NTC App - Ad

पाेहाेरकै कुर्ता ।

— राजेश खोटाङ्गे

साइँली !

यता सुन न !
भोलीदेखि अर्को साल लाग्दैछ
आजदेखि अठहत्तर साल सकिँदैछ
पार्क, रिसोर्ट र एकान्तमा बस्न
तिम्रो मेरो उमेरले दिँदैन
मान्छेले कुरा काट्लान् देखे भने
त्यसैले
खुल्ला चौरमा बसौंला
दुई बोतल पानी
दुई सोली बदाम र
आधा किलो सुन्तला किनौंला ।
साइँली !
धेरै किन्न बजेटले भ्याउँदैन
आर्थिक मन्दी छ
व्यपार व्यवसाय ठप्प छ
पुराना कुरा भुलौंला
नयाँ योजना बनाऔंला
नयाँ सालमा पुराना के पुराना कुरा गर्नु र
गद्दारहरुको राज्यमा
नेतालाई गाली पनि के गर्नु र ?
तिमी पैदल आउनु
म हिँडेर आउँला
स्कुटरमा पेट्रोल हाल्न पैसा छैन
अर्को साल पेट्रोल हालम्ला
अहिले यसरी नै चित्त बुझाम्ला ।
तिमीले आफ्नो बताउनु
म मेरो योजना भनम्ला
चुनाव हुने भन्ने हल्ला छ
हामी पनि सर सल्लाह गरम्ला
अब
पार्टीलाई होइन व्यक्तिलाई
जातीवाद र नातावाद होइन
निष्पक्ष भएर भोट दिनुपर्छ
स्थानीय स्तरमा जे गरेपनि हुन्छ
डोजर व्यपारीलाई भोट नहाले पनि हुन्छ
तर
केन्द्रीय स्तरको नेता चाहिँ अलि पढेलेखेको
र जातपातको कुरा नगर्ने
धर्मको संस्कार र संस्कृतिको रक्षा गर्ने
अनि आफ्नो कुरा विदेश जाँदा
अँग्रेजी भाषामै भएपनि राम्रोसँग बुझाउन सक्ने
खालको निडर र स्वाभिमानी चाहिन्छ … … ।
कान यता लेउ त
सुटुक्क एउटा कुरा भन्छु
फेरि कसैलाई नभन्नु कि यस्तो गतिलो कुरो
यसपालि चाहिँ
राष्ट्रवादी नेतालाई भोट दिनुपर्छ भनेर सबैले हल्ला गर्दैछन् ।
गाउँपालिका र वडामा चुनाव जिताउनु भनेको
एउटा गरीब नागरिकलाई डोजर किनाएर ठेकेदार बनाउनु हो
तर
संसदीय निर्वाचनमा भोट दिएर जिताउनु भनेको
एक असल मान्छेलाई राजनेता बनाउनु हो
अँ सुन न
साँइँली !
तिमी रु. १५० लिएर आउनु
म पनि डेढ सय बोकेर आम्ला
सीमान्तकृत बजेटमा भोलीको नयाँ वर्ष मनाम्ला
पैसा उभ्रिएको खण्डमा
आधा प्लेट मः मः किनम्ला
होम प्याकिङको व्यवस्था छ कि छैन सोधम्ला
त्यहीँ खानु हुँदैन लाज हुन्छ
अनि
अलि ओर तिर आएर उभिई उभिई खाउँला
खाइसक्ने बित्तिकै माक्स लाउनुपर्छ कस्ले चिन्छ र ?
चिने पनि उसलाई आधा प्लेट मः मः कस्ले दिन्छ र ?
छुट्ने बेलामा अँगालो मार्नु हुँदैन
परैबाट हात हल्लाउँदै टा टा गरम्ला
बाँकी कुरा र दिनभरिको डेटिङको समीक्षा र मूल्यांकन त
राति च्याटमा भैहाल्छ नि ।
एउटा कुरा त भन्नै बिर्सेछु
तिमी पोहोरकै कुर्ता सुर्वाल लगाएर आउनु
म पनि परारकै टोपी र सर्ट प्यान लाएर आउँछु
नयाँ भए पो पाइन्ट भन्नु
पुरानो त प्यान नै त हो नि ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra