
काठमाडौं, असार ९ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।
उनले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।
विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उनले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताए । उनले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गरे ।
उनले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय गर्यो भनी प्रश्न गरे । सांसद तामाङले मुलुकका रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोखे । यस अवस्थामा उक्त विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गरे ।
विशेष समयमा सांसद डा डिला सङ्ग्रौला पन्तले विराटनगर विमानस्थलको काम तुरुन्त सुरु हुनुपर्नेमा जोड दिए । उनले सडक सङ्घर्ष गरिरहेका नागरिकको माग सम्बोधन गर्न र विपद् व्यवस्थापनमा लाग्न आग्रह गरे ।
सांसद शक्तिबहादुर बस्नेतले मौलिक हक कार्यान्वयनका लागि केही कानुन नबनेको र बनेका पनि राम्ररी कार्यान्वनय हुन नसकेको गुनासो पोखे । सांसद गजेन्द्रबहादुर महतले ओरालो लागेको शेयर बजारको विषयमा गम्भीर हुन आग्रह गरे ।
सांसद सूर्यप्रसाद पाठकले सशस्त्र प्रहरीमा बढुवा, सरुवामा भएको नातावादका विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले सर्वोच्चको फैसलाका विपरीत प्रहरी नियमावलीहरू संशोधनको प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
सांसद गङ्गा चौधरीले जताततै भ्रष्टाचार, बिचौलियाको कमिशन देख्दा समाज कतातिर जाँदै छ भनेर प्रश्न उठाए । विशेष समयमा सरलाकुमारी यादव, प्रमोदकुमार यादव, नवराज सिलवाललगायतले धारणा राखेका थिए ।
बैठकमा सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका जीवन सङ्गिनी शोभा प्रधानको निधनप्रति शोक वक्तव्य प्रस्तुत गरेका थिए ।