प्रेरणा हो । सन्तान हुनुको नाताले म उहाँबाट प्राप्त पे्ररणाले पनि मुलुकप्रतिको कर्तव्यबाट विमूख हुन सकिन । बाल्यकालमा छँदा नै ‘परिवार, समाज, राष्ट्र र विश्वमै कल्याण हुन सक्ने काममा पनि ध्यान दिनु पर्छ’ भन्ने मलाई चेतना प्राप्त भयो । यही विषयमा साहित्यिक र सामाजिक गतिविधिहरुमा अगाडि बढ्ने क्रममा कविवर भानुभक्त पोखरेलसँग भएको भेट पनि निकै महत्वपूर्ण हुन सक्यो । हामीले शुरुमा तरङ्ग साहित्यिक अभियान चलाएका थियौं । त्यहि समयमा नेपाली भाषा र संस्कृति सम्बद्र्धनमा हाम्रो लगनशीलता थियो । स्नातकोत्तर तहको अभ्ययन गर्ने क्रममा नै हामीले त्यो अभियान अगाडि बढायौं । कविवर मुकुन्द शर्मालगायतका साथीहरुको एउटा सङ्गठन नै निर्माण गरेर हामीले आफ्नो अभियानलाई निरन्तरता दिदै गयौं । स्नातकोत्तर तहभन्दा माथीको अध्ययन र अनुन्सधान गर्ने प्रकृयामा नेपालमा ब्याप्त समस्याको समाधान गर्ने प्रतिकात्मक गतिविधिमा नेपालको सामाजिक अवस्था के हो ? यहाँ सांस्कृतिक अवस्था कस्तो हो, यहाँको मानवीय सभ्यता कुन किसिमको हो ? राजनीतिक विकासक्रम कस्तो थियो ? यहाँका अर्थतन्त्र कुन रुपमा अगाडि बढ्दै थियो ? भन्ने विषयमा गहन अनुसन्धान गरियो । यस सन्दर्भमा सहृदयता दर्शन, स्थितिगत्यात्मक प्रगतिवाद, राज्य–राष्ट्रको अवधारणा र सिद्धान्त, युगद्रष्टाको सङ्ल्प र वैज्ञानिक सत्ययुगको आधारशीला जस्तो विषयमा अनुसन्धान गरी हामी यसको निष्कर्षमा पुग्यौं । यो निष्कर्षलाई हामीले आफूसँगै मात्र राखेर भएन, यसलाई सार्वजनिक गर्न एउटा आव्हान गरियो । विभिन्न कृतिहरु पनि रचना गरेका थियौंं । जसमा हामीले विज्ञानको बृत्ति, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्मान जस्ता यी ४ कुराले अनुसन्धानलाई प्रभावकारी बनाउन सक्छ भनेर विभिन्न समूहसँग जोडिदै एउटा संस्थागत संरचना निर्माण भयो जुन जरोकिलो महाअभियान बनेर अहिले चालू अवस्थामा रहेको छ ।

वर्तमान अवस्थामा नेपाली समाज कुन दिशामा अगाडि बढिरहेको छ ? यहाँहरुले सञ्चालन गर्नु भएको महाअभियानले नेपाली समाजलाई कस्तो प्रभाव पार्न सक्ला ?

समाजको स्वरुपलाई हेर्दा हामीले सकारात्मक र नकारात्मक दुवै पक्षबाट हेर्नु पर्ने हुन्छ । पहिला नकारात्मक कोणबाट हेरौं । नेपालमा लामो समय यहाँको शिक्षा नीति, अर्थतन्त्र निर्माण, सांस्कृतिक पद्दतिलाई राज्य सञ्चालकहरुले पराई विचारधाराबाट प्रेरित भएर चलाएको देखियो । यसले गर्दा गाउँ, वस्ती र शहरमा सांस्कृतिक र धार्मिक बिचलन भएको अवस्था छ । सामाजिक सद्भाव असन्तुलन हुने अवस्था आएको छ । समग्र अर्थतन्त्रको कुरा गर्ने हो भने राज्यको आयश्रोतबाट सरकारी कर्मचारीहरु र राज्यको कामकाजमा खटिएका जनशक्ति र श्रोत व्यवस्थापनका साथै तलब–भत्ता वितरण गर्न नपुग्ने अवस्था आएको स्वयम् अर्थमन्त्रीकै स्वीकारोक्ति छ । श्रमको अवसरका लागि र गुणस्तरीय वैदेशिक शिक्षाका लागि भनेर यहाँका बलिया पाखुराहरु तीब्र रुपमा विदेशिएका छन् । यो क्रम अझ बढ्दै गरेको देखिन्छ । मुलुकले जानसाङ्ख्यिक लाभ लिन नसक्ने अवस्था सृजना भएको छ । देशबाट अवसरको अभावमा प्रतिभा र श्रम दुवै पलायन रोक्न नसकिने गरी बढेको छ । राजनीतिमा बिकृतिका कुरा, वेला बेलामा राज्यका शक्तिमा रहेका ब्यक्तिहरु नै विभिन्न काण्डहरुमा मुछिएर घृणा पैदा हुने खालका कुराहरु, सांस्कृतिक र सामाजिक अनि धार्मिक विकृतिका कुराहरु पनि समाजमा देखा परिरहेका छन् । भ्रष्टाचार र दण्डहिनताका कुराहरुले निकै ठूलो ठाउँ ओगटेका देख्दा अब मुलुक अझ पछाडि धकेलिएको हो की जस्तो लाग्छ । अर्को तर्फ सकारात्मक परिवर्तनका कुरालाई हेर्ने हो भने पछिल्लो समयमा विकास भएका प्रविधि र प्रणालीलाई परम्परागत शैलीसँग जोड्ने प्रयास गरिएको देखिन्छ । यस मानेमा हामीले नै अपनाउदै आएको कुरालाई हेरौं, हाम्रा पिता पूर्खाले हामीललाई दिएका कुरा के हुन् ? त्यसको खोजी गरेर आधुनिक शैलीसँग जोड्ने प्रयास भएका छन् । जो पराय विचार लिएर त्यसलाई अपनाउदै आफ्नो ठाउँ खोज्नेहरु छन् त्यो उनीहरुको कुरा उनीहरुकै ठाउँमा छोडौं । त्यसलाई छोडेर यहाँ मान्यता दिईदै आएको पक्षलाई हेर्ने हो भने जसलाई यो देशको माया छ, देशसँगै आफ्नो पहिचान जोगाउन खोज्नेहरुले देशको भाषा, कला, रीतिरिवाज र संस्कृतिको खोजी गरी संरक्षण गर्ने अभियानमा पनि जुटेको देखिन्छ । देशभरि गुरुकुलहरु २ सय वर्षयता आजको दिनमा नै प्रभावकारी ढङ्गबाट नेपालमा सञ्चालनमा आईरहेका छन् । गुम्बा, चैते र विहारमा रहेर आफ्नो बौद्ध परम्परा सिक्नेहरुको सङ्ख्या घटेको छैन । त्यसैगरी किराँत संस्कृति, बोन संस्कृति, जैन संस्कृति र प्रकृति पूजा संस्कृतिजस्ता मौलिक नेपाली पहिचान र सभ्यता झल्काउने संस्कृति प्रकाशमा ल्याउने अवसरहरु पनि जुरेको छ । दर्शनमा पनि नेपालको राजीतिक परिवर्तनमा लागेकाहरु माक्र्सवाद, लेनिनवाद, माओवादलगायत समाजवाद जस्ता अनेक अनेक वाद जस्ता पराई विचारधारा लिएर आउनेहरु धेरै थिए भने पछिल्लो समयमा त्यस्ता विचारधाराहरु नेपालीहरु पच्न छोडिसकेको जस्तो देखिन थालेको छ । पछिल्लो चरणमा वेदले के भनेको छ ? बौद्ध दर्शन के हो ? जैन संस्कृति कस्तो हो ? किराँती पद्दति कस्तो हो ? भन्ने विषयमा खोजी गर्नेहरुको सङ्ख्या पनि बढेर गएको देख्न सकिन्छ । यस्ता गतिविधिहरुलाई हेर्दा नेपालमा आजको मितिमा पुनर्जागरणको अवस्था आएको मान्न सकिन्छ । अहिले प्रचलनमा आएको आधुनिक इन्टरनेट सामाजिक सञ्जालमा हेर्ने हो भने यस्ता सामाग्रीहरु अनेक कोणबाट प्रस्तुत गर्ने गरिएको देख्न सकिन्छ । प्रकाशित कृतिहरु हेर्ने हो भने पनि ती संस्कृतिहरुको बारेमा ब्यापक खोज अनुसन्धानका निष्कर्सहरु पढ्न पाईन्छ । त्यसैगरी २ सय वर्षअघि देखि चलाउन छोडिएका जात्रा पर्वहरु विभिन्न अवसर पारेर पुनराबृत्ति गर्न थालिएको छ । यसरी हेर्दा नेपाल पुनर्जागरणतिर गईरहेको भन्ने कुरा प्रष्ट हुन्छ । युवा पुस्ताले पनि आफ्ना परम्पराहरु खोज्न थालेका छन् । एकातिर विकृति बढेर गएको देखिएता पनि विकृतिसँगै सुकृति पनि बढेर गएको छ । नेपालको सभ्यताको महानता, यो सबै हिमवत खण्डको महानता हो, यसलाई जोगाउन अहिलेको यो दुवै पक्षबाट हामीले सिक्नु पर्छ । यहि दुई वटा पक्षबीचको संघर्षले अब कस्तो समाज जन्माउँछ ? त्यसलाई हामीले राम्ररी हेर्नु पर्छ । यहाँका मौलिकताका पक्षधरहरुले अनुसन्धान गरेर बाहिर ल्याईएका विभिन्न नमूनाहरुलाई प्रभावकारी ढङ्गबाट अबको पुस्तालाई हस्तान्तरण गरिनु पर्दछ । यही कुरा राज्यतन्त्रसम्म पनि पु¥याउन सक्यो भने नेपाल फेरि जुरुक्कै उठ्न सक्ने परिस्थिति पनि देखा परेको छ । नेपाल संस्कृतिमा विश्वकै अग्रणी बन्न सक्ने अवसरको नजिक पनि छ । यसको तयारी नेपाली समाजमा नै रहेको छ ।

यसको मतलब, नेपालको समाज कम नकारात्मक र बढी सकारात्मक बन्दै गएको हो र ?

नेपाली समाज सकारात्मक दिशामा अगाडि बढेको देख्न सकिन्छ । त्यहाँभित्रको नकारात्मक पक्षलाई मात्रै हेरेर बसियो भने कता पुगिन्छ ? भन्न सकिदैन । शरीरमा लागेको घाउ राम्ररी नचिनीकन उपचार गर्न सकिदैन । कोठाभित्र भएको फोहोरलाई कार्पेटमुनी, गुन्द्रीमुनी छोपेर राखेर कोठा सफा भएको मानिदैन । त्यसैले विकृतिको पाटोलाई राम्ररी केलाउन सक्नु प¥यो, विकृतिलाई देखेर निराश हुने, बिकृत प्रबृत्ति हेर्दै कमजोर महशुस गरेर प्रतिकृयात्मक बनेर होइन की स्वकृयात्मक बनेर हाम्रो सभ्यता कायम राख्नु पर्छ । हजारौं वर्षदेखि हाम्रो सभ्यता सुन्दर छ भने यहाँभित्र कुनै पनि जीवन्त कुराहरु त पक्कै हुन सक्छन् । कस्तो खालको राजनीति हाम्रा पूर्खाहरुले गरेका थिए, कस्तो खालको अर्थनीति हाम्रा पुर्खाहरुले लिएका थिए, कस्तो खालको शिक्षा नीति हाम्रा पुर्खाहरुले लिएका थिए ? हाम्रो संस्कृति कस्तो हो ? यो कुरा आमनेपालीले मनन् गरेर अबको बाटो पहिल्याउनु पर्छ । आफ्ना मौलिक कुराहरुलाई आदर्श बनाउने र यसमा कमी भएका कुराहरु र विकसित प्रविधि र प्रणालीका कुराहरु विदेशीहरुबाट पनि लिन सक्नु पर्छ । हाम्रो मात्रै श्रोतले नपुग्ने अवस्थामा आफ्ुनो मुलुकको हितमा विदेशी लगानी जुटाएर पनि नयाँ काम गर्न सकिन्छ । यसो गरियो भने हामीलाई उन्नति गर्नमा उत्साह र मार्ग निर्देशन पनि प्राप्त गर्दछ । नत्र बिग्रिएर र भत्किएर ध्वस्त भएका कुराहरुलाई मात्रै खेलाएर बस्ने हो भने हामी अगाडि बढ्न सक्दैनौ । यसले हामीमा हीनताभाव पैदा गरिदिन्छ । यसले हामीलाई अधोगति तिर मात्रै लैजान्छ । त्यसैले यो जरोकिलो महाअभियान यहाँ भएका कमीकमजोरी र बिग्रिएका, भत्किएका कुराहरु जानकारीमा राखेर आफ्नो मुल प्रबृत्तिलाई स्वकृयात्मक बनाउने, हामीसँग भएको शक्ति, संशाधन र सीपका साथै विद्या अनि प्रविधि र श्रोत के के हुन सक्छन् ? हामीसँग के कस्ता सम्भावनाहरु रहेका छन् भनेर आमनेपालीहरुलाई दर्शाउने अभियान हो ।

तपाई विश्वविद्यालयको एउटा विभागकै जिम्मेवारीमा हुनुहुन्छ, विभिन्न अनुसन्धानलाई प्रयोग गर्ने अवसरसँग जोड्न सक्ने स्थानमा पनि हुनुहुन्छ । नेपालको वदलिदो सामाजिक विकासलाई नै आधार मानेर नेपालको शिक्षा नीतिमा सुधार ल्याउन सकिने विकल्पलाई कुन रुपमा हेरिरहनु भएको छ ?

नेपालको प्रचलित जुन शिक्षा नीति छ, राज्यतत्त्र र समाजको प्रबृत्तिभन्दा फरक छैन । नेपालले त राणा शासनको समयमा देव समशेरको प्रधानमन्त्री कालमा नै नेपाली विद्यार्थीहरु विद्यार्थीहरुलाई विदेश पढ्न पठाईएको थियो नी । नेपालमा विकास गर्नका लागि आवश्यक पर्ने प्रविधिको शिक्षा नेपाल भित्राउने उद्देश्यले विदेश पठाईएको थियो । नेपालका भौगर्भिक श्रोतहरु उत्खनन् र प्रशोधनका प्रविधिहरु त्यहाँबाट ल्याईएको थियो । त्यसका अलावा ढुवानी, सडक विस्तारलगायत अन्य विभिन्न आधुनिक यन्त्र निर्माण र उत्पादन गर्न सकिने सम्भावनालाई त्यति बेलाको सरकारले पनि हेरेको थियो । तर त्यति बेलाका तुलनामा अहिले नेपाली विद्यार्थीहरुको सङ्ख्या हेर्ने हो भने तुलना गर्नै मिल्दैन । सबै नेपाली विद्यार्थीहरु विदेश पढ्न जाने तयारीमा छन् । यसरी गएका विद्यार्थीहरुले विदेशको सीप, ज्ञान र प्रविधि नेपालमा भित्राउनका लागि भनेर जादै छैनन् । उनीहरु आफ्नो भविष्य उतै निर्धारण गर्ने र यहाँबाट टोपी फालेर, बढो हर्षका साथै परदेशिदै छन् । यहाँ रहदा ती विद्यार्थीहरु अवसरविहिन अवस्थामा कैदी बन्दी बनेको महशुस गरिएको पाईयो । पढेर पनि बेरोजगार बन्नका लागि नै हो भन्ने भान यहाका विद्यार्थीहरुलाई भईरहेको छ । विदेशमा धेरै ठूला अवसरहरु र सुखद् भविष्य भएको दृष्टि बृद्धि हुदै गएको छ । नेपाली विद्यार्थीहरु विदेशिएपछि उनीहरुको ब्यक्तिगत जीवनमा समृद्धि त आउन सक्छ । तर राष्ट्रको जीवनमा भने यसले ठूलो चोट दिनेछ । यहाँका प्रतिभावान र दक्षता हासिल गर्न सक्ने जनशक्ति पलायन हुँदा मुलुक तनावपूर्ण बन्न सक्छ । यसबाट हामीले के बुझ्न जुरुरी छ भने यहाँको शिक्षाले यहाँको माटो चिन्दैन । यहाँको भुगोल, यहाँको श्रोत, साधन र प्रविधिका साथै यहाँको सम्भावना चिनाउन सकेन । नेपालीलाई उद्यमशीलताईलाई विकास गर्न सिकाएनछ । यहाको भौतिक विषय वस्तुहरुमात्रै होइन की, यहाको समाज, महान् पूर्खा, महान् सभ्यता र श्रेष्ठताको वारेमा गौरव गर्न सक्ने आधार पनि हाम्रो प्रचलित शिक्षा प्रणालीले निर्माण गर्न सकेनछ । यहाँको शिक्षाले विद्यार्थीहरुलाई माटो देख्दा घिनाउने, तितेपाती जस्तो जडिबुटी नचिन्ने विदेशी औषधीलाई मान्यता दिने प्रबृति पनि यहाँको शिक्षाले विकास गरेको प्रबृत्ति हो । यस्तो प्रबृत्तिलाई सुधार गर्नु पर्छ भन्ने कुरा नउठेका होइनन् । छिमेकी देशमा हेर्ने हो भने पनि आफ्नो भाषाको माध्यममा पढ्नेहरु सफल छन् अर्काको भाषाको नक्कल गर्ने हो कमजोर देखिएका छन् । हाम्रो अहिलेको अवस्था पनि त्यहि हो । पछिल्लो समयमा नेपाल विग्रदै गयो भन्ने चिन्ता पनि बढेको देखिन्छ जनमानसमा भएको र यसमा शिक्षाको विशेष प्रभाव छ भन्ने सरोकारवालाहरुले गर्न थालेका छन् । त्यसमा पनि दुई किसिमका प्रबृत्ति नै देखिन्छ । एक थरिकाले सुधारका नाममा अभिभावकहरुले शोषण हुने गरी शैक्षिक व्यवसाय गर्ने र गरिबी बढाउने पक्ष पनि छन् भने अर्कोतिर रैथाने सीप, रैधाने श्रम र रैथाने श्रोतका साथै रैथाने ज्ञानमा आधारित शिक्षाको पनि विकास गर्नु पर्छ भन्ने चेतना पनि देखा पर्न थालेका छन् । यसँगै विदेशमा विकास भएका शैक्षिक प्रणालीलाई हेरेर यहाँको शिक्षामा परिर्तन ल्याउन सकिने सम्भावनालाई पनि विज्ञहरुले औंल्याउने गरेका छन् । झण्डै एक शताव्दिभित्र शिक्षामा देखिएको विषताले के देखाउँछ भने शिक्षा प्रणाली सहि दिशामा जान सक्दैन की भन्ने आशङ्का नबढेको होईन । यसको समाधान के हो ? भन्ने निष्कर्षमा शिक्षा क्षेत्रका अगुवाहरु पनि पुगेका छैनन् । यसमा अब विचार धाराको कुरा गर्नु पर्ने हुन्छ । जो पराई विचार धाराबाट प्रशिक्षित छ, उसको मन, विवेक र ध्यान नै पराई विचारमा केन्द्रित हुन्छ अनि उहि शिक्षा प्रणालीलाई डो¥याएर हिड्छ । उसले अझ विदेशी कुरा नै सिकेर देशमा भित्राउने जोड दिने गर्छ । जो मौलिकतामा विश्वास गर्छ, उसले हाम्रा कुरालाई विदेशी सहयोगमा अगाडि यहाँको वस्तुगत अवस्थालाई आधार मानेर शिक्षा नीति बनाउन पहल गर्न सक्छ । हामी विश्वसँग पनि व्यवहार गर्नु पर्ने बाध्यतामा रहेका कारण यहाँको शीक्षा प्रणालीलाई मौलिकता दिदै नपुगेका कुराहरु पनि सुहाउदो ढङ्गबाट समावेश गरी शीक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन सकिन्छ । नेपाली विद्यार्थीहरुको विचार र ज्ञान पहिला स्थानीय नै हुनु पर्छ । विश्व एउटै आँगनमा आईसकेको अवस्थामा अन्य देशको प्रभाव यहाँ बढेर गएको देख्दा यहाँका मौलिकता भोलीका दिनमा नहुने पनि चिन्ता छ ।

विश्व विद्यालयहरुले कस्तो खालको पाठ्यक्रम विकास गर्ने हो भने यहाका विद्यार्थीहरुलाई स्ददेशमा नै रोजगार एवं स्वरोजगारको अवसर सृजना गर्न सकिएला ?

नेपाली विद्यार्थीहरुलाई उद्यमीशील बनाउन र रोजगार एवं स्वरोजगार बननाउन कस्ता किसिमका पाठ्यक्रमको विकास गर्न विश्व विद्यालयहरुको ध्यान जानु पर्छ भन्ने विषयमा धेरै बहसहरु पनि हुने गरेका छन् । मैले म संलग्न भएको विश्व विद्यालयको तर्फबाट भन्नु पर्दा नेपालको भौगोलिक अवस्थिति, यहाँको संसाधन, श्रोत र शक्तिलाई अनि यहाँको संस्कृति र प्रकृतिमा आधारित रहेर विद्यार्थीहरुलाई पाठ्यक्रममार्फत जानकारी गराउने पहिलो कुरा हो भने विश्व कता गईरहेको छ र विकसित प्रविधि कुन रुपमा अगाडि आईरहेको छ ? त्यसलाई हेर्नु जरुरी छ । विकसित आधुनिक प्रविधि नेपालले बनाएको त होइन, हामीले प्रयोग गर्ने मात्रै हो । त्यहि प्रविधिमा पनि नेपाल वा नेपाल बाहिर बसेर कसरी हामी हाम्रो आयआर्जनसँग जोड्न सक्छौं ? यो वारेमा प्रसस्त अभ्यास र ज्ञानको खाँचो र यसलाई बृत्ति विकाससँग जोड्न सक्छौं भन्ने कुरा दोश्रो कुरा हो । त्यसैगरी तेश्रो कुरा के हो ? भने यहाँका विद्यार्थीहरुले सिकेको नयाँ प्रविधि र यहाँ भएका संशासनलाई जोडेर कसरी हामीले रोजगारीको अवसर सृजना गर्ने हो ? हाम्रो पाठ्यक्रम पुरा गरेका विद्यार्थीहरु कहाँ जागिर पाईला ? भनेर भौंतारिएर हिड्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्दछ । हाम्रो पाठ्यक्रम यस्तो हुनु पर्दछ की आफू स्वरोजगार भएर अरुलाई रोजगार कसरी दिन सक्षम हुन्छ ? भन्ने विषय पनि शैक्षिक पाठ्यक्रम भित्र पर्नु पर्छ । म आफूले नै पढाउने विषयवस्तुहरुलाई हेर्ने हो भने त्यहाँ भएका कतिपय विद्यार्थीहरु स्नातक तहको अध्ययन सक्ने वित्तिक्कै विदेशमा रहेका विश्व विद्यालयहरुमा छात्राबृत्ति र अन्य थप अनुसन्धानका लागि जान तयार भएका र गएका देखिन्छन् । विदेश नगएका विद्यार्थीहरुले आफैं रचनात्मक ढङ्गबाट स्वरोजगार बन्ने अभ्यास गरेका छन् भने कतिपय स्थापित नै बनिसकेका पनि छन् र कतिपय विभिन्न आमसञ्चार माध्यमहरुमा रोजगारी गरिरहेका पनि छन् । यसलाई यो सानो विद्यार्थीहरुले हासिल गरेको अवसरलाई र दक्षतालाई हेरेर मात्रै त भएन । त्यसैले हामीले त्यस्ता विषयमा सकारात्मक हस्तक्षेप गर्नु पर्ने स्थिति छ । यहाँको शैक्षिक पाठ्यक्रम पुरा गरेका विद्यार्थीहरुले स्वदेशमा रहदा पनि उत्पादकत्वका लागि सीप र ज्ञानसँग जोडिनु आवश्यक छ भने विदेशमा जाने विद्यार्थीहरुले पनि देशबाट ठूलो जनशक्ति विदेशमा पठाईदै छ, विदेश पठाईने जनशक्ति शक्ति जानेक्रम रोकिएको छैन, यसरी जाँदा एउटा सीपयुक्त, अनुभवी र दक्ष जनशक्ति बनेर मात्रै जानु पर्छ भन्ने मान्यता शैक्षिक पाठ्यक्रममा जोडिनु पर्दछ । यसमा एउटा ठूलो चुनौति पनि मैले देखेको छु । त्यो केहो भने नेपाली विद्यार्थीहरुमा ‘यो मेरो देश हो, हाम्रो देशप्रति मैले गौरव गर्नु पर्छ, हाम्रो कला, धर्म–सस्कार–संंस्कृति र सभ्यता महान् छ, हाम्रा पूर्खाहरु महान थिए र आज नेपाल छ भनेर परिवर्तन गर्नु पर्ने बाहेकका विषयमा स्थितिगत्यात्मक बनेर मुल रुपमा यसले हामीलाई श्रेष्ठता दिन्छ’ आदरभाव र सम्मान प्रकट गर्न नसकिनु एउटा ठूलो चुनौति देखिन्छ । यसो हुन सकेन भने यहाँबाट प्रतिभा पलायन रोकिदैन । आर्थिक समृद्धिले केही अंश विदेशिनबाट रोक्न सक्ला तर समग्रमा आर्थिक समृद्धि पनि नहुने, वेईलमी बस्नु पर्ने, अनि भविष्य पनि देख्न नसकिने, यहाँको राजनीतिलाई जहिले पनि संक्रममणकाल र अस्थिर भएकै कारण कहाँबाट यसको समाधान पाईएला भन्ने चिचन्ता विद्याथईहरुमा हुनु स्वभाविक हुन्छ । यसबाट प्रतिभा पलायन निश्चित छ । त्यसैले यहाँका शैक्षिक पाठ्यक्रममा सुधार आउनु जरुरी छ ।

जति पनि विद्यार्थीहरु उच्च शिक्षा हासिल गरिरहेका हुन्छन् उनीहरु वैदेशिक शिक्षातिर झुकाव राख्न थालेको देखिन्छ, नेपालका विद्यार्थीहरुका लागि वैदेशिक शिक्षामा नेपालको ठूलो लगानी भईसकेको पनि छ । वैदेशिक शिक्षा आर्जनका लागि विदेशिएकाहरु जुन देशमा गएका छन् त्यहि देशको स्थायी बासिन्दा बन्न लालाहित बन्ने गरेका छन् र धमाधम स्थायी बासिन्दाको अनुमति पनि प्राप्त गरिरहेका छन् अनि नेपालको सम्पत्ति पनि उतै लगिरहेका छन् । यसले देशको अर्थतन्त्रलाई कस्तो असर पार्ला ?

यो विषयलाई मैले दुई वटा कोणबाट हेर्ने गरेको छु । अति प्राचीन् कालदेखि नै मान्छेले बसाई सराई गर्ने गरेका छन् । यो मान्छेको स्वभाविक प्रबृत्ति नै हो । विगतका समाजमा मानिसहरु बसाई सराई गर्दा आफू बस्दै आएको ठाउँप्रति एउटा विनितभाव, स्नेह, प्रैम हुन्थ्यो र अर्को ठाउँमा बसाई सरेर गएपछि पनि फर्केर एकपल्ट आउने भावना देखाउँथे । तर अहिले त्यस्तो छैन । अहिले नेपालबाट विदेशिईनेहरु नेपालमा बसेर भविष्य देख्न सक्दैनन् । यहाबाट कतिवेला पलायन हुने होला ? महत्वाकांक्षा बढेर गईरहेको छ । अल्पकालीन श्रम गरेर आर्थिक उपार्जनका लागि विदेशिएका जनशक्तिहरुले यहाँ आफ्ना परिवारका लागि आफूले कमाएको सम्पत्ति पठाउँछन् तर धेरै जसो विदेश गएका युवाहरु नेपाल गएर भविष्य नदेख्ने अवस्थामा छन् । विश्व विद्यालयहरुको अध्यापनको अवस्था हेर्ने हो भने कहिले परीक्षा हुने र कहिले रुटिन आउने भन्ने टुङ्गो छैन, पढाई पनि विभिन्न कारणले प्रभावित भईरहेको देखिन्छ । विद्यार्थीहरुमा खर्च गरेर पढ्नु छ, पढाई बेलामा टुङ्गिदैन । अनि बल्ल पढाई सकिन्छ ? फेरि पढाईअनुसारको रोजगारको अवसर पनि छैन । बाहिर जाँदा पढ्दै काम गर्दै गर्न पाईन्छ । अध्ययन पुरा हुदै गर्दा पैसा कमाउने अवसर पनि मिल्ने कारणले गर्दा पनि यहाँका विद्यार्थीहरुको झुकाव वैदेशिक शिक्षामा बढेर गईरहेको छ । यसले गर्दा विदेश जाने विद्यार्थीहरुले विदेश जाने प्रकृया थाल्दा पनि नेपाली मुद्रा खर्च भएको हुन्छ । त्यो प्रत्यक्ष देखिने भयो । यसमा हाम्रा युवाहरुले श्रम र पसीना विदेशी श्रम बजारमा बेचेर कमाएको विदेशी मुद्रा बाहिरिदै गएको छ । त्योभन्दा पनि अझ दुरगामी नकारात्मक असर पर्ने ठाउँ के के हुन् भने अवको दुई दशकपछि काम गर्न सक्ने युवा पुस्ता यहाँ रहेन भने संरक्षण गर्नु पर्ने पुस्ता मात्रै यहाँ रह्यो भने यो देशको अवस्था कस्तो बन्ला ? यसको चित्र हेर्न नसकिने हुन्छ । अहिलेको अवस्थालाई हेर्दा एउटा पुस्ता खाली हुने सङ्केत यसले चित्रण गर्छ । अहिले नै हेर्ने हो भने पनि हामीले चिने जानेका मान्छेहरुका छोराछोरी विदेशमा छन्, यहाँ घरमा कसैको मृत्यु भयो भने उसको संस्कारका लागि छोराछोरी आईनपुग्दा एक हप्तासम्म पनि लासको सत्गत हुन सकेको छैन । कयौंका मृत्यु भएको ब्यक्तिको परिवारका सदस्यहरुले जानकारी समेत ४÷५ दिनपछि मात्रै थाहा पाएको घटनाहरु पनि छन् । यो नेपाली युवाहरु विदेशिदै जाँदा यहाँको सामाजिक मूल्य, यहाँको सांस्कृति मूल्य, धार्मिक मूल्य, उसको मानवीय मूल्य नै ह्रास हुने अवस्थामा छ । यसले समाजलाई धेरै क्षति पु¥याउन सक्छ । यहाँबाट वाहिरने र यहाँ पन नयाँ पुस्ता जन्मिने अवस्था भए त यसले सन्तुलनमा योगदान दिन सक्छ । तर एकोहोरो गएको गऐ भयो भने यहाँ जनसाङ्ख्यिक लाभबाट भने नेपाली समाज पछि पर्न बाध्य हुन्छ । यो बेला यस्तो बेला हो की देशले धेरै ठूलो उन्नति र प्रगति गर्नुपर्ने बेला हो । तर सय÷डेडसय वर्षदेखि नेपालमा पराई विचार लिएर देशलाई राजनीतिक रुपान्तरणका नाममा पछाडि धकेल्ने र स्वतन्त्रताको नाममा अनुशासनहिनताको विकास गर्ने प्रबृत्ति बढाएर लगिएको छ । नेपालबाट विदेश पलायन हुन चाहानेको सङ्ख्या हेर्ने हो भने अमेरिका, अष्ट्रेलिया र क्यानडालगायका देशहरुले त्यहाँका जति जना आएपनि भिसा दिने हो भने यो देशमा कति जन सङ्ख्या रहला ? यो कल्पना गर्न सकिदैन । त्यसरी जाने नेपालीको ब्यक्तिगत र पारिवारिक रुपमा फाईदाजनक हो तर राष्ट्रको ठूलो असफलता पनि हो । राज्य सम्यन्त्रले यस विषयमा ध्यान दिएर कसरी यहाँ अवसरको सृजना गर्ने र जनशक्ति पलायन न्युनीकरण गर्ने ? भनेर सोच्नु पर्ने हो । बाहिर पढ्न गएका विद्यार्थीहरुलाई त्यहाँको प्रविधि र सीपसहित कसरी भित्राउने हो ? यो कुरामा राज्यको ध्यान जान जरुरी छ । अहिलेको राजनीति चरित्रले शिक्षा, अर्थतन्त्र, समाज, शक्ति, मौलिकता र रैथानेपन ध्वस्त बन्न पुगेको छ । पाखुरामा बल र मस्तिष्कमा नविन सोच भएका युवा नहुँदा देशले ठूलो मूल्य चुकाउन पर्छ । नेपाल केन्द्रित विचारधारा बोकेर नेपाल बस्नुभन्दा बाहिर थुपै्र अवसर पाउने मजस्ता ब्यक्तिका साथीभाईहरु आफ्नो सुन्दर भविष्य नचुकाउन मलाई नै सुझाव दिईरहेका छन् । हामी जस्तो सुकै परिस्थितिमा अवसर सृजना गर्न सक्ने मान्छेहरुलाई त यहाँ यस्तो सुझाव आउने गरेका छन् भने उज्वल भविष्य खोजेर विश्व विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विदेश नजान कस्ले भन्न सक्ला ? यो बढो चिन्ताको विषय छ । देशको जटिल समस्या बढेर गएको बेलामा यो देशका लागि त्याग गर्नु पर्छ । हाम्रा पूर्खाले खाई नखाई उत्तर दक्षिणका त्यत्रा साम्राज्यसँग युद्ध गर्दा जितेर, विभिन्न सन्धि सम्झौता गरेर पनि यो देश हामीलाई जिम्मा लगाएर गएका थिए र पो हामी हाम्रो स्थानीयता, मौलिकता र आफ्नो पहिचानमा बाँच्न पाएका छौं भने भने हामीले यो देशलाई मायामार्नु हुदैन । अहिले मुलुक सबै दिशाबाट निशानामा परिरहेको बेलामा हामी ब्यक्ति लाभ कहाँबाट लिन सकिन्छ ? भनेर मात्रै लागि परेका छौं भने यसले देशको अस्थित्व कहाँ जाला ? यो सोचनीय विषय छ । हामीले यस्तो जटिल परिस्थितिमा रहेको देशलाई हेलाँ गर्न थाल्यौं भने हाम्रा पूर्खाको योगदानलाई नै अन्याय हुन जान्छ । शिक्षालाई सुधारेरै यो समस्या समाधान गर्न सकिने सम्भावना छ । तर विद्यार्थीहरुलाई विदेश पढ्न पठाएर उतै स्थापित हुन वातावरण बनाएर हुदैन । यहाँको शिक्षालाई सीप, श्रम, उद्यमशीलतासँग जोड्न सक्यो भने हाम्रो समाजले नयाँ पुस्तालाई स्वदेशमा नै रोक्न सक्छ ।

वर्तमान अवस्थामा हुर्कदै गरेका, प्राथमिक तहमा र माध्यमिक तहमा अध्ययन गर्दै गरेका बालबालिकाहरुमा कस्तो मनोविज्ञानको खाँचो देख्नु भएको छ ?

अहिलेका बालबालिका अथवा नयाँ पुस्तालाई गलत प्रबृत्तितिर आकर्षित हुनुमा स्वयम् नै दोष दिएर कुरा गर्ने गरिएको मैले सुन्दै आएको छु । त्यसमा बालबालिका र नयाँ पुस्ताको कुनै दोष छ जस्तो मलाई लाग्दैन । किनभने हाम्रो घरभित्रको वातावरण कस्तो बनाईरहेका छौं त्यसको प्रभाव ती नयाँ पुस्तामा पर्ने हो । बालबालिकाहरुको अगाडि बसेर अरुसँग कुरा गर्दा ‘फलानो विदेश गयो, आईफोन पठायो, यति पैसा पठायो, विदेश गएको हुनाले सुविधासम्पन्न घर बनायो, गाडी किन्यो, यो गर्यो, त्यो गर्यो’ भनेर सुनायो भने उनीहरुको झुकाव विदेशै जानु पर्छ भन्ने तिर जान्छ । अहिले पनि प्राथमिक तहमा पढ्दै गरेका बालबालिकालाई सोध्ने हो ? उनिहरु ‘अष्ट्रेलिया जाने, अमेरिका जाने’ भन्ने जवाफ दिन्छन् । त्योभन्दा माथिको कक्षामा पढ्नेहरुको त कुरै विदेश जाने भन्ने हुन्छ । कोही प्रतिष्ठित ब्यक्ति कुनै साथिभाईको घरमा गयो भने र भेट भयो भने सँगै रहेका बालबालिकाका अभिभावकले सम्मान गर्न सिकाउने हो भने सम्मान दर्शाउन पनि जान्दैन । अनि हासोँमा आफ्ना केटाकेटीले सम्मान र अनुशासन नजानेको कुरा ब्यक्त गर्छन् । अभिभावकले आफ्ना केटाकेटीको यहि आनीवानीप्रति लाज मान्नु पर्नेमा वेशरम भएर हासो प्रकट गर्छन् भने यो बालबालिकालाई सिकाईने पारिविारिक संस्कारहिनताको अवस्था हो । त्यसैले सानैदेखि आफ्ना छोराछोरीलाई यस्तो सभ्याता जनाउने संस्कार सिकाइनु पर्छ । नत्र त यो समाजको संरचना कस्तो बन्दै जाला ? यो पनि चिन्तन गर्नु पर्ने विषय बनेको छ । नयाँ पुस्ताले नयाँ पुस्तालाई विगारेको होइन की अभिभावक पुस्ताले आफ्ना केटाकेटीलाई सहि संस्कार सिकाउन सकेका छैनन् । मलाई के लाग्छ भने बालपुस्ता, किसोर पुस्ताभन्दा पनि अभिभावक पुस्ता सच्चिन आवश्यक छ । नयाँ शिक्षा ल्याईपछि कोही वेष्ट मिमिस्ट्री भन्दै हिडिरहेका छन्, कोही माक्र्स, लेनिन्, माओवाद भन्दै हिडिरहेका छन् । विचारधारा बाहिरको राख्ने, विदेशको सबै कुरा राम्रो देख्ने अनि बालबालिकालाई चैं के सिक्सछन् त ? यो गहन प्रश्न छ । नेपालको संविधानको प्रस्तावना लेख्दा नै पूर्खालाई गाली गरिएको छ । नयाँ पुस्तालाई ‘तिम्रो भाषा नराम्रो, तिम्रो संस्कृति नराम्रो, तिम्रो समाज नराम्रो’ भनेर प्रभाव पार्ने गरिएको छ । यहाँका सबै पक्षलाई नराम्रो विदेशको सबै पक्ष राम्रो भनेर बालबालिकाहरुलाई भनेपछि बालबालिकाले सिक्ने चैं त्यहि आफ्नो पनप्रतिको घृणा मात्रै हो । त्यसैले भावी पुस्तालाई सहि मार्गमा ल्याउने हो भने हाम्रो हरेक घर परिवारका अभिभावक आफैं सच्चिन पर्ने कुरा प्रधान छ । हाम्रा विद्यालयका पाठ्यक्रम कस्तो छ, छिमेकी कस्ता छन्, हाम्रो नेतृत्व गर्ने नेताहरुको चालचलन कस्तो छ ? अनि नेतृत्व चयन गर्दा दैत्य र असुरहरुलाई भोट हाल्ने अनि समृद्धि र सम्पन्नता चैं उनीहरुबाट खोज्ने हो भने ? सम्भव छ र ? यी यावत कुराहरुलाई हेरेर सबै नाशिईनै सक्यो भनेर कतिपय त आतिन्छन् पनि । तर आत्तिएर हुदैन, आफू जहाँ जुन रुपमा बाचिएको छ, त्यहाँको कुल धर्म के हो ? मुल धर्म के हो, आफ्नो सांस्कृतिक पहिचान के हो ? त्यसलाई स्थितिगत्यात्मक भएर हेर्नु पर्छ, त्यसमा कमी कमजोरी भए सच्याउँदनै आफ्ना परम्पराभित्र भएका वैज्ञानिक पक्ष, सुन्दर पक्षलाई प्रोत्साहन गर्दै अगाडि बढ्नु आवश्यक छ । त्यसैगरी अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई आफ्ना पूर्खाहरुको बारेमा बताउनु, आफ्नो पारिवारिक इतिहासका बारेमा जानकारी दिने, यहाँका वैदिक परम्परा, बौध, किराँत, वोन, जैन जस्ता चिन्तन पद्धतिहरु छन् त्यसका बारेमा आफ्ना बालवालिकाहरुलाई ज्ञान दिलाउनेलगायत नेपामा हुन सक्ने अवसरहरु, नेपालमा रहेका राम्रा पक्षहरु के के हुन सक्छन् ? त्यसको वारेमा बालबालिकाहरुलाई चेतना अभिवृद्धि गराउने काम परिवारका अग्रजहरुले गर्नु पर्दछ । यसो गर्न सक्यो भने नेपालमा पनि आफ्नो भविष्य खोज्न बालबालिकाहरु प्रेरित हुन सक्छन् । नयाँ पुस्ताको एउटा राम्रो पक्ष के पनि हो भने ऊ अन्वेषणात्मक, समीक्षात्मक, प्रविधिसापेक्षित छ, जसले गर्दा उनीहरुले नसुनेको कुनै नयाँ कुरा भनिदिने हो भने सूचना प्रविधिको माध्यमबाट तुरुन्त खोजी गरेर हेरिहाल्छ र जानकारी राख्न सक्षम हुन्छ । यसका लागि बालबालिकाहरुलाई सहज वातावरण बनाइनु पर्छ । यसलाई हेर्दा निराशा बन्नु पर्ने स्थिति छैन बालबालिकाको व्यवहारहरु सोचबाट र अझै पनि देशका लागि बालिबालिकाहरुले एकताबद्ध हुने शिक्षा लिनु आवश्यक भए पनि अधिकांश मानिस अवसर खोज्ने र स्वार्थ राख्ने हुने उनीहरु त्यहि प्रबृत्तिमा लाग्ने हुन्छन् । भएकाले पानी जता बग्न मिल्न्छ उतै बगेजस्तै हो यहाँ जो म अग्रणी हुँ र अगुवा हुँ भन्छ भने दुःख कस्ट सहेर पनि पहिला सुधारको कार्य अगाडि बढाउने र त्यसपछि स्वकृयात्क तरिकाले प्रभाकारी काम गर्दै नयाँ पुस्तामा सकारात्मक सोचको विकास गराउँदै यो देशको समृद्धिका लागि आकर्षिण्त गराउने काम गर्न सक्नु पर्छ । समग्रमा नयाँ पुस्तामा कुनै प्रकारात्मक नकारात्मक प्रबृत्ति देखा पर्यो भने उनीहरुलाई त्यसको दोष नदिई उनीहरुलाई राम्रो बनाएर उनीहरुसँगै अहिलेको पुस्ताले सहकार्य गर्न सक्छु पर्छ । उनीहरुका लागि कसरी बढी भन्दा बढी अवसर र सम्भावनाको विकास गर्ने हो ? यस विषयमा वर्तमान पुस्ताले जोड दिनु आवश्यक छ ।

नेपालमा जति पनि आमसञ्चार माध्यमहरको विकास हुदै गयो त्यति नै नकारात्मक प्रबृत्ति बढेको भान अधिकांश सर्वसाधरणले महशुस गरेको पाईन थालेको छ । यहाँ एउटा आमसञ्चार विज्ञ हुनुको नाताले यस विषयमा के भन्नुहुन्छ ?

मिडिया भनेको नामैले माध्यम हो । जसरी चक्कु एउटै हुन्छ त्यसैले आलु ताछ्न, सर्जरी गर्न पनि मिल्छ, डाँका र ज्यानमाराहरुले कसैलाई त्रास देखाएर लुट्न त कतिपय अवस्थामा आक्रमण गर्न पपिन प्रयोग गर्छन् । यसबाट के बुझ्नु आवश्यक छ भने कुन कुन माध्यमको कसरी प्रयोग गर्नु पर्छ त्यो गर्नु जरुरी छ । आमसञ्चार एउटा प्रविधि हो र यसलाई कुन कुन काममा प्रयोग गर्ने हो ? त्यसको प्रयोगकर्ताले जान्ने कुरा हो । त्यसैले आमसञ्चारको लक्षित वर्ग र आमसञ्चार सञ्चालनक पक्षले के सूचना तथा सन्देश कस्तो दिने ? भन्ने कुरामा ध्यान दिनु पर्छ । भर्खरै टेलिभिजन आविष्कार भएर प्रयोगमा आउदा पश्चिमेलीहरु पनि यो माध्यमबाट बिकृति पो भित्रिन्छ की ? भनेर चिन्ता गरिएको पाईयो । शुरु शुरुमा चलचित्र विकास हुने अवस्थामा पनि त्यस्तै पश्चिमेली समाजमा एक प्रकारको त्रास उब्जिएको विभिन्न तथ्यहरुले देखाएको छ । म सानै छँदा रेडियो धेरै बेर सुनेको भनेर अभिभावकहरुले गाली गर्नु हुन्थ्यो । किनभने यसले कतै नकारात्मक पक्षको असर हामीमा पर्ने डरका कारणले । अझ हामी हलमा फिल्म हेर्न भनेर गएको घरमा थाहा भयो भने त्यसको गाली त झन् धेरै हुन्थ्यो नै अझ कुटाई समेत खाईन्थ्यो । अभिभावकहरुले हामीलाई त्यसो गर्नु अस्वभाविक पनि थिएन । किनभने त्यहि माध्यममा प्रसारित सामाग्रीको प्रभावले हामी नकारात्मक प्रबृत्तितिर झुकाव राख्न सक्ने डर अभिभावकहरुमा हुन्थ्यो । आमसञ्चार माध्यमहरुको विकासक्र निरन्तर जारी रह्यो । अहिले आएर केटाकेटीहरुका हात हातमा अत्याधुनिक मोबाईल सेटहरु थामिएका छन् । त्यसको प्रयोग गर्नेले विदेशी कुरा मात्रै उपयोग गर्नु पर्छ भन्ने त छै । हाम्रै पहिचान, हाम्रै कला, हामैै्र सामाजिक र सांस्कृतिक मूल्य मान्यताका जानकारी मूलक सामाग्रीहरु, हामै्र साहित्य, हामीले जान्नु पर्ने र सिक्नु पर्ने आफ्नोपन झल्काउने सबै कुराका लागि तिनै माध्यमहरुको प्रयोग गर्न मिल्छ भने आमसञ्चारको प्रयोग कस्तो गर्ने ? त्यसको एउटा सर्वमान्य विधिको आवश्यकता चैं देखा पर्न थालेको छ । एउटा कुरा के हो भने व्यावसायिक मिडियाहरुको कुरा गर्दा मिडियामा कस्को स्वामीत्व छ र मिडियाभित्रको अर्थतन्त्र कुन आकारको छ अनि यसले भविष्य कस्तो बनाउन सक्ला ? भन्ने चैं चासोको कुरा हो । भरे आमसञ्चार माध्यमहरु सञ्चालनमा व्यावसायिक सफलताको लागि हुने प्रतिष्पर्धाका कारणले समाजमा अपच हुने र भावी जीवनशैलीलाई असर पर्ने किसिमका गतिविधिहरुमा भने निगरानी हुनु पर्दछ । मुलतः मिडियालाई सदुपयोग गरेर राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत अन्य पक्षलाई सही मार्गमा हिडाउन सकिन्छ । परितर्वनको सम्वाहकका रुपमा आमसञ्चारलाई लिन सकिन्छ । मिडियाले विकृति मात्रै भित्राउछ भनेर हुदैन । यसले आनुनिक समाज स्थापना गर्न पनि जोड दिन सक्छ । अकवर र विरबलको कथामा एउटा एउटा धर्सोलाई नछोई छोटो कसरी बनाउने ? भन्दा अर्को लामो धर्सो तान्ने भनने समाधान दिए जस्तै मैले देखेको चैं जो हामी मौलिकता पक्षमा, नेपालको उन्नति, समृद्धि हुनु पर्छ, नेपाललाई विश्वकै अग्रणी देश बनाउनु पर्छ भन्ने विचार भएका अगुवाहरुले वर्तमान अवस्थामा विकास भएका र उपलब्ध मिडियाहरुलाई अझ बढी प्रयोग गरेर विकृति देखिए भने त्यसलाई नियन्त्रण पनि त्यहि मिडियाबाटै गर्नु पर्दछ । विकृतिकाभन्दा सुकृतिका सामाग्रीहरु प्रकाशन एवं प्रसारण गरेर र गराएर मिडियाको आवश्यकता अझ बढाउन सक्नु पर्दछ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जो कसैले आफूलाई चाहिएको जानकारी खोज्नेवितिक्कै तुरुन्त प्राप्त गर्न सक्छ र त्यस्तो प्रविधि अल्गोरिदमका आधारमा जे बढी खोजी गरिएको हुन्छ, खोजकर्ताले खोज्ने वितिक्कै त्यस्ता सामाग्री अगाडि देखाईदिन्छ । त्यसैले राम्रा जानकारी बाँढ्ने काममा सबैजनाको ध्यान जानु पर्छ । यसको अर्थ नराम्रा कुरा तुरुन्त भाईरल भए जस्तै राम्रा कुरालाई छाप्छाप्ती बनाईनु पर्छ । त्यसैलै काँडाले काँडा झिक्न सकिन्छ भने जस्तै आमसञ्चार माध्यमबाट आउने विकृत्तिलाई आमसञ्चार माध्यमकै प्रयोगबाट दुरुत्साहन गर्न सकिन्छ । मान्छेको प्रबृत्ति नै नराम्रा कुराहरुप्रति छिटो ध्यान तानिने र राम्रा कुरामा ढिलो ध्यान जाने भएकोले यो काम केही जटिल लाग्छ तर असम्भव छैन भन्ने मलाई लाग्छ । निराशावादी भएर, रोएर कराएर कुनै किसिमको समाधान दिन सकिने कुरा होइन, आशावादी बनेर धर्यतापूर्वंक उपाय खोजी गर्ने हो भने आमसञ्चार माध्यम समाजका लागि अत्यन्तै आवश्यक देखिन्छ । आमसञ्चार माध्यमको प्रयोगबाट जीवन शैलीमा स्वस्थ मनोरञ्जन र चेतनको विकास गर्न सकिन्छ । यसका लागि सोच आमसञ्चारमा माध्यममा सहभागीहरुको सोच सकारात्मक हुन जरुरी छ ।

अधिकांश सर्वसाधारणहरुको चासो अहिले नेपालको विद्यार्थी राजनीतिमा देखिएको छ, नेपालमा विद्यार्थीहरुको झोलामा पुस्तक र कापी कलम हुनुपर्नेमा पार्टीहरुको पर्चा र झण्डाहरु भएकोले नेपाल अधोगतितिर उन्मूख भएको अधिकांशको बुझाई छ, यहाँलाई के लाग्छ ? के विद्यार्थीहरुले राजनीति गर्नु पर्छ ?

विद्यार्थीहरुमा राजनीतिको चेतना हुनु पर्छ, राजनीतिक अध्ययन हुनु आवश्यक छ, तर पार्टीको कार्यकर्ता भएर झोलामा राजनीतिक पार्टीका दस्तावेजहरु र झण्डाहरु हुनु गलत हो भन्ने मलाई लाग्छ । विद्यार्थी एउटथा शक्तिको रुपमा प्रयोग हुनु पर्छ त्यो देशको परिस्थितिअनुसार । यदि मुलुक चरम संङ्कटमा छ, शक्तिको आवश्यकता छ भने त्यसस्तो परिस्थितिमा मात्रै परिचालन गर्न सकिने गरी संचिती गरेर राखिईनु पर्दछ । आन्दोलन नगरी मुलुक निकासमा पुग्न सक्दैन भने त्यस्तो अवस्थामा मात्रै विद्यार्थीहरु परिचालन गर्न सकिन्छ, तर राजनीतिक दलहरुको स्वार्थसिद्ध गर्ने काममा विद्यार्थीहरुको भविष्य अन्यौलमा पारिनु हुदैन । देशमा वैदेशिक हस्तक्ष बढेर मुलुक प्रभावित हुने अवस्था आउँदा प्रत्यक्रमणका लागि नसिकेको हतियार चलाउन सिक्न हतारिनु पर्छ र देशको रक्षाका लागि युद्धमोर्चामा सहभागी हुन पनि पछि हट्नु भएन । राजनीतिक दलका लागि काम गरेर कति पुस्ता विद्यार्थीहरु विग्र्रिएर खेर जाने ? नेपालको वर्तमान अवस्था आउनुमा विद्यार्थीहरुलाई राजनीतिक दलहरुले प्रयोग गरेकै कारण हो भन्न अन्काउनु पर्दैन । किनभने विद्यार्थीहरु दलहरुको विचारधारा अनुसार वर्ग बर्गमा प्रतिष्पर्धा गराएर बन्द, हड्ताल, तालाबन्दी गर्ने जस्ता काममा लगाईनुका साथै उस्तै परे शिक्षकहरुमाथी नै भौतिक आक्रमण गर्ने काममा समेत निर्देशन गर्ने गरिएको छ । समूह समूहबीच हातहाल र सामूहिक आक्रमण गर्ने जस्ता कामहरु विद्यार्थीहरुलाई सिकाईदै आएको छ । यस्ता किसिमका गतिविधिहरुमा नेपाली विद्यार्थीहरुलाई कहिलेसम्म प्रयोग गर्ने ? यो विषयमा राजनीतिक दल र विद्यार्थीहरु आफैंले सोच्नु पर्ने कुरा हो । यदि विद्यार्थीहरुको हक हितका कुरा गर्न एउटा विकल्प के हुन सक्छ भने विद्यार्थीहरुको शैक्षिक योग्यता, प्रतिभाका साथै नेतृत्व क्षमता भएका र विद्यार्थीहरुलाई सही मार्गमा लिएर हिड्न सक्ने ब्यक्तिलाई कुनै राजनीतिक दलका भातृ संङ्गठनका रुपमा नभई विशुद्ध विद्यार्थी कल्याण समिति बनाएर जिम्मेवारी वहन गर्ने प्रणाली अपनाउन सकिन्छ । त्यस्तो हो भने विद्यार्थीहरु अध्ययनमा बढी प्रतिष्पर्धा गर्न सक्छन् । यसले देशमा शैक्षिक गुणस्तरमा बृद्धि हुन सक्छ । अहिले त के छ भने विद्यार्थीहरु एउटा दलको झण्डा बोक्ने, समूह बनाउने, ढुङ्गा बोक्ने, चुप्पी बोक्ने र अझ त्यस्तै परे खुकुरी नै बोकेर क्याम्पस जाने र शत्रु शत्रुबीचको लडाई जस्तो प्रदर्शन गर्ने प्रबृत्ति छ । यो हालै सञ्चालन गरिएको विद्यार्थीहरुको चुनावका बेला देखिएको कुरा हो । हाम्रो शैक्षिक संरचना नै झोले, दलको दलाल, नेताहरुको स्वार्थ साँध्ने वस्तु, नेताहरुको पिछलग्गु बन्नु पर्ने बनायौं । जति सक्दो यो किसिमको प्रणाली त्यागेर विद्यार्थीहरुलाई उनीहरुको अध्ययनमा केन्द्रित गराउन सक्नु पर्छ । राजनीतिमा लगाएर विद्यार्थीहरुको सुन्दर भविष्यमाथि प्रहार गरिनु हुदैन । नयाँ नयाँ श्रोत पत्ता लगाउने काममा, नयाँ आविष्कार र खोज अनुसन्धानमा आकर्षित गर्ने, अनुशासित नागरिक बनाउने, समाजमा सहयोग पु¥याउने जस्ता काममा सहभागी गराईनु पर्छ । कुनै पनि विद्यार्थीले उसको अध्ययन पुरा गरेपछि रोजगार अथवा स्वरोजगार बन्न र आत्मनिर्भरता हासिल गर्न सफल हुन सक्नु पर्छ । विद्यार्थीले शैक्षिक योग्यता र सीपसँगै हासिल गर्न सक्ने वातावरण राज्यले बनाईदिनु पर्दछ । हामी विज्ञान अध्ययन गर्दा एटम बम् कसरी बन्छ ? भनेर पढीसक्ने, अनि घरमा फ्ुयुज गएर बत्ति नबल्दा मिस्त्रि खोज्न दोडिनु पर्ने अवस्थामा छौं । यो मैले नै अनुभव गरेको कुरा हो । यो अर्थमा म एउटा प्रतिनिधि पात्र हुँ भने हामी यहाँका अधिकांश विद्यार्थीहरुको सीपलाई हेर्यौ भने यहि अवस्था हो । त्यसैले कुनै पनि विद्यार्थीलाई सीप र श्रमसँग जोडेर अभ्यास गराउँदै उसले आर्जन गनै शैक्षिक योग्यताको प्रमाण दिलाईनु आवश्यक छ । विद्यार्थीले राजनीति दलको कार्यकर्ता भएर हिड्दा उसले कुनै प्रयासमा शैक्षिक योग्यताको प्रमाणपत्र पाएर पार्टी नेताको भनसुनमा कुनै प्रतिष्ठानमा रोजगारका लागि निवेदन गर्दा के अनुभव छ ? भनेर सोधियो भने ‘मैले यतिबेला संगठनको नेतृत्व गरेको थिएँ, यति वटा ढुङ्गा हानेको थिएँ, यति पल्ट प्रहरी हिरासतमा बसेको थिएँ’ जवाफ दिनु पर्ने हुन्छ । यस्तो अनुभवले ऊ जीविकोर्जनका लागि गरिने रोजगारको योग्य बन्न सक्दैन । हिजो जे भयो, अब त्यसलाई त्यहिँ छोडेर विद्यार्थीहरु आफैंले सोच्चु पर्छ की अब हामी राजनीतिक दलका नेताहरु भ¥याङ् भएर होइन, अध्ययनसँगै दलको झोला बोक्नुको सट्टा औजार बोकेर सीप सिकाउने केन्द्रतिर जाने र बाँकी समय कलेज र विद्यालयको पाठ्यक्रम पूरा गर्ने काममा लाग्नु पर्छ । अबको पुस्तालाई बेलैमा पराया विचारधारामा आधारित पढाई र त्यस्तै विचारधारा बोकेर राजनीति गर्ने नेताको बफादार कार्यकर्ता नबन्ने सोचको विकास गरिनु पर्छ । विगतमा पढ्दा पढ्दै गरेका गाउँका विद्यालयका विद्यार्थीहरुलाई ‘यो बुजुवा शिक्षा के काम, पढ्नु पर्दैन’ भनेर विद्यार्थीहरुलाई बन्दुक बोकाउने र। शहरका विद्यालय र कलेका विद्यार्थीहरुलाई चक्का जाममा खटाउने, तालाबन्दी गर्न लगाउने, विद्यार्थी–विद्यार्थीहरुबीच सामूहिक झगढा र आक्रमणमा सहभागी गराउने नेताका छोराछोरी आज विदेशका महङ्गा कलेजहरुमा पढिरहेका छन्, पढाई छोडेर ती नेताका पिछ लग्गु भएका विद्यार्थीहरु आज खाडीमा रगत पसिना बगाउन बाध्य छन् । यसबाट अवको विद्यार्थी पस्ताले चेतना पाउनु पर्छ । यो किसिमको राजनीति जति समयसम्म रहन्छ यसले देशलाई जहिले पनि अहित नै गराई राख्छ । त्यसैले यसलाई तत्काल बन्द गरिनृु पर्छ ।

अन्त्यमा, मैले नसोधेको तर, यहाँलाई भन्न मन् लागेको सन्दर्भ छ की ?

हामी जे जति कुराकानी गर्यौ, यसमा शब्दहरु जति नै धेरै भएपनि मुल कुरा चैं आम नेपालीले नेपालप्रति आशा, आत्मविश्वास र आत्मीयताको भावना बृद्धि होस्, आमनेपाली एकअर्काबीच आपसमा मिलेर देशको समृद्धिमा सहभागी हुन प्रेरित बन्न सक्नुहोस् भन्ने चाहना चाहाना हो । हामी नेपालीहरुमा भाषाको विविधता र जातजातिको विविधता छ र भौगोलिक रुपमा पनि फरक फरक भुगोलमा बसोबास गर्छौंं । तर पनि हामी एउटै राष्ट्रबासी हौं । हामी जसरी पनि एक आपसमा मिलेर र एक आपसमा जोडिएर सबैको अभ्योदय र उन्नति, प्रगति र समृद्धिको लागि काम गर्नु पर्छ भन्ने भावना जागरण होस् भन्ने मेरो तीब्र ईच्छा छ । नेपालमा समस्यै समस्या छ, तर त्योभन्दा बढी सम्भावनाहरु पनि छन् । निराश नहोऔं, हामी जहाँ जहाँ छौं त्यहाँबाट कसरी यो समाजका लागि, यो राष्ट्रका लागि र आफ्नै परिवार अनि आफ्नै लागि पनि शारीरिक, मानसिक र आध्यत्मिक रुपमा सन्तुलित अवस्थामा हुनु पर्छ, अभ्योदय हुनु पर्छ भन्ने सोचेर आफू सही भएर अरुलाई पनि ठीकठाक बनाउन प्रेरित बन्न सकौं । राष्ट्रलाई आम देशवासीले योगदान दिनु पर्ने बेला आएको छ, देशसँग शक्ति र श्रोत पनि पर्याप्त छ, र यसलाई समुचित रुपमा परिचालन गर्न राज्य व्यवस्थामा रहेका जिम्मेवार ब्यत्ति, कर्मचारी तन्त्र, शिक्षा तन्त्रमा यहाँका गलत मान्छेहरुले कब्जा जमाईरहेन नपाउन् । यो देशसँग भएको श्रोत र साधनले मुलुक विश्वकै अग्रणी राष्ट्र बन्न सक्ने सम्भावना भन्ने सन्देश चैं तपाईहरुको आमसञ्चार माध्यममार्फत देशविदशमा रहेका नेपाली दाजुभाई दिदीवहिनीहरुमा बाँड्न चाहन्छु ।

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra