पदाधिकारी चयनगर्ने जिम्मा प्रचण्डलाई



काठमाडौँ, २२ असार । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

मङ्गलबार खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले सहमतिका आधारमा पदाधिकारी चयन गर्ने सहमति गरेको थियो । मङ्गलबार बस्नुपर्ने केन्द्रीय समितिको बैठक त्यसैका लागि स्थगित गरिएको थियो । बुधबार १ बजे सुरु हुने कन्द्रीय समितिको बैठकमा अध्यक्षले पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको नामावली प्रस्ताव गर्नुहुनेछ ।

बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका विषयमा नेताहरूसँग धारणा मागेका थिए । सहभागी नेताहरूले आ-आफ्नो दाबीसहित धारणा राखेको पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो । साथै, मङ्गलबार दिनभर पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयन गर्ने अन्तिम गृहकार्य भएको उनको भनाइ छ ।

नेता गजुरेलले भने, “पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको अन्तिम नामावली प्रस्ताव गर्न बैठकले अध्यक्षलाई जिम्मेवारी दिएको छ । अध्यक्षले बुधबारको बैठकमा नामावली प्रस्ताव गर्नुहुनेछ ।” पदाधिकारीमा दाबी गर्नेको सङ्ख्या धेरै भए पनि चुनावमा जानुपर्ने माग उठेपछि नेतृत्वले सहमतिमा पदाधिकारी चयन गर्ने भएको हो । बुधबार पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्यको चयन हुने उनले जनाए ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र मातृका यादवले बैठकमै दाबी गर्नुभएको छ । जनार्दन शर्मा र वर्षमान पुनले महासचिवको दाबी गरेका छन् । माओवादीमा एक वरिष्ठसहित छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष गरी १५ जनाको पदाधिकारी रहने व्यवस्था छ ।

गत पुस १८ गते सम्पन्न आठौँ महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । पछि पूर्वस्थायी समितिले सदस्यहरू थप गरेको छ । हालसम्म ३७३ सदस्यीय केन्द्रीय समिति निर्माण भएको छ । ८६ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा प्रस्ताव भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा