
तातोखबर सम्वाददाता
चरीकोट, जेष्ठ १३ / गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका विभिन्न प्रतिष्पर्धी उम्मेदवारको जीत वा हारको विषयमा विभिन्न पक्षले अनेक प्रकारका अड्कलबाजी गर्ने र बाजी मार्ने शर्तहरु एक आपसमा मौखिक रुपमा मात्रै भए भने कतिपयले इन्टरनेट सोशियल साईटहरुबाट समेत घोषणा नै गरेका थिए । त्यस्तै काठमाडौं महानगरपालिकाको उम्मेदवारहरु बीचको प्रतिष्पर्धा लिएर अझै धेरै अड्कलबाजीहरु भए ।
काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवारहरु देशकै शक्तिमा रहेका दलहरुका उम्मेदवारहरुलाई पछार्न सक्ने स्वतन्त्र ब्यक्तिका बारेमा त झन् बढी अड्कलबाजीहरु भएका थिए । चर्चामा आएका नेताहरुले त अझ काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाहले जितेर देखाएमा राजनीतिक जीवनबाटै सन्याश लिने उद्घोष गरेका थिए । त्यस्तै दोलखाको एउटा लघुवित्त कम्पनीको कोष अधिकारीले भने बालेन्द्र शाहले यो निर्वाचनबाट जीत हासिल गरेभने विद्यालयलाई सहयोग गर्ने घोषणा सामाजिक सञ्जाल फेसबुकबाट गरेका थिए ।
त्यस्तै सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहदै गर्दा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका निवासी समाज कल्याण माईक्रो फाईनान्स कम्पनिका कोष अधिकारी समेत रहेका शंकर शर्मा बजगाईले पनि बालेन्द्र शाहले काठमाडौं महानरपालिकामा जीत हासिल गरेमा एउटा विद्यालयलाई सहयोग रकमको घोषणा गरेका थिए । बजगाईले विद्यालयलाई सहयोगको घोषणा गर्दै फेसबुकमा लेखेका थिए ‘बालेन शाहले जितेको खण्डमा उनले प्राप्त गरेको मत बराबरको रकम छात्रबृत्ति कोष स्थापना गरी गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्नेछु ।’
बालेन्द्र शाहको जीतसँगै बजगाईले आफूले घोषणा गरेको रकम प्रदान गर्ने प्रतिबद्धता पनि सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनले लेखेका छन् ‘मैले घोषणा गरेबमोजिम प्रथम चरणमा दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं.६ मा अवस्थित विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्र÷छात्राको लागि रकम ६१ हजार ७ सय ६७ रुपैयाँ मुलधन बराबरको छात्रवृत्ति कोष स्थापना गरी वितरण गर्नेछु ।’
यो उनको नमूना प्रयासले शिक्षा क्षेत्रमा विद्यार्थीको पहुँच बढाई शैक्षिकस्तर अभिबृद्दि गर्न थप मद्दत पुग्ने विश्वास लिएको भन्दै उनले थपेका छन् ‘मेरो क्षमता र पहुँचले भ्याएसम्म अन्य स्थानमा समेत क्षेत्र विस्तार गर्ने प्रयत्न गर्नेछु ।’