NTC App - Ad

जलवायु परिवर्तनबाट उत्पन्न मानवीय त्रास र न्युनीकरणका लागि मानव समुदाय

— लक्ष्मण बजगाई

मानव समुदायले जति अत्याधुनिक जीवनशैली अपनाईरहेको छ त्यति नै जलवायु परिवर्तनको दुषित परिस्थिति व्यहोर्न पनि तयार रहनु पर्ने अवस्था आएको छ । मानिसले उपभोग गर्ने वस्तुहरु उत्पादन र विकास गर्नका लागि पृथ्विका सबै प्रकारका श्रोत र साधनको उपयोगसँगै विनाशले यस्तो अवस्था आउन लागेको यथार्थता पनि विज्ञहरुले अगाडि ल्याईरहेका छन् । जलवायु परिवर्तनले ल्याउने नकारात्मक असरहरुप्रति विश्वका जानकारहरुले सचेतनाका अभियानहरु अगाडि सारिरहेका छन् तर न्युनीकरण गर्न अब त्यति सहज भने छैन । समाचारहरुमा आउने गरेका जलवायु परिवर्तनका खराब असरका लक्षणहरुलाई अब सर्वसाधारणहरुले ध्यान दिनु अनिवार्य भईसकेको छ ।
पृथ्विको जैविक विविधताको बहुरुपी तत्वहरुको सम्बन्ध बायुमण्डलीय जैविक प्रणालीमा आधारित हुने भएकाले यसको सन्तुलन कायम हुनु अत्यावश्यक छ । पृथ्विका कृतिम उपभोग्य वस्तुको उपभोक्ताहरुले प्रयोग गरेर परिवर्तन हुने पदार्थ र तत्वको स्वरुपबाट मानवीय जीवनशैलीलाई हानी पु¥याउने अर्को जैविक तत्व उत्पन्न हुदै जलवायु सन्तुलन विग्रदै गरेको वर्तमान मानव पुस्ताले देखिरहेको छ र यसको दुष्प्रभाव भोगीरहेको छ । जलवायु परिर्तनको असर कतिसम्म खराब बन्दै गईरहेको छ ? भन्ने उदाहरण हेर्ने एउटा सङकेत पृथ्विको तापक्रमको बृद्धि हो । यसबाहेक मौसमप्रतिकुल जल वृष्टि, असन्तुलित वायु प्रवाह तथा उपभोग्य जैविक वस्तुहरुको उत्पादनहरुमा अत्यन्तै कमी जस्ता असरहरु पृथ्विमा देखा परिरहेका छन् । हिमालहरुमा मान्यताअनुसारको समयभन्दा अगाडि र पछाडिसम्म हिउँ पग्लनु अर्को असर हो भने वनस्पतिहरुमा रोगब्याधीको प्रकारहरु बृद्धि हुनु पनि जलवायु परिवर्तनको थप असरहरु हुन् ।
पछिल्लो समयमा भौतिक पूर्वाधार निर्माण तथा विकासका नाममा हुने भौगोलिक तथा प्राकृतिक संरचनाहरुमा बढीभन्दा बढी क्षति पु¥याईदै आएको छ । यन्त्र तथा उपकरणको आविष्कारसँगै ती आविष्कारहरुबाट उत्पादन गरिएका प्रविधिले पृथ्विको जैविक तत्व नष्ट गर्न सक्ने थुप्रै प्रयोगहरु बढीरहेका छन् । यसले जलवायु परिर्तनलाई आकर्षित गर्ने गतिविधिहरु थप्दै लगिरहेको छ । प्राकृतिक जलाशयहरुको स्वरुप विगारिनु, भौगोलिक संरचनाहरुको प्राकृतिक स्वरुप परितर्वन गरिनु, खोलानालाहरुबाट प्राकृतिक श्रोत र साधानहरु उत्खनन् गर्दा त्यहाँ रहेका जीव तथा वनस्पतिहरुको विनाश गरिनु जस्ता गतिविधिहरुका साथै विभिन्न उद्योग तथा कलकारखाना सञ्चालन गर्दा यसबाट उत्पन्न हुने अनावश्यक ध्वनि प्रदुषण, धुँवाधुलो तथा नाजायज रुपमा गरिने फोहोर विसर्जनले पनि वायुमण्डलमा हुने जैविक सन्तुलन भङ्ग हुने क्रम बढ्दै गएर वायुमण्डलीय जैविक चक्रलाई असन्तुलन बनाई दिने र मानवजीवनका लागि शत्रु जीवहरुको बृद्धि गरिरहेको छ ।
विश्वका उपभोग्य बजारहरुमा अत्यावश्यक खाद्य पदार्थहरुको माग बढेसँगै यस्ता पदार्थहरुको उत्पादन क्षमता बृद्धि गर्नका लागि बालीनालीमा प्रयोग गरिने घातक विषादीहरुका कारणले पनि जैविक प्रणाली असन्तुलन बन्दै गईरहेको छ । खाद्य वस्तु उत्पादनका लागि बालीनालीमा प्रयोग गरिने रासायनिक मल तथा शत्रुजीवहरुबाट बालीनाली बचाउन कृषकहरुले प्रयोग गर्ने घातक विषादीले पृथ्विको जैविक प्रणालीलाई सन्तुलन बनाउने मौरी वर्गका जीव, पुतली वर्गका जीव, किराफट्याङ्ग्राहरु तथा चराचुरुङ्गीहरु समेत लोप हुने अवस्थामा पुगेका छन् ।
खोलानाला तथा प्राकृतिक ताल–तलैयाहरुमा करेण्टको प्रयोग गरेर तथा विषादीरुको प्रयोग गरेर विभिन्न जातका रैथाने माछाजन्य जीवहरु मार्ने प्रबृत्ति नियन्त्रण नहुँदा यसले पनि पृथ्विको जैविक प्रणालीको स्वरुप विग्रदै छ । पछिल्लो समयमा शहरी क्षेत्रबाट बग्ने नदिनाला तथा खोला खोल्छाहरुमा शहरका बासिन्दाहरुद्वारा उपभोग गरेर खेर फालिएका तथा धोई पखाली गरेर खेर फालिएका विषाक्त तरल फोहोरहरु नदीनालामा मिसाएर त्यस्ता तरल फोहोरहरु विसर्जन गरिदा नदीको पानी दुषित हुने मात्रै नभई खोलानाला, नदीको पानी समुन्द्रसम्म पुग्दा त्यहाँ रहेका जलजीव नष्ट हुने र त्यहाँ बग्ने पानीसँग सरोकार रहने सबै प्रकारका जैविक तत्वहरु नष्ट हुदै जाने क्रम पनि बढिरहेको छ । यसले पनि पृथ्विको जैविक प्रणाली असन्तुलन भई जलवायु परिर्तनलाई ठूलो टेवा पुर्याउदै ल्याएको छ ।
पछिल्लो समयमा मानव उपयोगी उर्जा उत्पादन तथा खनिज तत्वहरुको उत्खनन् जस्ता कृयाकलापहरु बढेर गईरहेको छ । पृथ्विको गर्भमा रहेका अनेक प्रकारका धातु तथा अन्य परिर्तनशील पदार्थहरुको उत्ननन्ले त्यहाँको भौगोलिक तथा प्राकृतिक स्वरुप पनि परिवर्तन हुदै गईरहेको छ । जलवायु परिवर्तनमा पनि यसले विशेष स्थान ओगट्न सफलता दिदै छ । मावव उपयोगी वस्तुहरुको विकासका नाममा जति पनि ठूला परियोजनाहरु सञ्चालन हुदै आईरहेका छन् त्यस्ता परियोजनाहरुले पृथ्विको स्वरुप परिवर्तन गर्न बल पुगिरहेको छ । ठूला ठूला कलकारखानाहरुको स्थापना र सञ्चालनका कार्यले त्यस्ता कारखानाहरुका लागि चाहिने विभिन्न किसिमका कच्चा पदार्थहरुको उत्पादनका साथै कारखानाहरु सञ्चालनका क्रममा खेर जाने वस्तुहरुको विसर्जन अनि यसबाट उत्पन्न हुने अन्य जैविक विनाशको परिस्थितहरुले जलवायु परिवर्तनमा मद्दत पुर्याईरहेको छ ।
माथी भनिएका कारणहरुबाहेक जति धेरै मानववस्तीहरुलाई शहरीकरणमा परिवर्तन गर्दै लगिएको छ त्यति नै यसले पृथ्विको तापक्रम बृद्धिमा टेवा पुर्यारहेको हुन सक्छ । पृथ्विको तापक्रम वृद्धि नै जलवायु परिवर्तनका रुपमा देखा परेको हुन सक्ने विभिन्न अध्ययनहरुले देखाईरहेको छ । वर्तमान परिप्रेक्ष्यमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरुलाई केलाउने प्रचलन विश्वभर बढेर गएको छ । जलवायु परिवर्तनका कारणहरु खोजीकर्ताहरुले यस्ता विषयमा विभिन्न कार्यपत्रहरु तयार पार्ने र सरोकार निकायहरुलाई प्रस्तुत गर्ने गतिविधिहरु पनि अगाडि ल्याएका छन् । जलवायु परिवर्तन र यसको नकारात्मक असरहरु न्युनिकरण गर्ने विषयमा वैज्ञानिकहरु पनि लागि परेका छन् । यद्यपी यो समस्या अझै बढेर गएको छ ।
विश्वका विकसित शक्ति राष्ट्रहरुले पनि जलवायु परिवर्तनको नकारात्मक असरहरु न्युनीकरण कार्यक्रमहरुका लागि लगानी बढाउने क्रम जारी राखेका छन् । यससँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि आयोजना गरिदै आएको छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । त्यसबाहेक नेपालमा जलवायु परिवर्तनको संकटकाल घोषणा गरी यसलाई विश्वभर सञ्चार गर्ने परियोजना कल्पना गरिएको खबरहरु पनि बाहिर नआएको होइन । तर त्यो कार्यान्वयन हुने वा नहुने यकिन छैन । यो कल्पना कल्पनामा मात्रै सीमित रहन पनि सक्छ । पछिल्लो समयमा युवाहरुलाई जलवायु परिर्तनको असर न्युनिकरणका गतिविधिहरुमा जोड्न नेपाल रेडक्रस सोसाईटीले पनि एउटा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । यो घोषणालाई एउटा सकारात्मक कदमका रुपमा लिईनु पर्दछ र यसको ब्यापक प्रचार प्रसार हुन जरुरी छ । यो कार्यक्रमलाई सर्वसाधरणले समेत सहयोग पु¥याउनु पर्दछ ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra